साउथ सुपरस्टार प्रभास अभिनीत फिल्म ‘साहो’ ले नेपाली फिल्मको रिलिज क्यालेन्डर नराम्रोसँग बिथोलेको छ । पहिला यो फिल्म साउन ३० मा आउने निश्चित भएको थियो । यसको डरले ‘नाईं नभन्नू ल’ फेम्ड निर्देशक विकासराज आचार्य निर्देशित फिल्म ‘हजार जुनीसम्म’ को रिलिज एक हप्ता पछाडि सर्यो । तर, विविध कारणले ‘साहो’ दुई हप्तापछि आउने भएपछि निर्देशक आचार्य पुनः पुरानै मितिमा फर्किए ।
‘साहो’ अब भाद्र १३ गते प्रदर्शनमा आउँदैछ । यो मितिमा भिड्न दुई नेपाली फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ र ‘मारुनी’ तयार थिए । तर, ‘साहो’ आएपछि भिडन्त छल्न ‘कबड्डी ३’ असोज ३ मा पुग्यो । यो फिल्म असोजमा पुग्दा दशैं लक्षित दुई फिल्म ‘छ माया छपक्कै’ र ‘रातो टिका निधारमा’ को रिलिज अन्योलमा परेको छ । ‘साहो’ को डरले सुपरहिट फिल्मको सिरिज ‘कबड्डी ३’ कुना पसेपछि फिल्म ‘मारुनी’ पनि सर्ने चर्चा फिल्मवृतमा छ ।

तर, निर्माता पुनम गौतमले फिल्म भाद्र १३ मा नै रिलिज हुने दाबी गरेकी छन् । आफ्नो फिल्मसँग ‘कबड्डी ३’ र ‘साहो’ भिड्न आउँदा भोक-निन्द्रा हराएको बताउँदै उनले भनिन्, ‘हामी दुई ठूला फिल्मको चेपुवामा पर्छौं कि भन्ने निकै ठूलो डर थियो । कति दिन न मलाई भोक लाग्यो न त निन्द्रा । ‘कबड्डी ३’ असोजमा सरेपछि केही राहत महशुस भएको छ । अब हामी कुनै हालतमा घोषित मितिमै आउँछौं ।’
उनले नेपाली फिल्म सहज रुपमा प्रदर्शनको व्यवस्था मिलाउन वितरकलाई आह्वान पनि गरिन् । ‘हामीले भारतमा फिल्म रिलिज गर्न लागेका होइनौं । आफ्नै देशमा फिल्म प्रदर्शन गर्न पनि किन विदेशी फिल्मको डरले बाँच्ने ?’, गम्भीर भावमा उनले अगाडि भनिन्, ‘नेपाली फिल्मलाई सहज रुपमा प्रदर्शनको व्यवस्था वितरकले मिलाउन आवश्यक छ । हामी आ-आफ्नै फिल्मसँग भिड्ने हो भने नेपाली फिल्म क्षेत्र कहिल्यै अगाडि बढ्न सक्दैन ।’
निर्मात्री गौतम घोषित मिति नछाड्ने अडानमा बसेपनि ‘साहो’ सँग भिडन्त गर्न ‘मारुनी’ लाई सहज छैन । लामो समयदेखि प्रतिक्षामा रहेको प्रभासको फिल्मले नेपालका अधिकांश मल्टीप्लेक्स कब्जा गर्ने पक्का छ । सिंगल पर्दा पनि धेरथोर आफ्नो पक्षमा पार्नेछ । यो अवस्थामा ‘मारुनी’ मल्टीप्लेक्समा ४/५ सोजमा खुम्चिनु पर्ने हुनसक्छ । सिंगल थिएटर भने अधिकांश पाउन सक्छ । यो फिल्म बक्सअफिसमा डुब्ने वा तैरिने भन्ने कुराको निर्धारण ‘वर्ड अफ माउथ’ ले गर्नेछ ।

