एक समय नेपाली फिल्ममा आफ्नो बलियो साम्राज्य खडा गरेकी अभिनेत्री रेखा थापाको क्रेज र स्टारडम विस्तारै डामाडोल हुन थाल्नु र अभिनेत्री प्रियंका कार्कीको फिल्ममा उदय हुनु लगभग एउटै समय परेको थियो । फिल्ममा प्रवेश गरेको छोटो समयमा नै लोभलाग्दो सफलता हात पारेकी प्रियंकालाई केही वर्ष अगाडिसम्म रेखाको नाममा रहेको ‘नम्बर वान अभिनेत्री’ को उपाधि आफ्नो बनाउन सक्ने ल्याकत भएको अभिनेत्रीको रुपमा हेरिएको थियो । तर, यो उनका लागि आकाशको फलझैँ भयो ।
संख्यात्मक अभिनयमा जोड दिँदा प्रियंकाको क्रेज र स्टारडम केही वर्षमै लथालिङ्ग भयो । उनले सोलो नायिकाको रुपमा काम गरेका कुनै फिल्म आजसम्म सफल छैनन् । हुलमुलका फिल्मले जेनतेन जोगाएका छन् । प्रमुख भूमिका हुँदै केमियोमा सीमित हुँदै गएकी उनलाई अहिले फिल्मको अफर निकै न्यून आउने गरेका छन् । बरु, म्यूजिक भिडियोमा उनको डिमान्ड राम्रो छ । खस्किँदो क्रेजका कारण उनलाई फिल्ममा लिन हत्तपत्त निर्माता/निर्देशक तयार हुन चाहेको देखिँदैन ।
अचेल प्रियंकालाई निर्माता/निर्देशकले फिल्मको पोस्टर र ट्रेलरमा समेत अटाउन छाडेका छन्, चाहे फिल्ममा उनको प्रमुख भूमिका नै किन नहोस् । उनलाई प्रचार सामाग्रीमा देखाए दर्शक भड्किने डर फिल्मकर्मीमा देखिन थालेको छ । यसको गतिलो प्रमाण हो, फिल्म ‘हजार जुनीसम्म’ । यो फिल्ममा उनको महत्त्वपूर्ण भूमिका छ । उनी अभिनेता आर्यन सिग्देलको अपोजिटमा छिन् । तर, निर्माण टिमले फिल्मको न पोस्टर न त ट्रेलरमा नै उनलाई स्थान दियो ।
 (4)(3)(1).jpg)
शुक्रबार फिल्मको ट्रेलर सार्वजनिक कार्यक्रममा समेत प्रियंका देखिइनन् । फिल्मको पोस्टरमा प्रियंकालाई अटाए फिल्म हो वा म्यूजिक भिडियो भन्नेमा दर्शक कन्फ्युज हुने भएका कारण निर्माण टिमले उनलाई स्थान नदिएको चर्चा फिल्मवृतमा छ । तर, ट्रेलरमा चाहिँ किन स्थान दिइएन ? सबैमा चासो छ । ट्रेलर सार्वजनिक कार्यक्रममा लेखक सामिप्यराज तिमल्सिनाले फिल्मको सस्पेन्स कायम गर्न प्रियंकालाई पोस्टर र ट्रेलरमा नअटाएको बताए ।
कानमा समस्या भएपछि कार्यक्रममा उपस्थित नभएका निर्देशक विकासराज आचार्यको बोली बोल्दै लेखक तिमल्सिनाले भने- 'प्रियंकालाई लुकाउनु हाम्रो स्टाटेजी पनि हो । खासमा हामीले सस्पेन्स बनाउन खोजेका हौं । फिल्म हेरेपछि उहाँलाई लुकाउनुको कारण खुल्नेछ ।' उनले प्रियंकाको क्रेज खस्किएका कारण फिल्मको पोस्टर र ट्रेलरमा लुकाएको आरोपको भने खण्डन गरे ।
‘हामीले फिल्ममा लिएका सबै कलाकार हाम्रो लागि बेस्ट हुनुहुन्छ । हामीले कुनै पनि कलाकारलाई स्टारडमको आधारमा ट्रिट गर्दैनौं । प्रियंका जीलाई पनि हामीले त्यो आधारमा ट्रिट गरेका होइनौं । हाम्रो कन्टेन्टमा केही लुकाउनु पर्ने छ । त्यही भएर उहाँलाई लुकाइएको हो’, उनले स्पष्ट पारे । साउन ३० मा रिलिज हुने फिल्म ‘हजार जुनीसम्म’ मा आर्यन र प्रियंकासँगै स्वस्तिमा खड्का, सञ्चिता लुईंटेल, अनुभव रेग्मी, सलोन बस्नेतललगायतका कलाकारहरुको अभिनय छ ।

