यस वर्षको सुरुवात निकै राम्रो रह्यो । गत वर्षको अन्त्यमा प्रदर्शनमा आएको अभिनेता अनमोल केसी स्टारर फिल्म ‘ए मेरो हजुर ३’ ले सुस्ताएको नेपाली फिल्मको बजारलाई चलायमान बनाएको थियो । त्यसअघि करीब ६ महिना कुनै फिल्म नचलेर फिल्म क्षेत्र नै धरासायी हुने अवस्थामा पुगेको थियो । यो फिल्मपछि बैशाखमा ‘दाल भात तरकारी’ र जेठमा ‘जात्रै जात्रा’ ले पनि राम्रो व्यापार गरे ।
(1).jpg)
तर, जेठपछि कुनै फिल्मले लगानी उठाउन सकेका छैनन् । हलमा हरेक हप्ता दुईभन्दा नयाँ फिल्म टुटेका छैनन् तर व्यापार टिठलाग्दो छ । पोस्टरको पैसा समेत उठाउन सकेका छैनन् । निर्माताको करोडौंको लगानी डुबिरहेको छ । आश गरिएका फिल्मले समेत हलमा दर्शक तान्न सकेका छैनन् । यसले फिल्मकर्मीमा नैराशयता छाएको छ । यो खडेरी कहिलेसम्म रहला ? अन्योलताको अवस्था छ ।
अहिले सबैको आशा साउन अन्तिम (साउन ३०) मा प्रदर्शनमा हुन लागेको फिल्म ‘हजार जुनीसम्म’ माथि छ । जनै पूर्णिमाको विदामा प्रदर्शनमा आउन लागेको यो फिल्मले खडेरी लागेको फिल्मको व्यापारलाई केही हदसम्म भए पनि पूर्ती गर्ने अपेक्षा गरिएको छ । कर्मचारीलाई तलब दिन नसकेर छटपटिरहेका हल सञ्चालक समेत यही फिल्मको आशमा छन् ।
जेठपछि राम्रो फिल्म हेर्न नपाएका घरेलु दर्शकलाई ‘हजार जुनीसम्म’ ले हलसम्म डोर्याउन सफल हुने विश्वास गरिएको छ । अहिले दर्शक राम्रो फिल्म हेर्न नपाएर भोकाएका छन् । यसको फाइदा यो फिल्मले उठाउन सकेको खण्डमा फिल्म क्षेत्रका लागि पनि सुखद क्षण हुनेछ । फिल्मकर्मीमा मरेको आशा फेरि ब्यूँतिने छ । जान्नुस्, यी हुनसक्छन् यो फिल्म चल्नसक्ने पाँच आधार :-
१. स्टारकास्ट
दर्शकलाई हलसम्म डोर्याउन स्टारकास्टको भूमिका अत्यन्त महत्त्वपूर्ण रहन्छ । ‘हजार जुनीसम्म’ मा परिचित कलाकारहरुको ठूलो झुण्ड छ । एक समय नेपाली फिल्ममा आफूलाई ‘नम्बर वान नायक’ को रुपमा उभ्याएका चकलेटी ब्वाई आर्यन सिग्देल फिल्मको केन्द्रिय भूमिकामा छन् । गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘कायरा’ पछि उनी पर्दामा देखिन लागेका हुन्, करीब एक वर्षपछि ।
उनीसँगै यस फिल्ममा अहिलेकी सर्वाधिक डिमान्डेड अभिनेत्री स्वस्तिमा खड्काको पनि अभिनय छ । गत वर्ष समीक्षात्मक रुपमा निकै सफल ठहरिएको फिल्म ‘बुलबुल’ पछि उनले दर्शक भेट्न लागेकी हुन् । सलोन बस्नेत, प्रियंका कार्की, सञ्चिता लुईंटेल, अनुभव रेग्मी, अखिलेष प्रधान, शिवहरी पौडेललगायतका कलाकारहरुको पनि अभिनय छ । फिल्मको एक गीतमा दीपाश्री निरौलाले ठुम्का लगाएकी छन् ।
२. गीतसंगीत र ट्रेलर
पछिल्लो समय नेपाली फिल्मको इनिसियल व्यापारमा गीतसंगीत र ट्रेलरको भूमिका निकै ठूलो रहने गरेको छ । ट्रेलरले उत्कसुता र गीतसंगीतले बजार गर्माएको खण्डमा फिल्मलाई प्रदर्शनको दुई दिन हलमा दर्शकको खडेरी लाग्दैन । ‘छक्का पञ्जा’ र ‘नाईं नभन्नू ल’ यसका उदाहरण हुन् । ‘हजार जुनीसम्म’ को गीतसंगीत र ट्रेलरलाई निकै रुचाइएको छ । यूट्युबमा भ्यूअर्स पनि राम्रो पाएका छन् ।
सबैभन्दा अगाडि सार्वजनिक गरिएको फिल्मको ‘एमजी रोडैमा’ बोलको गीतमाथि युट्युबमा ४० लाखभन्दा बढीको नजर परिसकेको छ । आर्यन सिग्देल र दीपाश्रीले ठुम्का लगाएको दोस्रो गीत ‘आज नगद भोली उधारो’ गीतको भ्यूअर्स ९ लाखभन्दा बढी छ । ट्रेलरलाई ११ लाखले हेरिसकेका छन् । गीतसंगीत र ट्रेलरले निकै राम्रो हाइप निर्माण गरेका कारण फिल्मको इनिसियल बक्सअफिस आक्रामक हुने विश्लेषण गरिएको छ ।
(1).jpg)
३. निर्देशक
नेपालमा केही सीमित निर्देशक छन्, जसलाई दर्शकले आँखा चिम्लिएर विश्वास गर्ने गर्दछन् । रामबाबु गुरुङ, निश्चल बस्नेत, प्रदीप भट्टराई, दिनेश राउत, सुदर्शन थापा यसका उदाहरण हुन् । उनीहरुले निर्देशन गर्ने फिल्मले निराश नबनाउने विश्वास दर्शकलाई छ । निर्देशक विकासराज आचार्य पनि यो भीडका एक दरिलो खम्बा हुन् । ‘नाईं नभन्नू ल’ सिरिजबाट उनले दर्शकको विश्वास जितेका छन् ।
उनै निर्देशित फिल्म हो ‘हजार जुनीसम्म’ । उनले धेरैपछि नयाँ नाममा फिल्म बनाएका हुन् । हरेक वर्ष वा दुई वर्षमा ‘नाईं नभन्नू ल’ को सिरिज निर्माण गर्दै आएका उनलाई नयाँ नाममा फिल्म नै बनाउन नसक्ने आरोप लाग्ने गरेको थियो । यसपटक उनी यो आरोपबाट मुक्त हुँदैछ । उक्त फिल्ममा उनको एक्सन-कट भएका कारण दर्शकको ठूलो वर्ग हलसम्म पुग्ने विश्लेषण कतिपयको छ ।
४. सोलो रिलिज
लोप भइसकेको डायनासोर भेटिएला तर अहिले नेपाली फिल्मले सोलो रिलिज पाउन असम्भव छ । वर्षमा ठूला ब्यानरका एकाध फिल्मले मात्र एकल प्रदर्शनको अवसर पाउँछन् । नभए, हरेक हप्ताको शुक्रबार दुईभन्दा बढी फिल्मबीच भिडन्त हुने गरेको छ । फिल्मले सोलो रिलिज पाउँदा हल र दर्शक बाँडिन्न, जसको प्रत्यक्ष असर फिल्मको व्यापारमा पर्छ । त्यसैले प्रायः मेकर्स फिल्मको एकल प्रदर्शनको प्रार्थना गर्छन् ।
‘हजार जुनीसम्म’ लाई सोलो रिलिजको दुर्लभ संयोग मिलेको छ । यो फिल्मसँग भिड्न कुनै नेपाली फिल्म छैनन् । बलिउडका दुई ठूला फिल्म ‘मिशन मंगल’ र ‘बाटला हाउस’ सँग भने भिडन्त हुँदैछ । यसअघि यो मितिमा ‘साहो’ पनि आउने निश्चत भएको थियो । यसको डरले यो फिल्म एक हप्ता पछाडि पनि सर्यो । तर, ‘साहो’ नै दुई हप्ता पछाडि सरेपछि यो फिल्म पुरानै मितिमा फर्कियो ।
मल्टीप्लेक्समा अक्षय कुमारको ‘मिशन मंगल’ र जोन अब्राहमको ‘बाटला हाउस’ को थ्रेट रहेता पनि सिंगल थिएटरमा ‘हजार जुनीसम्म’ ले एकलौटी राज गर्नेछ । बलिउड फिल्म सिंगल थिएटरमा खासै प्रदर्शन हुँदैनन् । ‘वर्ड अफ माउथ’ बलियो भएको खण्डमा यसले मल्टीप्लेक्समा पनि आफ्नो उपस्थिति बलियो बनाउन सक्नेछ । यो फिल्मले सोलो रिलिजको फाइदा कति उठाउला ? त्यसका लागि केही दिन पर्खिनै पर्ने हुन्छ ।
५. मनसुन निस्क्रिय
मनसुनका कारण यस वर्षको असार र साउनमा केही आश गरिएका फिल्मले हलमा पानी समेत भन्न पाएनन् । झरीमा रुझ्दै दर्शक हलसम्म पुग्ने जाँगर नचलाउने हुँदा मनसुनको समयमा व्यापारिक दृष्टिकोणले फिल्म रिलिज गर्नु उचित मानिँदैन । भदौको सुरुवातमा प्रदर्शन हुन लागेको ‘हजार जुनीसम्म’ लाई झरीले असर नगर्ने देखिन्छ । तर, मौसमको भर हुँदैन । यद्यपि, अहिले मनसुन निस्क्रियजस्तै छ ।

