Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

दीपकराजको दाबीः ‘मेगास्टारले भन्दा चार गुना बढी ट्याक्स तिरेको छु’

फिल्मीखबर, काठमाण्डौ, 2019/07/30
बेला बखतमा नेपाली कलाकारको पारिश्रमिकको मुद्धा निकै चर्चामा आउने गरेको छ । अहिले केही सीमित चलेका कलाकारले १०/१५ लाखको कुरै गर्न छाडिसके । अभिनेता द्वय अनमोल केसी र प्रदीप खड्का ५० लाखको कुरा गर्छन् । अभिनेत्री साम्राज्ञी आरएल शाह १६ लाखभन्दा तल झरेर कुरै गर्दिनन् । अर्की अभिनेत्री पूजा शर्मा २० लाखभन्दा माथिको कुरा गर्न थालेकी छन् । बजारमा चलेको कलाकारको पारिश्रमिक सुन्दा यस्तो लाग्छ, नेपाली फिल्मले ५० करोडभन्दा माथिको व्यापार गर्न थालिसकेको छ । 
 
 
वर्षेनी सयको आसपासमा फिल्म निर्माण हुने गरेका छन् । तर, मुश्किलले २ देखि ३ फिल्मले मात्र लगानी उठाएर निर्मातालाई मुनाफा दिन्छन् । आधा दर्जन फिल्मले जेनतेन लगानी उठाउँछन् । बाँकी फिल्मले पोस्टरको समेत पैसा उठाउन सक्दैनन् । बजारले स्टार मानेका कलाकारका फिल्मले समेत लगानी उठाउन नसकेका उदाहरण छन् । तर, फिल्म असफल भए पनि कलाकारको पारिश्रमिक घटेको छैन, झन् बढेको छ । कलाकार धनी र निर्माता कंगाल भइरहेका छन् । 
 
नेपाली फिल्मको बजार फराकिलो हुन नसक्नु तर कलाकारको पारिश्रमिक दिन-प्रतिदिन बढ्दै जाँदा अहिले विभिन्न फिल्मकर्मीले कलाकारको पारिश्रमिकको विषयमा खुलेरै विरोध गर्न थालिरहेका छन् । यसले फिल्म निर्माण निकै महँगो हुँदै गएको कतिपयको विश्लेषण छ । गएको शुक्रबार फिल्म 'हजार जुनीसम्म' को कार्यक्रममा अभिनेत्री स्वस्तिमा खड्काले कुनै कलाकारले २० लाख पारिश्रमिक लिन्छ भने ५० लाखको दर्शक तान्न सक्नु पर्ने तर्क राखेपछि धेरैले उनको समर्थन र विरोध गरे । 
 
पारिश्रमिक सार्वजनिक गर्ने तर ट्याक्स तिरेको घोषणा नगर्ने कलाकारप्रति लक्षित गर्दै हास्यकलाकार दीपकराज गिरीले पनि नेपालमा कलाकारको पारिश्रमिक र विदेशमा कलाकारले तिरेको ट्याक्सको समाचार बन्ने भन्दै स्टाटस लेखे । तर, उनलाई आफ्नै स्टाटस निल्नु न ओकल्नु भएको छ । दर्शक र मिडियाले उनलाई नै प्रश्न गरेका छन्, ‘तपाईंले चाहिँ कति ट्याक्स तिर्नुभयो ?’ आफूले कर तिरेको घोषणा गरेर अरु कलाकारलाई सुझाव दिन भन्दै एक पत्रिकाले समाचार प्रकाशन गरेपछि दीपकले यसको कडा जवाफ फर्काएका छन् । 
 
 
उनले प्रश्नका लागि धन्यवाद भन्दै मेगास्टार र सुपरस्टारले तिरेको करको बारेमा लेख्न पत्रिकालाई चेतावनी दिए । 'छ माया छपक्कै' को छायांकनमा व्यस्त उनले यति लाख र उति लाग्छ लिन्छ भनेका कलाकारले तिरेको ट्याक्सभन्दा आफूले तीन/चार गुना बढी नै भ्याट र ट्याक्स तिरेको र त्यसको चाँडै घोषणा समेत गर्ने बताएका छन् । आफूले सामाजिक काममा पनि सहयोग गरेको उनको भनाई छ । आशा गरौं, उनले सरकारलाई तिरेको भ्याट र ट्याक्स घोषणा गर्ने वचन चाँडै पूरा गर्नेछन् । 
Most Visited News (monthly)