Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

मनछुने छ ‘हजार जुनीसम्म’ : निर्देशक आचार्य

फिल्मीखबर, काठमाण्डौ, 2019/08/04
भेट्रान निर्देशक विकासराज आचार्यले नयाँ नाममा फिल्म नबनाएको धेरै भइसकेको छ । लामो समयदेखि ‘नाईं नभन्नु ल’ को सिरिजलाई नै निरन्तरता दिँदै आएका छन् । यसकारण पनि उनलाई नयाँ नाममा फिल्म बनाउन नसकेको आरोप लाग्ने गरेको छ । तर, यसपटक उनी आफूमाथि लागेको आरोपबाट मुक्त हुँदैछन् । उनको निर्देशनमा बनेको फिल्म ‘हजार जुनीसम्म’ यही साउन ३० गते प्रदर्शनमा आउँदैछ । 
 
फिल्ममा गिनेचुनेका कलाकारहरुको अभिनय छ । आर्यन सिग्देल, स्वस्तिमा खड्का, प्रियंका कार्की, सलोन बस्नेत, अनुभव रेग्मी, सञ्चिता लुईंटेललगायतका कलाकारहरुको प्रमुख भूमिका छ । प्रतिष्ठित ब्यानर र चलेका कलाकारहरुको अभिनय रहेका कारण यो फिल्मलाई रिलिज अगावै ‘स्योर सट’ हिट मानिएको छ । यसले खडेरी लागेको फिल्मको व्यापार चलायमान बनाउने फिल्मकर्मीहरुको विश्वास छ । 
 
 
विकासराजले प्रायः आफ्नै ब्यानरबाट फिल्म निर्माण गर्ने गरेका छन् । ‘हजार जुनीसम्म’ मा भने उनी निर्माताको रुपमा छैनन् । उनी आफूलाई बाहिरी ब्यानरको फिल्म गर्न मन भए पनि त्यसका लागि टिम मिल्नुपर्ने बताउँछन् । यसपटक सबै मिलेको उनले बताए । ‘हजार जुनीसम्म’ रमाइलो फ्यामिली ड्रामा रहेको उनको भनाई छ । उनी भन्छन्, ‘मैले यसअघि बनाएका फिल्मभन्दा यसको प्रस्तुतीकरण र कथ्य शैली फरक छ ।’
 
ट्रेलर सार्वजनिक भएपछि धेरैले यो फिल्मलाई ‘नाईं नभन्नु ल ६’ भनिरहेका छन् । तर, ‘नाईं नभन्नु ल’ सिरिजभन्दा ‘हजार जुनीसम्म’ केही फरक रहेको निर्देशक आचार्य बताउँछन् । उनी भन्छन्, ‘नाईं नभन्नु ल’ सिरिज रुचाउने दर्शकलाई यो त मनपर्छ नै साथै एउटा कलरफुल फिल्म रुचाउने दर्शकले पनि यसमा इन्जोय गर्नुहुन्छ । मेरो प्याटन त छ नै तर यसपटक केही नयाँ पनि छ ।’ 
 
उनी फिल्मलाई मनछुने बनाएको दाबी गर्छन् । फिल्ममा हाँसो, रोदन, माया, पारिवारिक दायित्व सबै रहेको उनको भनाई छ । निर्देशक आचार्यले फिल्मको पटकथा सामिप्यराज तिमल्सेनासंगको सहकार्यमा तयार पारेका हुन् । फिल्ममा कविराज गहतराजको नृत्य, उदयराज सोताङ्ग, राजनराज सिवाकोटी, बसन्त सापकोटा र प्रविन पौडेलको संगीत छ । विशाल चाम्लिङ निर्माता रहेको फिल्मकी कार्यकारी निर्मात्री कविता रेग्मी हुन् ।
Most Visited News (monthly)