
गुपचुप रुपमा छायांकन सकिएको फिल्म ‘हल्कारा’ को फस्टलुक पोस्टर सार्वजनिक भएको छ । चलनचल्तीको भन्दा यो फिल्मको पोस्टर केही पृथक छ । फिल्मले गहन विषय उठाएको पोस्टरबाट आँकलन गर्न सकिन्छ । यो फिल्मका निर्देशक विक्रम सापकोटा हुन् । निर्माण टिमले फस्टलुक पोस्टरमा प्रदर्शन मिति भने राखेको छैन ।
निर्देशक सापकोटाले फिल्मका लागि उपयुक्त मिति मिलाउन वितरकसँग छलफल भइरहेको र केही दिनमा टुंगो लाग्ने बताए । फिल्मले एक बेरोजगार गाउँको कथा वाचन गरेको बताइएको छ । सोसल ड्रामामा निर्माण भएको ‘हल्कारा’ को कथा निर्देशक सापकोटा स्वयंले तयार पारेका हुन् ।
उनलाई आकाश बराल र विप्लव प्रतिकले सघाएका छन् । निर्देशक सापकोटा र रामकृष्ण पोखरेलले फिल्मको निर्माण गरेका हुन् । ‘हल्कारा’ मा महेश त्रिपाठी, विनिता थापामगर, उमेश तामाङ, दीपक क्षेत्री, पशुपति राईलगायतका कलाकारहरुको अभिनय रहेको छ । नेपालको दुर्गम गाउँहरूमा चिठ्ठी पुर्याउने जिम्मेवारी पाएको एक युवकको कथामा फिल्म आधारित छ ।

