Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

मिरुना भन्छिन्, ‘मलाई पारिश्रमिकको चर्चामा रमाउनु छैन’

फिल्मीखबर, काठमाण्डौ, 2019/08/08
अभिनेत्री मिरुना मगरले फिल्म 'लालपूर्जा' बाट अभिनयमा डेब्यू गरेकी थिइन् । सुन्दरी अभिनेत्रीको रुपमा चिनिएकी उनले दोस्रो फिल्मको रुपमा अहिलेका जल्दाबल्दा अभिनेता प्रदीप खड्कासँग फिल्म 'रोज' गरिन् । तर, दुबै फिल्म बक्सअफिसमा असफल साबित भए । दुई फिल्मको असफलताले उनी नराम्रोसँग हल्लिएकी थिइन् । कतिपयले उनी अब पलायन हुने अनुमान पनि लगाए । 
 
तर, 'रोज' ले निर्मातालाई खुसी बनाउन नसके पनि मिरुनालाई दुःखी भने बनाएन । उनी यो फिल्मबाट दर्शकको ठूलो वर्गमा राम्रैसँग चिनिइन् । उनको काम पनि रुचाइयो । यो फिल्मपछि उनीमाथि गिनेचुनेका ब्यानरको नजर परेको छ । तर, उनी हतारिएर फिल्म गर्ने पक्षमा छैनन् । टिम र स्क्रिप्ट राम्रो लागे मात्र काम गर्ने उनको भनाई छ । उनी करिअरप्रति चिन्तित भएको बताउँछिन् । 
 
 
उनको तेस्रो फिल्म ‘साइनो’ यही साउन २४ गतेबाट देशभर प्रदर्शनमा आउँदैछ । फिल्ममा उनीसँगै नव-नायक राज कुमार, अभिनेत्री नीता ढंगानालगायतका कलाकारहरुको अभिनय छ । अभिनेत्री मिरुना फिल्मले दर्शकलाई निराश नबनाउनेमा विश्वस्त छिन् । उनी भन्छिन्, ‘फिल्मको कथावस्तु निकै मजबुत छ । दर्शकसँग फिल्मले मिठो साइनो गाँस्न सफल हुन्छ भन्नेमा पूर्ण विश्वास छ ।’ 
 
उनको करिअरका लागि फिल्म ‘साइनो’ ले बक्सअफिसमा गतिलो व्यापार गर्न अत्यन्त आवश्यक छ । नभए, उनले फ्लप फिल्ममा ह्याट्रिक गर्नेछिन् । लगातार तीन फिल्मले हलमा पानी भन्न नपाउनु एउटा कलाकारको करिअरका लागि निको मानिन्न । मिरुना फिल्मलाई लिएर निकै आशावादी छिन् । ‘साइनो’ रिलिजको संघार रहँदा उनले फिल्मीखबरको दश प्रश्नको यसरी सामना गरिन् :-
 
१. ‘साइनो’ ले तपाईंको करिअर बनाउन कस्तो भूमिका खेल्छ ? 
 
निश्चय पनि महत्त्वपूर्ण भूमिका खेल्छ । ‘साइनो’ ले मात्र होइन सबै फिल्मले नै खेल्छ । फिल्म गर्दा धेरै अनुभव बटुल्न पाइन्छ र एउटा कलाकारलाई सेभ गर्न पनि मद्दत गर्छ । त्यसकारण पनि ‘साइनो’ मेरो करिअरका लागि महत्त्वपूर्ण छ । 
 
२. फिल्म आफ्नै काँधमा बोकेर हिँड्दा चाहिँ कति चुनौती महशुस हुन्छ ? 
 
फिल्म (साइनो) मैले मेरै काँधमा मात्र बोकेर हिँडेको छु भन्ने लाग्दैन । फिल्ममा धेरै अनुभवी कलाकारहरु हुनुहुन्छ । फिल्म भनेको टिमवर्क हो । फिल्म पूरै मैले मात्र बोकेको छु भन्ने महशुस गरेको छैन । तर, रेस्पोन्सिविलिटी अरु कलाकार जत्ति नै छ । 
 
३. ‘साइनो’ गर्न राजी हुनुको कारण के थियो ? 
 
राम्रो स्क्रिप्ट र राम्रो टिम भएका कारण नै गरेकी हुँ । भुवन म्याम (नेपाली फिल्मकी प्रथम नायिका भुवन थापा चन्द) को पहिलो फिल्ममा म हुन पाउनु एकदमै लक्की फिल गरेँ । जब फिल्मको विषयमा कुरा भयो तब क्यारेक्टर मलाई निकै मनपर्‍यो । सबै कुरा राम्रो लागेपछि फिल्म छाड्न सकिनँ । 
 
४. अघिल्ला फिल्मभन्दा ‘साइनो’ मा भूमिका केही फरक छ ? 
 
धेरै फरक छ । मैले अघिल्ला दुई फिल्म 'लालपूर्जा' र 'रोज' मा शहरिया युवतीको भूमिका निभाएकी थिएँ । ‘साइनो’ मा चाहिँ ग्रामिण परिवेशमा हुर्किएको युवतीको भूमिका छ । उसको एउटा उद्येश्य छ, जुन पूरा गर्न ऊ लागिपरेकी छ । ऊ कडा, जिद्धि र छुच्चि पनि छ । यस्तो भूमिकामा मलाई दर्शकले देख्न पाउनु भएको थिएन । 
 
५. गाउँले भूमिकाले तपाईंलाई लोभ्याउनुको कारण केही छ ? 
 
अहिलेको समयमा लुगाले गाउँ र शहरको भनेर मुल्यांकन गरिन्छ भन्ने मलाई लाग्दैन । लुगा भनेको सहज लाग्ने जस्तो पनि लगाउन सकिन्छ । म लण्डनमा बसे पनि गाउँघर प्रायः गइरहन्थेँ । आफ्नो मौलिकता झल्काउने भूमिका गर्न निकै मन थियो, जुन ‘साइनो’ मा पूरा भयो । म बाहिर बसेको भएर पनि त्यो अभाव महशुस भएको होला । संस्कार-संस्कृतिबाट टाढा भएर बसेकाले पनि मलाई गाउँले भूमिकाले लोभ्यायो । 
 
६. नयाँ र पुरानो कलाकारसँग काम गर्दाको अनुभव कस्तो हुँदो रहेछ ? 
 
'लालपूर्जा' मा सौगात (मल्ल) दाई, विविन (कार्की) दाईसँग काम गर्न पाएँ । 'रोज' मा प्रदीप खड्का र परमिता आरएल राणा हुनुहुन्थ्यो । ‘साइनो’ मा राज कुमार (नव-नायक), नीता (ढुंगाना) दिदीसँग काम गर्न पाएँ । सबैसँग काम गर्दा रमाइलो नै भयो । सबैको काम गर्ने शैली फरक-फरक हुन्छ तर मलाई सबैसँग सहज नै भयो । 
 
७. सुन्दरता कि अभिनयले आफू दर्शकमाझ चिनिएँ जस्तो लाग्छ ? 
 
(लामो हाँसो) मैले अहिले चाहिँ सुन्दरताको चर्चा सुन्ने गरेको छु । तर, मलाई अभिनयले चिनिएको जस्तो लाग्छ र सधैं अभिनयले नै चिनिन पाऊँ भन्ने लाग्छ । 
 
८. करिअरलाई गतिमा दौडाउन फेरि प्रदीप खड्कासँग काम गर्ने इच्छा छ ?
 
करिअरलाई गतिमा दौडाउनकै लागि चाहिँ उहाँ (प्रदीप खड्का) सँग काम गर्न चाहन्नँ । त्यो मैले सोचेको पनि छैन । म त्यति साह्रो लोभी छैन । भोली के हुन्छ त्यो अहिले भन्न सक्दिनँ । तर, उहाँसँग स्क्रिन साझेदार गर्न अवश्य मन छ । अरु धेरै जनासँग पनि काम गर्न मन छ ।
 
९. तपाईंका लागि क्यारेक्टर महत्त्वपूर्ण हुन्छ वा पारिश्रमिक ? 
 
सुरुमा त क्यारेक्टर नै हो । त्यो क्यारेक्टरलाई मैले कति समय दिनुपर्छ, फिल्ममा त्यो क्यारेक्टरले पार्ने प्रभाव कस्तो छ भन्ने बुझेपछि मात्र पारिश्रमिकको कुरा आउँछ । क्यारेक्टर कमजोर छ भने पारिश्रमिक हेरेर फिल्म गर्दिनँ । न त मैले यसअघि पारिश्रमिक हेरेर फिल्म गरेको थिएँ न त भविष्यमा नै गर्नेछु । 
 
१०. कलाकारको पारिश्रमिक बाहिर ल्याउन जरुरी छ । 
 
पारिश्रमिक बाहिर ल्याएर फाइदा हुन्छ भने राम्रै होला । त्यो आ-आफ्नो स्वतन्त्रताको कुरा हो । तर, मलाई पारिश्रमिक बाहिर ल्याउनु छैन । म अहिले आफूलाई फिल्ममा स्थापित गर्न संघर्ष गरिरहेको छु । न मलाई पारिश्रमिकको पछाडि दौडनु छ न त त्यो बाहिर ल्याएर चर्चा नै कमाउनु छ । मलाई मात्र मेरो कामको चर्चा होस् भन्ने लाग्छ ।
Most Visited News (monthly)