
अभिनेता दयाहाङ राई र अभिनेत्री दीया पुन स्टारर फिल्म ‘दयारानी’ लाई प्रदर्शनका लागि उपयुक्त मिति जुर्न सकेको छैन । फिल्मको जेठ १० र साउन ३० गरि दुईपटक प्रदर्शन मिति घोषणा गरिसकिएको छ । तर, अझै प्रदर्शनमा आउन सकेको छैन । सर्नैमा फुर्सद छैन ।
पछिल्लो पटक घोषणा गरेको मिति (साउन ३०) मा मल्टीस्टारर फिल्म ‘हजार जुनीसम्म’ आएपछि फेरि यो फिल्म सरेको छ । माओत्से गुरुङले निर्देशन गरेको फिल्म अब फागुन ९ गतेबाट देशभर प्रदर्शनमा आउने भएको छ । फिल्मले एक अहङ्कारी श्रीमानबाट श्रीमतीले भोग्ने समस्याको कथा समेट्ने बताइएको छ ।
गुरुङ भाषाको फिल्म निर्देशन गर्दै आएका कलाकार माओत्सेले यो फिल्मबाट मूलधारे फिल्ममा पाइला राख्न लागेका हुन् । सिनेमा आर्टस्को ब्यानरमा निर्माण भएको फिल्मको कथा निर्देशक गुरुङ स्वयम्ले लेखेका छन् । फिल्ममा दया र दीयाका अलावा विजय बराल, प्रमिसा गुरुङ, पुस्कर गुरुङ, टिकाराम घलेलगायतका कलाकारहरुको अभिनय छ ।
फिल्मलाई शैलेन्द्र डि. कार्कीले खिचेका हुन् । यसमा रामबाबु गुरुङ र अपिल विष्ट कार्यकारी निर्मातामा छन् । लगानीमा मोहन गुरुङ, किरण गुरुङ, केन्द्र लिम्बु र न्यू आइटी भेन्चरको सहकार्य छ । फिल्ममा अभिनेत्री दीयालाई दयालु युवतीको रुपमा ब्याख्या गर्न खोजिएको निर्देशक गुरुङको भनाई छ ।

