.jpg)
नेपालमा हरर फिल्मको क्रेज खासै छैन । हलिउड र बलिउडका हरर फिल्मले नेपालमा राम्रो व्यापार गरे पनि नेपाली हरर फिल्मले भने गतिलो व्यापार गर्न सकेको रेकर्ड छैन । अधिकांश हरर जनरामा बनेका नेपाली फिल्मले पोस्टरको पैसा समेत उठाउन सकेका छैनन् । यद्यपि, वर्षमा एक/दुईवटा फिल्म भने बनिरहेका छन् । गत वर्ष फिल्म ‘सुनकेशरी’ प्रदर्शनमा आएको थियो । यस वर्षका लागि पहिलो हरर फिल्म ‘घर’ हलमा प्रदर्शनरत छ ।
नेपाली हरर फिल्मले राम्रो व्यापार गर्न नसकिरहेको अवस्थामा यो फिल्मले भने प्रदर्शनको दोश्रो साताको शनिबारसम्म एक करोडको व्यापार गरेको निर्मात्री शर्मिला पाण्डेले जानकारी दिएकी छन् । उनले व्यापारिक सफलता यसअघिका फिल्मबाट चाख्न पाएकी थिइनन् । तर, यसपटक कम बजेटमा बनेको हरर फिल्मबाट उनले नाफा कमाउने देखिएको छ । फिल्मको व्यापार सिंगलभन्दा मल्टीप्लेक्स स्क्रिनमा राम्रो छ ।
दोश्रो साताको शनिबार पनि काठमाण्डौका अधिकांश मल्टीप्लेक्समा फिल्म हेर्न दर्शकको चाप देखिएको वितरक करण श्रेष्ठले जानकारी दिएका छन् । यो फिल्ममा निर्देशक अर्पण थापासँगै बेनिशा हमाल, सुरक्षा पन्तको मुख्य भूमिका छ । निर्मात्री पाण्डे हरर फिल्ममा पनि दर्शक भएको अनुभुती आफूले गरेको बताइन् । अहिले उनी नयाँ चलचित्र ‘आमा’ निर्माण गरिरहेकी छिन् । डीएस डिजिटलले यो फिल्म निर्माण गरेको हो ।
‘घर’ ६० लाखमा निर्माण भएको हो । यो फिल्मको ३५ लाखमा डिजिटल राइट्स बिक्री भइसकेको छ । हलबाट २५ लाख उठेको खण्डमा निर्माताको लगानी सुरक्षित हुनेछ । निर्मात्री पाण्डे फिल्मको लगानी हलबाटै उठेको खण्डमा सिक्वेल निर्माण गर्ने तयारीमा छिन् । फिल्मको अन्तिममा पनि ‘टु वि कन्टिन्यू’ भनेर लेखिएको छ । दर्शकबाट मिश्रित प्रतिक्रिया पाएको फिल्मको सिक्वेल भने बन्छ वा बन्दैन त्यसका लागि प्रतिक्षा गर्नैपर्ने हुन्छ ।

