Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

तेस्रो हप्तामा कस्तो चल्दैछ ‘सानो मन’ ?

फिल्मीखबर, काठमाण्डौ, 2019/07/28
गएको असार २७ गतेबाट देशव्यापी प्रदर्शनमा आएको अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री शिल्पा मास्के स्टारर फिल्म ‘सानो मन’ ले शुक्रबारबाट तेस्रो हप्तामा प्रदर्शन थालेको छ । पहिलो र दोस्रो हप्ता फिल्मले बक्सअफिसमा औसत व्यापार गरे पनि दर्शक प्रतिक्रिया लोभलाग्दो रहेको निर्माण टीमले बताएको छ । तेस्रो हप्तामा पनि यो फिल्म केही सिंगल र मल्टीप्लेक्स स्क्रिनमा प्रदर्शनरत छ । 
 
‘सानो मन’ बाट निर्देशनमा डेब्यू गरेका निर्देशक सुयोग गुरुङले दर्शकले फिल्म निकै रुचाएको बताए । उनी भन्छन्, ‘दर्शकको सन्तुष्टि नै हाम्रो सफलता हो । दर्शकहरु फिल्म हेरेपछि खुसी भएर घर फर्किनु भएको छ । योभन्दा ठूलो सफलता हाम्रो लागि अरु हुनै सक्दैन । हामीले दर्शकको स्वादलाई बुझेर फिल्म बनाएका थियौं, जसमा हामी सफल भएका छौं ।’ उनले फिल्मको व्यापार पनि राम्रो रहेको बताए । 
 
 
यो फिल्मबाट निर्देशनमा सुयोगले राम्रो सम्भावना देखाएका छन् । भोलीका दिनमा उनीबाट अझ सशक्त फिल्मको अपेक्षा राख्न सकिन्छ । अभिनेता आयुष्मान फिल्मका मेरुदण्ड हुन् । उनको अभिनय उम्दा छ । शिल्पाले पनि आफ्नो तर्फबाट उत्कृष्ट काम पस्किन चुकेकी छैनन् । सक्षम सुवेदी, गौरी मल्ल, विशाल पहारी, शिशिर वाङदेल, रश्मी भट्टलगायतका कलाकारहरुको अभिनय पनि राम्रो छ । आलोक शुक्लाको उम्दा छायांकनले फिल्ममा प्राण भरेको छ । 
 
राजधानीको गोपीकृष्ण मुभिज, गुण सिनेमा, बाराहीसँगै मोफसलका केही सिंगल थिएटरमा अझै प्रदर्शनरत यो फिल्म मल्टीप्लेक्सतर्फ क्यूएफएक्स च्यानलको सिभिल मलमा एक शोमा चलिरहेको छ । फिल्मलाई उपलब्ध सोजमा दर्शक अकुपेन्सी सन्तोषजनक रहेको निर्माता राजेन्द्र मानन्धरले जानकारी दिए । यस फिल्ममा युवाहरुको मनोविज्ञानलाई यथार्थपरक शैलीमा प्रस्तुत गरिएको छ । आयुष्मान र शिल्पाको प्रेमले दर्शकलाई अपनत्व महसुस गराउँछ ।
 
यो फिल्मलाई सुयोग गुरुङ र मिलन श्रेष्ठले सम्पादन गरेका हुन् । यसमा समिर सुनुवार र निर्देशक गुरुङको संयुक्त लेखन रहेको छ । ओ.पि.जी फिल्मस्, ए प्लस इन्टरटेन्मेन्ट र हाई टेक इन्टरटेन्मेन्टले संयुक्त लगानी गरेको यो फिल्मका निर्माताहरू योगेश गुरुङ, राजीव श्रेष्ठ, रमेश के. मित्तल र राजेन्द्र मानन्धर हुन् । रित बोहरा मुख्य सहायक निर्देशक हुन् भने प्रोडक्सन म्याजेनर यम प्रसाद ओली हुन् । आयुष्मान र शिल्पा पनि फिल्मलाई मिलेको प्रतिक्रियाले खुसी छन् । 
Most Visited News (monthly)