Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(17 votes, avg 2.41/5.00)
Text size:-
+
-

‘वार’ सँग भिड्न तयार छौं : दीपकराज गिरी

मनिष अन्जान, काठमाण्डौ, 2019/08/02
समय समयमा विदेशी फिल्मका कारण नेपाली फिल्मकोे प्रदर्र्शन भद्रगोल हुने गरेको छ । यस वर्षको बैशाखमा हलिउड फिल्म 'एभेञ्जर : इन्ड गेम' र 'स्टूडेन्ट अफ दी ईयर २' का कारण मल्टीस्टारर फिल्म 'दाल भात तरकारी' र 'जात्रा जात्रै' एक हप्ता पछाडि सर्‍यो । तर, निर्माण टीमले प्राविधिक कारणले प्रदर्शन मिति सारेको बतायो । वास्तविकता भने विदेशी फिल्मको डर नै थियो । नेपाली फिल्ममेकर्सलाई विदेशी फिल्मसँग डराएको भागेको स्वीकार गर्न इगोले दिँदैन । 
 
आउँदो भाद्र १३ गते प्रदर्शनमा आउन लागेको साउथ फिल्मका सुपरस्टार प्रभास अभिनीत फिल्म 'साहो' ले फेरि एकपटक नेपाली फिल्मको रिलिज क्यालेन्डर नराम्रोसँग विगारेको छ । यसअघि यो फिल्म साउन ३० मा आउने फाइनल भएको थियो । यसकै डरले फिल्म 'हजार जुनीसम्म' एक हप्ता पछाडि सर्‍यो । तर, भिएफएक्सको काम नसकिएका कारण 'साहो' दुई हप्ता पछि सरेपछि फेरि विकासराज आचार्य निर्देशित फिल्म 'हजार जुनीसम्म' पुरानै मितिमा फर्कियो । 
 
'साहो' ले घोषणा गरेको दोस्रो डेटमा नेपाली दुई फिल्म 'कबड्डी कबड्डी कबड्डी' र 'मारुनी' प्रदर्शनमा आउने फाइनल भएको थियो । दुई फिल्मको चेपुवामा पर्ने डरले लगभग 'मारुनी' सर्ने अवस्थामा थियो । तर, सुपरहिट फिल्म 'कबड्डी' को तेस्रो सिरिज नै 'साहो' सँग डरायो र असोज ३ पुग्यो । यो मितिमा आफ्नो फिल्म 'छ माया छपक्कै' ल्याउन दीपकराज गिरीले निर्देशक हेमराज विसीको फिल्म 'घामड शेरे' सारेका थिए । तर, रातारात रिलिज डेटमा राजनीति भयो । 
 
निर्देशक विसीको फिल्म 'छ माया छपक्कै' का निर्माता रोहित अधिकारीसँग सम्बन्ध ३६ को आँकडामा छ । किनकि, फिल्म 'द ब्रेकअप' निर्माणको क्रममा दुईबीच मनमुटाव भएको थियो । आधा छायांकन हुँदासम्म यो फिल्मको निर्माता थिए रोहित । पछि उनले हात झिकेका थिए । उनीसँग पुरानो दुश्मनी फेर्न हेमराजले 'घामड शेरे' का लागि घोषणा गरेको मिति आफ्नो घनिष्ट मित्र रामबाबु गुरुङको फिल्म 'कबड्डी ३' लाई सुम्पिए । यो फिल्म असोज ३ मा आएपछि दीपकराजलाई रुनु न हाँस्नु भएको छ । 
 
 
आफूले मिलाएको मितिमा 'कबड्डी ३' आउने भएपछि अब दीपकराज 'छ माया छपक्कै' भाद्र २७ मा ल्याउने तयारीमा छन् । फिल्मीखबरसँग कुराकानी गर्दै उनले भने- ‘‘कबड्डी ३’ ले गर्दा अरु फिल्मको रिलिज क्यालेन्डर विग्रिएको छ । यो फिल्मले पूर्नविचार नगरे हामी भाद्र २७ मा आउन सक्छौं ।’’ दीपकराज यसअघि आफ्नो फिल्म असोज १० मा रिलिज ल्याउने तयारीमा थिए । तर, असोज १५ गते ऋतिक रोशन र टाइगर श्राफ स्टारर फिल्म ‘वार’ प्रदर्शनमा आउँदैछ । यो फिल्मसँग भिड्न उनलाई आँट आएको छैन । 
 
एकसेएक सुपरहिट फिल्म दिइसकेका दीपकराज गिरी प्रायः पब्लिक फोरममा नेपाली फिल्म विदेशी फिल्मसँग प्रतिस्पर्धा गर्न तयार भएको भन्दै ताली बज्ने भाषण गर्ने गरेका छन् । तर, उनी आफैं बलिउड फिल्मसँग डराएका छन् । ‘वार’ सँग भिडे आफ्नो फिल्मले पानी भन्न नपाउने डर उनमा छ । तर, हल सञ्चालकहरुले नेपाली फिल्मलाई विभेद गर्ने हुँदा जानी-जानी खुट्टामा बञ्चरो हान्न नसक्ने उनको भनाई छ । ‘यदी हलले ‘वार’ र ‘छ माया छपक्कै’ लाई बराबर सोज दिन्छ भने हामी भिड्न तयार छौं । मलाई विदेशी फिल्मसँग भिड्न डर लागेको होइन’, उनले भने । 
 
हल सञ्चालकले विदेशी फिल्मलाई आवश्यकताभन्दा पनि बढी सोज दिने तर नेपाली फिल्मलाई एक सोज दिन पनि टाउको कन्याउने हुँदा आफ्नो फिल्मका लागि राम्रो डेट खोजेको उनले बताए । ‘म विदेशी फिल्मसँग भिड्न डराएको छैन । तर, ममात्र नडराए हुँदैन । अरु निर्माताले पनि त्यो आँट गर्न सक्नु पर्छ । अरु चाहिँ विदेशी फिल्मको डरले भाग्ने अनि म चाहिँ डुबे पनि डुबोस् भनेर बस्न कहाँ सक्छु र !’, उनी केही आक्रोशित सुनिए । 
 
'कबड्डी ३' ले पुर्नविचार नगरे आफूहरु पनि भिड्ने तयार रहेको उनी बताउँछन् । ‘हामीमा विदेशी फिल्मसँग डराएर भाग्ने तर नेपाली फिल्मसँग भिड्ने नराम्रो संस्कारको विकास भइरहेको छ’, उनी भन्छन्, ‘सकभर म नेपाली फिल्मसँग किन भिड्ने भनेर बस्ने गर्छु । यदी उहाँहरु भिड्नका लागि तयार हुनुहुन्छ भने हामी पनि पछाडि हट्दैनौं । तर, 'साहो' सँग डराएर 'कबड्डी ३' असोज ३ मा आएपछि अब हामी एक हप्तापछि आउँदैनौ । किनकि, एक हप्तामा फिल्मले हल नै छाडेको हुँदैन ।’ 
 
उनले 'कबड्डी ३' भन्दा एक हप्ता अगाडि नै 'छ माया छपक्कै' प्रदर्शनमा आउन सक्ने संकेत गरे । तर, उनी अझै आफू प्रदर्शन मिति मिलाउन छलफलका लागि तयार रहेको बताउँछन् । दीपकराज समुहले निर्माण गर्ने प्रायः फिल्म दशैंको छेकोमा प्रदर्शनमा आउने गरेका छन् । तर, यस पटक दशैंभन्दा अगावै प्रदर्शनमा आउने सम्भावना बढेको छ । तर, असोज १५ मा ‘वार’ आएपनि असोज १७ का लागि तयारी अवस्थामा रहेको अशोक शर्माको 'रातो टिका निधारमा' भने नसर्ने जानकारी प्राप्त छ । 
Most Visited News (monthly)