जस्तोसुकै भूमिकामा आफूलाई जीवन्त रुपमा उतार्न सफल अभिनेत्री नम्रता श्रेष्ठ पहिलो पटक एक्सन अवतारमा प्रस्तुत हुँदैछिन् । लभर गर्लको भूमिकामा निकै रुचाइएकी उनी भाद्र ६ गतेबाट देशभर प्रदर्शनमा आउन लागेको फिल्म ‘जाइरा’ मा मिक्स मार्शल आर्ट खेलाडीको भूमिकामा छिन् । यो उनको करिअरको सबैभन्दा चुनौतीपूर्ण भूमिका मानिएको छ ।
बुधबार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको फिल्मको ट्रेलरमा उनलाई एक्सन अवतारमा देख्न सकिन्छ । उनको लुक्स पनि निकै फरक छ । क्यारेक्टरलाई न्याय गर्न उनले फिल्मका लागि आफ्नो कपाल समेत मुण्डन गरेकी थिइन् । उनी ‘जाइरा’ मा एक्सन गर्न निकै गाह्रो भएको बताउँछिन् । धेरैपटक उनले पेनकिलर खाएर फिल्ममा एक्सन सिन दिएकी थिइन् ।
'मेरो एउटा साथी छ', 'नोभेम्बर रेन', 'क्लासिक' लगायतका लभस्टोरी फिल्ममा सोझी युवतीको भूमिका निभाएकी उनी गत वर्षको हिट फिल्म 'प्रसाद' मा विवाहित महिलाको भूमिकामा प्रस्तुत भएकी थिइन् । तर, उनले आजसम्म कुनै फिल्ममा नकारात्मक भूमिका निभाएकी छैनन् । उनलाई यो गर्ने इच्छै नभएको भने होइन । तर, केले रोक्यो त ?
(1).jpg)
‘जाइरा’ को ट्रेलर रिलिजमा उनले भनिन्, ‘मैले अहिलेसम्म पोजेटिभ क्यारेक्टर मात्र गरेको छ । तर, मलाई नेगेटिभ रोल गर्न पनि इच्छा छ ।’ उक्त फिल्ममा नकारात्मक भूमिकामा रहेकी श्रृजना रेग्मीको क्यारेक्टर आफूलाई निकै मन परेको भएता पनि निर्देशक आशुतोष राज श्रेष्ठले आफूलाई नै सोचेर जाइराको क्यारेक्टर तयार पारेको बताएपछि नेगेटिभ रोल गर्न नपाएको नम्रताले बताइन् ।
फिल्म ‘जाइरा’ रिलिजको एकहप्ता अगाडि र पछाडि ठूला-ठूला फिल्म प्रदर्शनका लागि तयारी अवस्थामा छन् । साउन ३० गते मल्टीस्टारर फिल्म 'हजार जुनीसम्म' छ भने भाद्र १३ गते साउथ फिल्म 'साहो' र नेपाली फिल्म 'मारुनी' भिड्दैछन् । चेपुवामा परिने कति डर छ ? भन्ने पत्रकारको प्रश्नमा उनले आफ्नो फिल्मले सोलो रिलिज पाउनु नै सबैभन्दा ठूलो कुरा रहेको बताइन् ।
उनले भनिन्, ‘आफ्नो फिल्मभन्दा अगाडि र पछाडि कुनै ठूलो फिल्म रिलिज नहोस् भन्ने सबैलाई लाग्छ । तर, फिल्म राम्रो छ भने डर किन मान्ने ? फिल्म ‘वर्ड अफ माउथ’ ले चल्ने हो । त्यसमाथि अहिलेको अवस्थामा कुनै फिल्मले सोलो रिलिज पाउनु भनेको दुर्लभ हो । हरेक हप्ता दुईभन्दा बढी फिल्म भिडिरहेका हुन्छन् । ‘जाइरा’ ले सोलो रिलिज पाएको छ, त्यसैमा खुसी छौं ।’

