अभिनेत्री स्वस्तिमा खड्काले गत वर्ष प्रदर्शनमा आएको फिल्म 'बुलबुल' मा आफ्नो भर्सटालिटी प्रस्तुत गरिन् । यो फिल्मभन्दा अगाडि उनी एकैखाले भूमिकामा अल्झिरहेकी थिइन् । अभिनयमा विविधता पनि पस्किन सकेकी थिइनन् । उमेरले २४ वर्ष पनि राम्रोसँग नटेकेकी उनले 'बुलबुल' मा विवाहित महिला, त्यो पनि टेम्पो चालकको भूमिका निभाएर सबैलाई चकित बनाइन् । अभिनय पनि जीवन्त गरेकी थिइन् ।
यो फिल्मभन्दा अगाडि उनले कुनै फिल्मबाट अवार्ड पाउन सकेकी थिइनन् । तर, 'बुलबुल' ले उनलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय अवार्ड एकसाथ दिलायो । सार्क फिल्म फेस्टिवलमा उनले उत्कृष्ट अभिनेत्रीको जुरी अवार्ड पाइन् भने राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट वर्ष २०७५ को सर्वोकृष्ट अभिनेत्रीको अवार्ड चुमिन् । दुई अवार्डले उनको चर्चा झनै चुलिएको छ । कतिपयले उनलाई 'नम्बर वान नायिका' समेत भन्न थालेका छन् ।
तर, केही दिन अगाडि एक कार्यक्रममा कलाकारको पारिश्रमिकको विषयमा दिएको एक अभिव्यक्तिले उनलाई निकै विवादित बनायो । कुनै कलाकारले २० लाख पारिश्रमिक बुझ्छ भने ५० लाखको दर्शक तान्न सक्नुपर्ने भनेपछि धेरैले उनको यो प्रहार अभिनेत्री पूजा शर्माले बुझेको २० लाख पारिश्रमिकमाथि रहेको बुझे । यसपछि उनी पूजा र उनका फ्यानको नजरमा तारो बनिन् । गालीको वर्षात भयो उनलाई ।
(2).jpg)
यद्यपि, फिल्मकर्मीले भने स्वस्तिमाको भनाईमा समर्थन जनाए । तर, पूजाका फ्यानले उनलाई घमण्डीको संघ्या दिए । अवार्ड पाएपछि उनमा आफू नै सबैभन्दा ठूलो भन्ने अहमता पलाएको कतिपयको टिप्पणी थियो । तर, स्वस्तिमा आफूलाई ४ वर्ष अगाडिदेखि नै धेरैले घमण्डी भन्ने गरेको बताउँछिन् । साउन ३० गते रिलिज हुने फिल्म 'हजार जुनीसम्म' को प्रचारमा व्यस्त उनको आफू स्पष्ट बोल्ने हुँदा घमण्डी लागेको हुनसक्ने तर्क छ ।
अवार्ड पाएपछि घमण्डी हुनुभएको हो ? भन्ने प्रश्नमा उनी भन्छिन्, 'अवार्ड नपाउँदा नै मलाई धेरैले घमण्डी भन्नुहुन्थ्यो । सायद मेरो फेस त्यस्तै भएर होला । मैले चार वर्षदेखि नै यो सुन्दै आएको छु । अवार्ड पाएपछि घमण्डी भन्ने सुनेको भए चाहिँ म घमण्डी भएँ कि भन्ने लाग्थ्यो होला । तर, अवार्ड पाएर म घमण्डी भएको भन्ने कुरा चाहिँ गलत हो । न त कहिले मलाई अवार्डको लोभ नै थियो न हुनेछ । बरु म घमण्डी बनाउन सक्ने कुरालाई बेवास्ता नै गर्छु ।'
चर्चाका लागि आफूलाई स्क्यान्डलको सहारा लिन आवश्यक नभएको पनि अभिनेत्री स्वस्तिमाको भनाई छ । उनी आफ्नो कामको मात्र चर्चा चाहने बताउँछिन् । 'फिल्म क्षेत्रमा बदनाम होस् तर गुमनाम नहोस् भन्ने सिद्धान्त छ । तर, म गुमनाम हुन्छु तर बदनाम हुने काम गर्दिनँ', उनले भनिन् । उनी आफूलाई आर्ट र कमर्शियल दुबै प्रकारका फिल्म गर्न मनपर्ने बताउँछिन् । उनले 'हजार जुनीसम्म' मा आफूले दार्जिलिङको युवतीको भूमिका निभाएको बताइन् ।

