रामबाबु गुरुङ निर्देशित मल्टीस्टारर फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ को प्रदर्शन मिति सारिएको छ । भाद्र १३ गते आउने निश्चित भएको यो फिल्म अब हेमराज विसी निर्देशित फिल्म 'घामड शेरे' ले छाडेको मिति असोज ३ गतेबाट प्रदर्शनमा आउने भएको छ । प्राविधिक कारणले फिल्मको प्रदर्शन मिति सारिएको निर्माण टिमले बताएको छ । तर, फिल्मको रिलिज सर्नुको कारण साउथ स्टार प्रभासको फिल्म ‘साहो’ मानिएको छ ।
‘कबड्डी कबड्डी कबड्डी’ को रिलिज डेट पोस्टपोन्ड भएसँगै भाद्र १३ गते नवल नेपाल निर्देशित तथा अभिनेत्री साम्राज्ञी आरएल शाह र अभिनेता पुष्प खड्का स्टारर फिल्म 'मारुनी' ले एकल प्रदर्शनको अवसर पाएको छ । ‘साहो’ र ‘कबड्डी कबड्डी कबड्डी’ को चेपुवामा पर्ने डरले 'मारुनी' को प्रदर्शन मिति पोस्टपोन्ड हुने चर्चा फिल्मवृतमा थियो । तर, साउथ फिल्मको डरले सुपरहिट फिल्मको सिरिज नै छेउ लागेको छ ।

स्वजातिय विवाह र अन्तर्जातिय प्रेम सम्बन्धको अन्तरद्वन्द्वको कथामा आधारित भएर बनेको फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ मा अभिनेता दयाहाङ राई प्रमुख भूमिकामा छन् । उनको अपोजिटमा अभिनेत्री उपासना सिंह ठकुरी छिन् । यसको कथा निर्देशक निर्देशक गुरुङ र उपेन्द्र सुब्बाले तयार पारेका हुन् । यो फिल्मको टीजर र पहिलो गीत 'दुबो फूल्यो' सार्वजनिक भइसकेको छ । दुबैलाई इन्टरनेटमा दर्शकले रुचाएका छन् ।
बासुरी फिल्मस्को निर्माण, सिनेमा आर्टको प्रस्तुति, माउण्टेन स्टोरिज र नौमती इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण भएको फिल्मलाई शैलेन्द्र डि. कार्कीले खिचेका हुन् । फिल्ममा कर्मा, रिश्मा गुरुङ, माओत्से गुरुङ, पुस्कर गुरुङ, कविता आले, विल्सन विक्रम राई, लुनिभा तुलाधर, बुद्धि तामाङ, कमलमणी नेपाल, अरुणा कार्कीलगायतका कलाकारहरुको पनि अभिनय छ । यसको सम्पादन निमेश श्रेष्ठले गरिरहेका छन् ।

