वर्तमान परिपेक्षमा नेपाली फिल्ममा यदी कसैलाई सर्वाधिक खोजिन्छ भने त्यो नाम अभिनेता अनमोल केसी हो । फिल्ममा प्रवेश गरेको छोटो समयमा नै ठूलो स्टारडम बनाएका उनले गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘ए मेरो हजुर ३’ सहित सात फिल्ममा अभिनय गरिसकेका छन् । ‘कृ’ र ‘क्याप्टेन’ छाड्ने हो भने उनका अन्य फिल्मले बक्सअफिसमा गतिलै व्यापार गरे । अनमोलको स्टारडम उकास्न पनि ठूलो भूमिका रह्यो ।
अहिले उनलाई बक्सअफिसमा असफल हुने अधिकार छैन भन्ने गरिन्छ । यो दबाबको भारीले उनलाई कलिलै उमेरमा पाको बनाएको छ । त्यसैले होला उनी जोगिएर फिल्मी करिअरको पाइला चालिरहेका छन् । उनले बुझेका छन् अहिले सम्हालिन सकिएन भने भविष्यमा चुकचुकाएर दिन विताउनुको अरु विकल्प रहन्न । कछुवाको गतिमा हिँडेर उनी नेपाली फिल्ममा लामो रेसको घोडा बन्न चाहन्छन् । उनको यो शैली धेरैलाई मन परेको छ ।
फिल्म छनोटको मामिलामा चुजी मानिने अनमोल तत्काल कुनै फिल्ममा आबद्ध भएका छैनन् । गत वर्ष ‘क्याप्टेन’ र ‘ए मेरो हजुर ३’ डेढ महिनाको अन्तरमा रिलिज हुँदा उनलाई छायांकन र प्रचारमा समय मिलाउन गर्न निकै सकस भएको थियो । त्यहीबेला उनले आफू निकै थाकेको र करीब ६ महिना विश्राम लिने घोषणा गरेका थिए । अहिले उनी थकाइ मार्न घुमफिरमा व्यस्त छन् । अझै केही महिना नयाँ फिल्म साइन गर्ने सोचमा उनी छैनन् ।
(1).jpg)
तर, अनमोलको बोली स्ट्यान्ड अफ कमेडियन सन्दिप क्षेत्रीको पेट मिचिमिचि हँसाउने कमेडी भन्दा कम छैन । कलाकारको कर्म भनेकै कलाकारिता गर्नु हो । कुनै कलाकार फिल्ममा अभिनय गरेर वा प्रचारमा हिँडेर थाक्छ भने ऊ कसरी लामो रेसको घोडा बन्न सक्छ ? अरु कलाकार फिल्ममा अभिनय गर्न पाउँदा सबै थकाइ भुल्छन् । तर, अनमोल वर्षमा दुई फिल्म गर्दा नै थकान महशुस गर्छन् । यो त गजबकै जोक भएन र ?
आजसम्म अभिनय निखार्न सुको मेहनत नगरेका उनी केही वर्षयता दर्शकले ‘मेगास्टार’ को उपाधि दिएकोमा गदगद छन् । तर, हरेक फिल्ममा नटुट्ने अभिनयको आलोचनाको उनलाई कुनै प्रवाह छैन । उनी सधैं रेडिमेड जवाफ फर्काउँछ, ‘म अभिनय सुधार गर्न मेहनत गरिरहेको छु । र, सधैं गर्नेछु ।’ तर, उनको अभिनयमा अहिलेसम्म २० को १९ सुधार भएको छैन । उनी प्रयोजित प्रशंसा र आत्मरतीमै रमाइरहेका छन् ।
वर्षमा एक वा दुईभन्दा बढी फिल्म नगर्ने अभिनेता अनमोलले करिअरको ६/७ वर्षमा नै थकाइ मार्न विश्राम लिने हो भने दर्शकले उनको विकल्प नखोज्लान् भन्न सकिन्न । बरु उनले फिल्म छान्न र अभिनय सुधार गर्न विश्राम लिनु पर्ने देखिन्छ । अहिलेसम्म कुनै फिल्ममा चरित्रलाई आत्मसात् गर्न नसकेका उनले विश्रामको समयमा अभिनयलाई निखारता प्रदान गर्न पो मेहनत गर्ने कि ? आशा गरौं, उनको विश्रामले दर्शकलाई नयाँपनको महशुस गराउनेछ ।

