नेपालमा घरजम जोडेपछि अभिनेत्रीको करिअर सकिन्छ भन्ने मानसिकता छ । अपवादबाहेक प्रायः अभिनेत्रीहरुको हकमा यो लागू भएको पनि छ । विवाहपछि फिल्म नपाएर धेरै पलायन भइसके । केही जेनतेन टिकिरहेका छन् । कसैको भने विवाहपछि भाग्य चम्किएको छ । यसको एक उदाहरण हुन्, अभिनेत्री स्वस्तिमा खड्का । सिउँदोमा सिन्दूर भरेपछि अभिनेत्रीको करिअर लथालिङ्ग हुन्छ भन्ने मान्यतालाई उनले तोड्न सफल भइन्, जुन धेरैका लागि प्रेरणादायक छ ।
तर, सबैको भाग्य स्वस्तिमाको जस्तै कहाँ हुन्छ र ! विवाहपछि पनि करिअरले उही लोभलाग्दो रफ्तार लिन्थ्यो भने 'नाईं नभन्नू ल' बाट सानदार डेब्यू गरेकी अभिनेत्री ऋचासिंह ठकुरी अहिले गुनमान हुनु पर्दैन थियो । डेब्यू फिल्म रिलिजपछि उनले राम्रो क्रेज र स्टारडम बनाएकी थिइन् । फिल्ममेकर उनलाई लिन हानाथाप गर्थे । तर, विवाहपछि उनका लागि यो सबै एकादेशको कथा भएको छ । न अहिले उनलाई फिल्म अफर गर्न कोही पुग्छन् न त चर्चा नै हुने गरेको छ ।
राज थापासँग ऋचाले गएको ५ वर्ष अगाडि लगनगाँठो कसेको थिइन् । घरजम बसाउनुभन्दा अगाडि पैसाको मुख हेरेर गरेका उनका केही फिल्म गएको एक/दुई वर्ष अगाडिसम्म रिलिज भए । तर, हलमा आएको/गएको दर्शकलाई थाहै भएन । सम्भवतः उनी स्वयंलाई पनि भएन होला ! राम्रो क्रेज हुँदा गुणस्तरमा वास्ता नगरेर संख्यात्मक अभिनयमा रमाउँदा उनी जुन गतिमा उकालो चढिन्, त्यही गतिमा आरालो झरिन् । अहिले उनलाई फिल्ममा टिक्नै सकस भइरहेको छ ।

विवाहपछि उनले करीब ५ वर्ष फिल्म गरिनन् । न त उनलाई फिल्म अफर गर्न नै कोही पुगे । तर, मनमा अभिनयको हुटहुटीले उनलाई फिल्मबाट टाढा राख्न सकेन र आफैं फिल्म बनाइन्, 'सुपर गोर्खे' । फिल्मको निर्देशन उनकै श्रीमान राजले गरे । यो फिल्म गएको साउन १० गते प्रदर्शनमा आयो । तर, दर्शकलाई फिल्म हलमा लागेकै पत्तो भएन । फिल्म बक्सअफिसमा नमज्जाले पछारिएको छ । उक्त फिल्मले भित्तामा पोस्टर टाँस्नका लागि बनाएको माडको पैसा चाहिँ कनिकुथी उठायो कि ?
यो फिल्म पनि नचलेपछि ऋचाको करिअरले विवाहपछि दम तोडेको कतिपयको निष्कर्ष छ । तर, सक्कली सुनलाई कसी लाउनु पर्दैन भनिन्छ । फिल्म राम्रो छ भने कलाकार विवाहित वा अविवाहित भन्ने कुराले अर्थ राख्दैन । प्रचार गतिलो भए राम्रा फिल्म चल्छन् । अभिनेत्री ऋचाले 'नाईं नभन्नू ल' पछि सम्झनलायक फिल्म दिन सकेकी छैनन । पैसाको वजनमा फिल्म चुन्दा उनलाई दर्शकले समेत भुल्न थालेका छन् । अब उनी पलायन हुनसक्ने कतिपयको विश्लेषण छ ।
विवाहपछि उनी निकै मोटाएकी छन् । आफूलाई फिट राख्ने र फिल्म छनोटमा चुजी हुने हो भने ऋचाले अझै पनि आफ्नो पुरानो क्रेज र स्टारडम फिर्ता गर्न सक्ने सम्भावना जीवित छ । दर्शकले उनलाई फिल्म क्षेत्रबाट पलायन भएको हेर्न चाहेका छैनन् । उनको सक्रियता फिल्म क्षेत्रका लागि पनि खाँचो छ । तर, अब फिल्म गर्नका लागि मात्र नगर्ने कि ? अभिनयमा विविधता पस्किन पनि जरुरी छ । आशा गरौं, भोलीका दिनमा उनले छनोट गरेका फिल्म हेरेर दर्शकले नाक खुम्च्याउनु पर्ने छैन ।

