नेपालमा कलाकार र निर्देशकको सम्बन्ध खासै सुमधुर भएको पाइँदैन । प्रायः पहिलो टिमअप नै अन्तिम हुने गरेका छन् । अभिनेता प्रदीप खड्का र निर्देशक सुदर्शन थापा एक उदाहरण हुन् । एकाध होलान्, जसले दोहोर्याएर काम गरेका हुन् । नभए, पहिलो फिल्मबाटै सम्बन्ध वारपार हुन्छन् । जीवनमा कहिल्यै दोहोर्याएर काम नगर्ने प्रण गर्छन् । तर, नेपाली फिल्ममा केही यस्ता जोडी पनि छन्, जसको सहकार्य झन्-झन् बलियो हुँदै गएको छ ।
हुनत, हरेक सम्बन्ध विश्वासमा अडिएको हुन्छ । त्यही विश्वासको डोरीले अभिनेता पुष्प खड्का र निर्देशक नवल नेपाललाई एकअर्काबाट टाढा बनाउन सकेको छैन । दुईको पहिलो सहकार्य फिल्म 'मंगलम' मा भएको थियो । यो फिल्मले घरेलु बजारबाट लगानी मात्र उठाएन पुष्पको करिअरको 'टर्निङ पोइन्ट' पनि साबित भयो । फिल्ममा उनले जीवन्त अभिनय पस्किएका थिए । यो फिल्मपछि उनले करिअर फर्किएर हेर्नु परेको छैन ।
'मंगलम' ले पुष्पलाई राष्ट्रिय अवार्ड समेत दिलायो । यो फिल्मभन्दा अगाडि उनले 'अझै पनि' र 'दर्पण छाँया २' मा काम गरेका थिए । तर, दुबै फिल्मले असफलता भोगे । न त उनको अभिनयको प्रशंसा नै भएको थियोे । 'मंगलम' ले भने उनलाई रातारात चम्कायो । अहिले उनी 'स्टार' को दौडमा छन् । यस वर्षको बैशाखमा उनको नयाँ फिल्म 'दाल भात तरकारी' प्रदर्शनमा आएको थियो । तर, यो फिल्म उनका लागि बिर्सनलायक बन्यो ।

'मंगलम' कै ब्याज खाइरहेका पुष्पको करिअर नवलभन्दा अरुले बचाउन नसक्ने टिका-टिप्पणी फिल्मवृतमा हुने गरेको छ । यसकारण पनि उनले निर्देशक नेपालको साथ छाड्न सकेका छन् । न त नवलले नै उनलाई च्याप्न छाडेका छन् । दुईले दोस्रो पटक सहकार्य गरेको फिल्म 'मारुनी' आउँदो भाद्र १३ गते प्रदर्शनमा आउँदैछ । यो फिल्ममा नवल र पुष्प हुनुमा एकअर्काको ठूलो भूमिका रहेको बताइन्छ ।
अहिले पुष्पले आफूलाई अफर हुने फिल्ममा नवललाई निर्देशकमा सिफारिस गर्ने गरेको चर्चा छ । नवलले पनि यस्तै गर्ने गरेको बताइन्छ । सोमबार फिल्म 'मारुनी' को ट्रेलर रिलिज कार्यक्रममा पुष्पले आफूले निर्देशकमा नवल नेपाललाई डिमान्ड गर्ने गरेको कुरामा सत्यता नभएको बताए । उनले भने- 'हो, यदी कसैले मलाई स्क्रिप्ट ल्याएर यसमा कुन निर्देशक ठिक हुन्छ भनेर सोध्यो भने मेरो दिमागमा नवल नेपालभन्दा अरु नाम आउँदैन ।'
उनी निर्देशक नेपालबाट आफूले धेरै शिक्षा पाएको बताउँछन् । आफूलाई 'मंगलम' बाट राष्ट्रिय अवार्ड दिलाएकोमा धन्यवाद दिँदै उनले आफूसँग अवार्डेड निर्देशक हुँदा-हुँदै अर्को निर्देशकको नाम लिन नसक्ने बताए । तर, नेपालमा निर्देशक र कलाकारको सहकार्य दिगो हुन नसकेको अवस्थामा पुष्प र नवलले साथमा कहाँसम्म सँगै यात्रा गर्नेछन् ? यसका लागि भने प्रतिक्षा गर्नैपर्ने छ । 'मारुनी' नै अन्तिम सहकार्य हुने त होइन ?

