.jpg)
कुनै समय नेपाली फिल्ममा एकछत्र राज गरेका अभिनेता दीलिप रायमाझीकी छोरी दिव्याले आफ्नो पिताको बिँडो थाम्न लागेको चर्चाले केही दिनयता फिल्मवृत राम्रै तातेको छ । हास्यकलाकार शिवहरी पौडेलले फिचर फिल्म निर्देशनमा हात हाल्न लागेको ‘लक्का जवान’ बाट उनलाई डेब्यू गराउने तयारी चलेको थियो । तर, अध्ययनका कारण दिव्याले तत्काल फिल्म नगर्ने भएकी छन् ।
दीलिप रायमाझी र किरण केसी सह-निर्माता रहेको फिल्ममा दिव्यालाई लिन आफूले पहल गरेता पनि अध्ययन पूरा नभएका कारण सम्भव नभएको शिवहरीले बताएका छन् । उनी भन्छन्, 'हो, हामीले दिव्यालाई फिल्ममा डेब्यू गराउन खोजेका थियौं । तर, उनको अध्ययन पूरा हुन अझै एक वर्ष लाग्ने रहेछ । अध्ययनका कारण समय निकाल्न नसक्ने भएपछि उनले फिल्म नगर्ने पक्का भइसकेको छ ।'
दिव्या केही वर्षयता अमेरिकामा अध्ययन गर्दै आइरहेकी छन् । फिल्ममा डेब्यू नगर्दै उनको सुन्दरताको फिल्म क्षेत्रमा चर्चा सुरु भएको छ । उनका क्यूट तश्विरहरु अहिले सामाजिक सञ्जालमा निकै छाएका छन् । उनलाई फिल्ममा ल्याउन फिल्मकर्मीले दीलिपलाई पनि आग्रह गरिरहेका छन् । दिव्या पनि फिल्ममा काम गर्न इच्छुक रहेको बताइएको छ । तर, तत्कालका लागि अध्ययन बाधक बनेको छ ।
‘लक्का जवान’ मा दीलिप स्वयंको प्रमुख भूमिका रहनेछ । फिल्ममा अभिनेत्री प्रियंका कार्की अनुबन्ध भइसकेकी छन् । शिवहरीका अनुसार, फिल्मका लागि अझै एक नायक र एक नायिकाको आवश्यकता छ । आमा बंगालमुखी फिल्म प्रोडक्सन प्रा.लि.को ब्यानरमा निर्माण हुने फिल्ममा ध्रुव पन्त र अनुसुया श्रेष्ठ पन्तको लगानी रहनेछ । फिल्म कमेडी प्रधान हुने बताइएको छ ।

