Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘सेन्टी-भाइरस’ बाट ‘छल-कपट’ बन्यो ‘धुर्मुस-सुन्तली’ को फिल्म

फिल्मीखबर, काठमाण्डौ, 2019/07/27
 
दीपकराज गिरी र दीपाश्री निरौला समुहले निर्माण गरेको फिल्म ‘६ एकान ६’ र ‘वडा नम्बर ६’ मा निर्माताको रुपमा रहेका सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ अब आफैं फिल्म निर्माणमा होमिँदैछन् । लामो समयदेखि दुईले फिल्म निर्माण गर्ने चर्चा चलेता पनि अब भने चाँडै छायांकन सुरु हुने भएको छ । ‘धुर्मुस-सुन्तली’ ले भरतपुरमा क्रिकेट रंगशाला र फिल्म निर्माणलाई सँगै लैजान लागेका हुन् । 
 
स्क्रिप्टमा काम भइरहँदा फिल्मको नाम ‘एन्टी-भाइरस’ जुराइएको थियो । तर, पछि ज्योतिषले ‘एस’ बाट नाम जुराउन सल्लाह दिएपछि ‘धुर्मुस-सुन्तली’ ले फिल्मको नाम ‘सेन्टी–भाइरस’ बनाए । अब फेरि फिल्मको नाम परिवर्तन भएको छ । दीपक-दीपालाई फापेको ‘छ’ नामबाटै फिल्मको नामाकरण गरिएको छ । ‘कबड्डी’ सिरिजका निर्देशक रामबाबु गुरुङले निर्देशन गर्ने फाइनल भएको फिल्मको नाम ‘छल-कपट’ राखिएको छ । 
 
भाद्र १३ मा रामबाबु निर्देशित फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ रिलिज हुँदैछ । यो फिल्म प्रदर्शनमा आएपछि ‘छल-कपट’ को छायांकन सुरु हुने बताइएको छ । फिल्ममा ‘धुर्मुस-सुन्तली’ कै प्रमुख भूमिका रहने निश्चित भइसकेको छ । कमेडी जनरामा निर्माण हुने फिल्ममा अभिनेता दयाहाङ राईको पनि अभिनय रहनेछ । तर, फिल्ममा उनको केमियो मात्र हुने निर्देशक रामबाबुले बताएका छन् । 
 
यसअघि रामबाबुले निर्देशन गरेका फिल्ममा दयाहाङले केमियो भूमिकामा काम गरेका छैनन् । उनी नै सेन्ट्रल क्यारेक्टरमा हुने गरेका छन् । यसकारण ‘धुर्मुस-सुन्तली’ को फिल्ममा पनि उनको प्रमुख भूमिका हुने स्रोत बताउँछ । फिल्ममा उनलाई प्रमुख भूमिकामा भित्राउन रामबाबुले स्क्रिप्टमा गतिलै कसरत गरिरहेको जानकारी प्राप्त छ । ‘छल-कपट’ का लागि अन्य कलाकार र प्राविधिक लाइनअप पूरा हुन बाँकी छ ।
Most Visited News (monthly)