Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘धुर्मुस-सुन्तली’ को ‘छल कपट’ कसरी भयो ‘सेन्टी भाइरस’ ?

फिल्मीखबर, काठमाण्डौ, 2019/08/08
शेक्सपियरले एकपटक भनेका थिए, ‘नाममा के राखेको छ ?’ तर, फिल्म दुनियाँमा नामले महत्वपूर्ण स्थान ओगटेको छ । नाम राम्रो नजुरेर फिल्मको घोषणा र फ्लोरमा निस्कन नसकेका उदाहरण धेरै छन् । नामका कारण फिल्ममेकर्सले अनेकन झन्झट पनि बेहोर्नु परेको छ । फिल्म ‘गाँजाबाजा’ नाम राखेर निर्देशक गणेशदेव पाण्डेले फिल्म बनाए । तर, चलचित्र विकास बोर्डले ‘गाँजा’ लागुऔषधको नाम भएको भन्दै फिल्म दर्ता नै गर्न मानेन । 
 
पछि गाँजाबाट चन्द्रविन्दू हटाएर फिल्म प्रदर्शन गरिएको थियो । यो घटनाले शेक्सपियरको भनाईलाई गलत सावित गर्छ । नेपाली फिल्मको हकमा नाममा धेरै राखेको छ । सेलिब्रेटी जोडी सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) कै कुरा गरौंन । यो जोडीले गएको दुई वर्षदेखि फिल्म बनाउने चर्चा थियो । तर, नाम जुराउन नसक्दा लामो समयसम्म फिल्म घोषणा नै हुन सकेन । बुधबार ‘सेन्टी भाइरस’ नामाकरण गरेर फिल्मको घोषणा गरियो । 
 
 
तर, स्क्रिप्टमा काम हुँदा यो फिल्मको नाम ‘एन्टी भाइरस’ जुराइएको थियो । पछि ज्योतिषले ‘एस’ बाट नाम राख्दा राम्रो हुने सल्लाह दिए । ज्योतिषको सल्लाह अनुसार ‘धुर्मुस-सुन्तली’ ले फिल्मको नाम परिवर्तन गरेर ‘सेन्टी भाइरस’ राखे । तर, यो नाम पनि उनीहरुलाई चित्त बुझेन । रामबाबु गुरुङ निर्देशकको रुपमा भित्रिएपछि फिल्मको नाम ‘छल कपट’ राखियो । लगभग यो नाम फाइनल भइसकेको थियो । तर, अन्तिम समयमा यो नाम पनि परिवर्तन गरियो ।
 
‘धुर्मुस-सुन्तली’ ले ‘छल कपट’ नाम परिवर्तन गर्नुको पछाडि ठूलो कारण मानिएको छ । ‘छ’ नामबाट दीपकराज गिरी र दीपाश्री निरौलाले एकपछि अर्को फिल्म निमार्ण गर्दै आएका छन् । यो नाम उनीहरुलाई निकै फापेको छ । ‘छ’ नामबाट बनाएका सबै फिल्म हिट छन् । यसैकारण उक्त नामबाट फिल्मको नामाकारण गरे दर्शकले दीपक-दीपा समुहकै फिल्म बुझ्ने भएका कारण ‘धुर्मुस-सुन्तली’ ले ‘छल कपट’ नाम परिवर्तन गरेको निकट स्रोत बताउँछ । 
 
फिल्म बजारमा चलेको चर्चालाई विश्वास गर्ने हो भने दीपक र दीपाको समुहसँग सिताराम र कुञ्जनाको सम्बन्ध अहिले राम्रो छैन । बुधबार ‘सेन्टी भाइरस’ को घोषणा सभामा पनि ‘छक्का पञ्जा’ टिमबाट प्रतिनिधित्त्व गरेर कोही उपस्थिति भएका थिएनन् । यसले पनि बजारको चर्चालाई सत्य प्रमाणित गर्छ । यद्यपि, यसअघि सितारामले दीपक-दीपा समुहको ‘६ एकान ६’ र ‘वडा नम्बर ६’ मा अभिनय गरेका थिए । ‘धुर्मुस-सुन्तली’ दुबै फिल्मको निर्मातामा थिए । 
 
‘सेन्टी भाइरस’ मा प्रदीप किन अटेनन् ? 
 
गत वर्ष फिल्मीखबरसँग अष्ट्रेलियाबाट अनलाइनमार्फत् कुराकानी गर्दै अहिलेका जल्दाबल्दा अभिनेता प्रदीप खड्काले आफूलाई ‘धुर्मुस-सुन्तली’ ले निर्माण गर्न लागेको फिल्मबाट अफर भएको बताएका थिए । साथै, उनले मह सञ्चारको फिल्म ‘दाल भात तरकारी’ पनि अफर भएको खुलासा गरेका थिए । तर, उनले स्क्रिप्ट चित्त नबुझेर ‘दाल भात तरकारी’ गरेनन् । उनलाई अफर गरेको भूमिका गर्न अभिनेता पुष्प खड्काले तयार भए । 
 
 
‘धुर्मुस-सुन्तली’ को ‘सेन्टी भाइरस’ प्रदीपले गर्ने सम्भावना प्रवल रहेको चर्चा चलेको थियो । उनले फिल्मको वान लाइन स्टोरी समेत सुनेका थिए । तर, ‘धुर्मुस-सुन्तली’ सँग उनको टिमअप हुन सकेन । यस विषयमा प्रदीप भन्छन्, ‘फिल्मको शिलशिलामा म निकै व्यस्त भएँ । उहाँहरुसँग छलफल गर्नै पाइनँ । त्यसैले उहाँहरुले मैले गर्दिनँ भन्ने ठान्नुभयो होला ।’ यद्यपि, उनले निर्माण टिमलाई फिल्मको सफलताको शुभकामना दिए ।
 
तर, प्रदीपले आफूलाई फिल्म अफर भएको बताए पनि सिताराम कट्टेल (धुर्मुस) भने यसमा कुनै सत्यता नभएको दाबी गर्छन् । उनी अहिलेसम्म प्रदीपलाई फिल्म अफर नै नगरेको बताउँछन् । फिल्मको घोषणा सभामा एक सञ्चारमाध्यमलाई अन्तर्वार्ता दिने क्रममा उनले भने- ‘हामीले स्क्रिप्ट फाइनल भएपछि कलाकार छनोट गर्न थालेका हौं । प्रदीप भाईलाई हामीले अफर नै गरेका छैनौं ।’ के यसो भए प्रदीपले चर्चाका लागि झुट बोलेका थिए ? प्रश्न उब्जिएको छ । 
 
‘सेन्टी भाइरस’ को कथा हास्यटेलिसिरियल ‘भद्रगोल’ का कलाकार द्वय कुमार कट्टेल र दीपक आचार्यले लेखेका हुन् । ‘भद्रगोल’ टिम पनि ‘फनफनी’ नामक फिल्म बनाउँदैछ । सितारामका अनुसार, ‘भद्रगोल’ टिमले निर्माण गर्ने फिल्मबाट भने प्रदीपलाई अफर भएको थियो । ‘प्रदीप भाई कन्फ्यूज हुनुभयो होला । किनकि, हाम्रो फिल्मको कथा पनि ‘भद्रगोल’ टिमले तयार पारेको हो । उहाँलाई अफर हुँदा हाम्रो फिल्म भन्ने बुझ्नुभयो होला’, उनल स्पष्ट पारे । 
Most Visited News (monthly)