
चौधरी ग्रुपसँग सहकार्य गरेर अभिनेत्री ऋचा शर्माले करीब ७ वर्ष अगाडि निर्माण गरेको फिल्म ‘भिसा गर्ल’ को सिक्वेल निर्माण हुन लागेको चर्चा केही दिनयता फिल्मवृतमा छ । चौधरी ग्रुपले यसको सिक्वेलको तयारी गरिरहेको खबर हालसालै बाहिरिएको थियो । तर, यसलाई अभिनेत्री ऋचाले हल्ला मात्र रहेको बताएकी छिन् ।
बुधबार फेसबुकमा स्टाटस लेख्दै उनले ‘भिसा गर्ल २’ बन्ने हल्ला कहाँबाट आयो भनेर प्रश्न गरेकी छन् । तत्काल यसको सिक्वेल बनाउने कुनै योजना नभएको र केही भएमा सिजी इन्टरटेन्मेन्टले जानकारी गराउने उनले बताएकी छन् । ‘भिसा गर्ल’ सन् २०१२ मा प्रदर्शनमा आएको थियो । फिल्मलाई प्रचण्डमान श्रेष्ठले निर्देशन गरेका थिए ।
रिलिज अगाडि यो फिल्मको चर्चा खुबै थियो । तर, हलमा भने फिल्मले सिन्को भाँचेन । फिल्ममा ऋचासँगै रिमा विश्वकर्मा, रेमनदास श्रेष्ठ, विनय श्रेष्ठ र कर्मा शाक्य प्रमुख भूमिकामा थिए । विदेश जाने धुनमा रहेका युवापुस्तालाई केन्द्रित गरेर यो फिल्म निर्माण गरिएको थियो । ‘भिसा गर्ल’ पछि चौधरी ग्रुपले फिल्म बनाएको छैन ।
गत वर्षदेखि चौधरी ग्रुप एक फिल्म निर्माणको तयारीमा कस्सिएको छ । बसन्त चौधरीका छोरा निर्वाणले एक फिल्मका लागि गत वर्ष अभिनेता प्रदीप खड्का र निर्देशक प्रदीप भट्टराईसँग भेट गरेका थिए । सम्भवतः यस वर्ष चौधरी ग्रुपले फिल्म घोषणा गर्न सक्नेछ । त्यो फिल्म ‘भिसा गर्ल २’ हुनेछ वा अर्को ? यसका लागि भने प्रतिक्षा गर्नैपर्ने हुन्छ ।

