Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(9 votes, avg 4.44/5.00)
Text size:-
+
-

‘धुर्मुस-सुन्तली’ को ‘सेन्टी भाइरस’ घोषणा

फिल्मीखबर, काठमाडौं, 2019/08/07
चितवनमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला निर्माण गरिरहेका हास्यकलाकार द्वय सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले लामो समयदेखि निर्माण गर्ने भनेको फिल्मको औपचारिक घोषणा गरिएको छ । बुधबार राजधानीमा एक कार्यक्रमका बीच ‘सेन्टी भाइरस’ नाम जुराइएको फिल्मको घोषणा गरियो । भाद्र ३ गतेबाट छायांकन हुने फिल्मलाई रामबाबु गुरुङले निर्देशन गर्नेछन् । 
 
 
 
 
सुरुवातमा फिल्मको नाम 'एन्टी भाइरस' जुराइएको थियो । त्यसपछि ज्योतिषले 'एस' बाट नाम राख्न सुझाव दिएपछि ‘धुर्मुस-सुन्तली’ ले फिल्मको नाम 'सेन्टी भाइरस' बनाए । तर, केही दिन अगाडि फेरि फिल्मको नाम परिवर्तन गरेर 'छल कपट' राखिएको थियो । अन्ततः फिल्मको नामाकरण ज्योतिषले जुराएकै नामबाट गरिएको छ । ‘सेन्टी भाइरस’ को कथा कुमार कट्टेल र दीपक आचार्यले लेखेका हुन् । 
 
फिल्ममा ‘धुर्मुस-सुन्तली’ स्वयंको प्रमुख भूमिका रहनेछ । सामाजिक व्यंग्यमा निर्माण हुने फिल्ममा दयाहाङ राई, राजाराम पौडेल, विल्सन विक्रम राई, बुद्धि तामाङ, कमलमणी नेपाल, सूर्यमाला खनाललगायतका कलाकारहरुको पनि अभिनय रहने कार्यक्रममा जानकारी गराइयो । रुपाकोट र पोखरामा छायांकन हुने फिल्मलाई निर्देशक गुरुङका विश्वासिला छायाँकार शैलेन्द्र डि. कार्कीले खिच्नेछन् । 
 
कलाकार धुर्मुसले सामाजिक कार्यमा व्यस्त रहँदा कलाकारितामा समय दिन नपाएको बताउँदै अब फिल्म अभिनयबाट पुनः कलाकारितामा फर्किएको बताए । ‘सेन्टी भाइरस’ को निर्माण लागत अनुमानित २ करोड रहेको उनको भनाई छ । उनले फिल्मको मुनाफाको १५ प्रतिशत रंगशाला निर्माण र ५ प्रतिशत चलचित्र कलाकार संघको भवन निर्माणका लागि हस्तान्तरण गरिने पनि जानकारी दिए । 
 
 
 
 
राजनराज सिवाकोटी र कालीप्रसाद बाँस्कोटाको संगीत रहने यो फिल्मलाई डिन्डु लामा ह्योल्मोले निर्माण गर्नेछन् भने सह-निर्मातामा फूर्पा लामा रहेका छन् । निर्देशक रामबाबुले फिल्मलाई उत्कृष्ट बनाउने प्रयत्न आफ्नो रहने बताए । त्यस्तै, कलाकार कुञ्जनाले बाल्यकालदेखि नै आफूलाई फिल्ममा अभिनय गर्ने रहर भएको बताउँदै अब ‘सेन्टी भाइरस’ बाट पूरा हुन लागेकोमा खुसी व्यक्त गरिन् । 
Most Visited News (monthly)