
सुपरस्टार प्रभासको एक्सन थ्रिलर फिल्म ‘साहो’ को ट्रेलर शनिबार सार्वजनिक भयो । यसमा हलिउड स्तरको जबरजस्त एक्सन देख्न सकिन्छ । फिल्ममा प्रभास एक अन्डरकभर एजेन्टको भूमिकामा छन् । २०१७ अप्रिलमा प्रभासको पछिल्लो फिल्म 'बाहुबली २' रिलिज भएको थियो । उनी दुई वर्षपछि पर्दामा फर्किन लागेका हुन् ।
प्रभासले ट्रेलर लञ्चमा आफूले साहोलाई २ वर्ष दिन नचाहेको बताए । उनले भने- 'म यो फिल्मलाई दुई वर्ष दिन चाहन्न थिएँ । किनकि, यसअघि फिल्म 'बाहुबली' मा पनि मैले ४ वर्ष दिइसकेको छु । तर, एक्सन सिक्वेन्सका लागि हामीलाई निकै तयारी गर्नुपर्ने थियो । केही एक्सन सिनमा हामीले एक वर्ष समय खर्चिएका छौं । केही सिन परिवर्तन पनि गर्नुपर्यो ।'
प्रभासले नयाँ फिल्मको छायांकन सुरु गरिसकेका छन् । बेनामे फिल्मलाई निर्देशन केके राधा कृष्णाले गरिरहेका छन् । यो फिल्मलाई लिएर उनले भने- 'मैले नयाँ फिल्मको छायांकन सुरु गरिसकेको छु । २० दिनको छायांकन पनि पूरा भइसकेको छ । 'साहो' पछि वर्षमा दुई फिल्म गर्ने मेरो सोच छ । अब म एउटै फिल्मलाई २/३ वर्ष दिन सक्दिनँ ।'
‘साहो’ ३० अगस्टमा रिलिज हुँदैछ । यसलाई तमिल, तेलुगू र हिन्दी भाषामा रिलिज गरिँदैछ । फिल्ममा श्रद्धा कपूर, अमृता नैय्यर, ज्याकी श्राफ, चंकी पाण्डे, महेश मान्जरेकर, नील नितिन मुकेशलगायतको अभिनय छ । फिल्ममा प्रभास क्राइम ब्रान्च अफिसरको भूमिकामा छन् । यो फिल्म एक स्पाय थ्रिलर हो । फिल्म ३ सय करोडमा बनेको हो ।
ट्रेलर हेर्नुहोस् :-

