Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

म राइजिङ स्टार हुँ : शाहरुख

एजेन्सी, मुम्बई, 2019/08/10
 
मेलबर्नमा १०औं इन्डियन फिल्म फेस्टिवल सुरु भएको छ । यसमा सुपरस्टार शाहरुख खान मुख्य अतिथीको रुपमा सहभागी भएका छन् ।  त्यसक्रममा उनले धेरै हिट फिल्म दिन नसकेको भन्दै आफैंमाथि व्यंग्य गरे । उनले सन् २००७ मा फिल्म 'चक दे! इन्डिया' को छायांकनका लागि अष्ट्रलिया आएको र यो देशमा दोस्रो पटक आउन पाउँदा खुसी लागेको बताए ।
 
शाहरुखको पछिल्लो फिल्म 'जिरो' प्रशंसकको अपेक्षामाथि खरो उत्रन सकेको थिएन । यस विषयमा उनले भने, '२००६-२००७ मा जब मैले एकपछि अर्को हिट फिल्म दिइरहेको थिएँ, तब म एक राइजिङ सुपरस्टार थिएँ र त्यसबेला म यहाँ आएको थिएँ । अब फेरि म यहाँ आएको छु र अहिले पनि म राइजिङ स्टार नै हुँ । किनकि, मैले धेरै हिट फिल्म दिन सकेको छैन, जति दिन चाहन्थेँ ।'
 
उनका निकै मिल्ने साथी करण जौहर पनि कार्यक्रममा उपस्थित भएका थिए । साथै, जोया अख्तर, रीमा दास, त्यागराजन कुमारराजा, अर्जुन कपूर, तब्बू र फिल्म निर्माता श्रीराम राघवन पनि सहभागी भएका थिए । उक्त कार्यक्रममा शाहरुखलाई भारतीय फिल्ममा गरेको योगदानको कदर गर्दै सम्मान गरिँदैछ । १५ अगस्टसम्म चल्ने फस्टिवलमा २२ भाषाका ६० फिल्म प्रदर्शन हुँदैछन् । 
 
अष्ट्रेलिया बसाईको क्रममा शाहरुखलाई प्रतिष्ठित ला ट्रोब विश्वविद्यालयले डक्टरेटको मानर्थ उपाधि पनि प्रदान गरेको छ । बञ्चित बच्चाको मद्दत गर्न र एमईईआर फाउन्डेशन द्वारा महिला सशक्तिकरणका लागि काम गरेको भन्दै उनलाई यो उपाधि दिइएको हो । उपाधि ग्रहण गर्दै उनले भने, ‘यो पुरस्कार ती महिलाहरुको साहसलाई दिइएको हो, जो अन्यायको विरुद्ध आवाज उठाउँछन् ।’
Most Visited News (monthly)