Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(25 votes, avg 5.00/5.00)
Text size:-
+
-

कलाकारले आफ्नो दुनो मात्र सोझ्याउने कि निर्माता पनि बचाउने ?

फिल्मीखबर, काठमाण्डौ, 2019/07/28
हायकलाकार दीपकराज गिरीले शनिबार साँझ आफ्नो ३ लाख ४२ हजार फलोअर्स रहेको फेसबुकमा नेपाली कलाकारले बुझ्ने चर्को पारिश्रमिकमाथि व्यंग्य गर्दै स्टाटस लेखे, ‘हाम्रो देशमा कुन कलाकारले बढी पारिश्रमिक लियो त्यो न्यूज हुन्छ । विदेशतिर यो वर्ष कुन कलाकारले बढी ट्याक्स तिर्यो त्यो न्यूज हुन्छ । “फरक” ?’ उनको भनाईमा वजन छ । सम्भवतः नेपाल त्यस्तो देश हो, जहाँ कलाकारको अभिनयको कम पारिश्रमिकको बढी चर्चा हुन्छ । 
 
हलिउड र बलिउडतिर कलाकारको पारिश्रमिकको चर्चा हुँदै नहुने भने चाहिँ होइनन् । केही दिन अगाडि बलिउड अभिनेता शाहदि कपूरले एक तेलूगु फिल्मको हिन्दी रिमेकका लागि ४० करोड मागेको खबरले ठूलै तरंग मच्चाएको थियो । तर, विदेशमा कलाकारले पारिश्रमिकलाई पहिलो प्राथमिकतामा राख्दैनन् । न त मिडियाले नै यसलाई विशेष महत्त्व दिने गर्छ । तर, नेपाली कलाकारमा भने पारिश्रमिक कसले बढी बुझ्ने भन्नेमा प्रतिस्पर्धा नै चल्ने गरेको छ । 
 
अहिले चलेका अभिनेताले ५० लाख र अभिनेत्रीले २० लाख बुझ्ने गरेको चर्चा बजारमा छ । यसले फिल्म निर्माण महँगो हुँँदै गएको र फिल्म निर्माणमा विस्तारै कमी आएको कतिपयको विश्लेषण छ । नेपाली फिल्मको बजार फराकिलो हुन नसक्नु तर कलाकारको पारिश्रमिक दिन-प्रतिदिन बढ्नुले प्रायः पुराना फिल्ममेकर त पलायान नै भइसके । केही वर्ष अगाडिसम्म ५० लाखमा फिल्म बनेर हलमा नै पुग्थ्यो । अहिले फिल्म हल पुग्दा डेढ करोडको बजेट छुन्छ । ६० देखि ८० लाखसम्म त कलाकारको पारिश्रमिक नै छुट्याउनु पर्ने अवस्था छ । 
 
कलाकारको पारिश्रमिक बढ्नु नराम्रो कुरा होइन । कलाकारको जीवनस्तर उकालो लाग्नु फिल्म क्षेत्रकै लागि पनि खुसीको कुरा हो । तर, बजारमा आफ्नो माग कति छ भन्ने मुल्यांकन गर्न पनि कलाकारले आवश्यक छ । कुनै कलाकारले ५० लाख पारिश्रमिक बुझ्छ भने उसले हलमा १ करोडको दर्शक तान्न सक्नुपर्छ । २० लाख बुझेको खण्डमा ५० देखि ६० लाख निर्मातालाई फिर्ता गर्ने ग्यारेन्टी कलाकारले पनि दिन सक्नुपर्छ । नभए, आफ्नो बजार बुझेर पारिश्रमिक माग गर्नुपर्छ । 
 
 
नेपाली कलाकारले आधा करोडसम्म पारिश्रमिक माग गर्न थालेपछि विभिन्न फिल्मकर्मीले यसको खुलेरै विरोध गरिरहेका छन् । कतिपयले केही लाख पारिश्रमिक लिएर बाँकी मुनाफा काम गर्न पनि महँगा भनिएका कलाकारलाई सुझाब दिइरहेका छन् । तर, दीपकराज गिरी र दीपाश्री निरौलाको समुहझैँ मुनाफामा काम गर्न कोही कलाकार तयार छैनन् । किनकि, फिल्म फ्लप भयो भने खल्तीमा सुक्को पर्दैन । त्यसैले नेपाली कलाकारबीच महँगो पािरश्रमिक बुझेर आफूलाई सबैभन्दा ठूलो ‘स्टार’ प्रमाणित गर्न तछाडमछाड नै चल्ने गरेको छ । 
 
अभिनेता अनमोल केसीले फिल्म ‘कृ’ मा २० लाख पारिश्रमिक बुझ्दा फिल्मवृतमा ठूलै कम्पन ल्याएको थियो । किनकि, यसअघि यति महँगो पारिश्रमिक नेपालका कुनै अभिनेताले बुझेका थिएनन् । अनमोलभन्दा २ लाख बढी बुझेर अभिनेता प्रदीप खड्काले फिल्म ‘लिलिबिली’ साइन गरे । दुईबीच केही वर्षयता पारिश्रमिकको मामलामा गजबकै प्रतिस्पर्धा चल्दै आएको छ । बजारको चर्चालाई सत्य मान्ने हो भने अहिले दुईले एक फिल्मका लागि ४० देखि ५० लाखसम्म पारिश्रमिक माग्छन् ।
 
केही वर्ष अगाडिसम्म एक वा दुई लाखभन्दा बढी पारिश्रमिक नपाउने अभिनेत्रीहरु पनि अहिले अभिनेतासरह पारिश्रमिक माग्न र बुझ्न थालेका छन् । पूजा शर्मा, नम्रता श्रेष्ठ र साम्राज्ञी आरएल शाह नेपालका सबैभन्दा महँगा अभिनेत्रीमा मानिन्छन् । पूजाले २० लाख, नम्रता र साम्राज्ञीले १६ लाख पारिश्रमिक बुझ्ने गरेको चर्चा छ । यद्यपि, यसलाई सत्य मान्ने कुनै आधार छैन । नम्रता आफ्नो पारिश्रमिक सकभर गोप्य नै राख्छिन् । पूजा र साम्राज्ञी भने पारिश्रमिकको चर्चालाई नै आफ्नो सफलता मान्छन्/बुझ्छन् । 
 
कलाकारले महँगो पारिश्रमिक बुझ्दा निर्माताहरु टाँट पल्टिँदै गएको अवस्था छ । दशक अगाडि लगातार फिल्म बनाउने निर्माताहरु अहिले कलाकारको पारिश्रमिक सुनेर फिल्म बनाउनै छाडिसकेका छन् । चलेका कलाकार लिएर फिल्म बनाए छिट्टै नाम र दाम कमाउने लोभले भित्रने नयाँ निर्माताहरु भने दिन-प्रतिदिन कंगाल हुँदै फिल्म क्षेत्रलाई सराप्दै पलायन भइरहेका छन् । यसले नेपाली फिल्म क्षेत्रको छवि नराम्रोसँग विग्रिएको छ । 
 
वर्षमा एक सयको आसपासमा फिल्म रिलिज हुन्छन् । तर, मुश्किलले आधा दर्जन बढीले लगानी उठाउँछन् । बाँकी फिल्मले पोस्टरको पैसा समेत उठाउँदैन । गत वर्ष ६ महिना कुनै फिल्म नचल्दा फिल्म क्षेत्रलाई संकटकाल घोषणा गर्ने तयारी चलेको थियो । यस वर्षको साउन पहिलो हप्तासम्म पनि दुई फिल्म 'दाल भात तरकारी' र 'जात्रै जात्रा' ले मात्र लगानी उठाए । बाँकी फिल्मको अवस्था टिठलाग्दो छ । यसले फिल्ममा लगानी गर्न चाहने पुराना तथा नयाँ निर्मातालाई तर्साएको छ । 
 
यो अवस्थामा कलाकारले आफ्नो दुनो सोझ्याउन लाग्नुभन्दा निर्माता बचाउन लाग्नु पर्ने देखिन्छ । निर्माता बचे कलाकार बच्ने हुन् । किनकि, लगानी गर्ने निर्माता भएनन् भने फिल्म बन्दैन । कलाकारको पारिश्रमिक समेत उठाउन नसकेर निर्माताहरु कंगाल हुँदै जाने हो भने एकदिन निखिल उप्रेती र आर्यन सिग्देलले एक दशक अगाडि बुझ्ने गरेको दुई/तीन लाख पारिश्रमिकमा नेपाली कलाकार खुम्चिनु पर्ने अवस्था नआउला भन्न सकिन्न । फिल्म क्षेत्रलाई अझ मजबुत बनाउन पनि कलाकारले निर्माता बचाउन आवश्यक छ । 
Most Visited News (monthly)