नेपालमा कलाकारको अभिनयको भन्दा पारिश्रमिकको बढी चर्चा हुने गरेको छ । पारिश्रमिक धेरै बुझ्नेलाई नेपाली फिल्मको सबैभन्दा ठूलो 'स्टार' मान्ने संस्कारको विकास भइरहेको अवस्थामा अभिनय टिठलाग्दो भए पनि पारिश्रमिक बढी डिमान्ड गरेर वा लिएर आफूलाई सबैभन्दा अगाडि देखाउन नेपाली कलाकारबीच गजबकै तछाडमछाड चल्ने गरेको छ । बजारको चर्चालाई सत्य मान्ने हो भने अहिले चलेका अभिनेताको पारिश्रमिक ५० लाख र अभिनेत्रीको २० लाख छ ।
अभिनेता अनमोल केसी र प्रदीप खड्काले ४०/५० लाखमा फिल्म गरिरहेको चर्चा बजारमा छ । तर, यसलाई सत्य मान्ने कुनै आधार छैन । आजसम्म दुईले एग्रिमेन्ट पेपर सार्वजनिक गरेका छैनन् । बोलीमै विश्वास गर्नुपर्ने अवस्था छ । केही समययता नेपाली फिल्मका केही चलेका अभिनेत्रीको पारिश्रमिकको चर्चाले पनि फिल्मवृत राम्रै तताउने गरेको छ । गत वर्ष अभिनेत्री नम्रता श्रेष्ठले फिल्म 'प्रसाद' मा १५ लाखमाथि बुझेको खबरले ठूलै हलचल मच्चाएको थियो ।
उनीपछि महँगो पारिश्रमिक बुझ्ने अभिनेत्री बनिन्, साम्राज्ञी आरएल शाह । फिल्म 'कायरा' मा उनले १० लाख लिएकी थिइन् भने 'मारुनी' मा १५ लाख र 'रातो टिका निधारमा' मा १६ लाख पारिश्रमिक बुझिन् । यो मामलामा नम्रता र साम्राज्ञीभन्दा अगाडि निस्किएकी छन्, अभिनेत्री पूजा शर्मा । फिल्म 'सम्हालिन्छ कहिले मन' मा १६ लाख बुझेकी उनले 'पोइ पर्यो काले' २० लाखमा साइन गरिन् । हालै उनले एक नयाँ फिल्ममा पनि २० लाख बुझेको चर्चा बजारमा छ ।
'सम्हालिन्छ कहिले मन' मा अनुबन्ध हुँदा उनले आफूले बुझेको पारिश्रमिक कसैले विश्वास नगर्लान् भनेर एग्रिमेन्ट पेपर नै सार्वजनिक गरेकी थिइन् । त्यसपछि उनले एग्रिमेन्ट पेपर लुकाएकी छन् । अभिनयको भन्दा पारिश्रमिकको चर्चामा बढी रमाउन चाहने पूजाले २० लाख पारिश्रमिक बुझेपछि ५० देखि ६० लाखको व्यापार गरेर निर्मातालाई दिनु पर्ने हुन्छ । के यो तागत उनमा छ ? यो प्रश्न पूजाले आफैंलाई सोध्न आवश्यक छ । हुन त, दिनेले दिन्छ भने दिनेको के दोष ?
 (4).jpg)
नेपालमा अभिनेता अनमोल केसीलाई छाड्ने हो भने कुनै कलाकारले आफूले बुझेको पारिश्रमिक हलबाट उठाएर निर्मातालाई दिन सकेका छैनन् । प्रायः निर्माताहरु फिल्मको लगानी त टाढाको कुरा कलाकारलाई तिरेको पारिश्रमिक समेत उठाउन नसकेर छटपटिने गरेका छन् । नेपाली कलाकारबीच पारिश्रमिकमा चलेको अस्वस्थ प्रतिस्पर्धाले फिल्म क्षेत्रलाई पछाडि धकल्दै लगेको कतिपयको विश्लेषण छ । कलाकारको पारिश्रमिककै कारण फिल्म निर्माण महँगो हुँदै गएको छ भने पुराना फिल्ममेकरले फिल्म निर्माण गर्नै छाडिसके ।
नेपाली कलाकारबीच पारिश्रमिकलाई लिएर भइरहेको अस्वस्थ प्रतिस्पर्धालाई नजिकबाट निहालिरहेकी अभिनेत्री स्वस्तिमा खड्काले आफ्नो लागि पारिश्रमिक दोस्रो प्राथमिकतामा पर्ने बताएकी छन् । शुक्रबार आफू अभिनीत फिल्म 'हजार जुनीसम्म' को ट्रेलर सार्वजनिक कार्यक्रममा उनलाई पत्रकारले प्रश्न गरे- 'तपाईंलाई क्यारेक्टर महत्त्वपूर्ण कि पारिश्रमिक ?' उनले जवाफमा भनिन्, 'मेरो लागि क्यारेक्टर र टिम महत्त्वपूर्ण हुन्छ । पारिश्रमिक दोस्रो प्राथमिकतामा पर्छ ।'
कलाकारको पारिश्रमिक सार्वजनिक गर्नु कति जायज ? भन्ने पत्रकारको अर्को प्रश्नमा उनले भनिन्, 'लिनु हुन्छ भने जायज हो र दिनु हुन्छ भने पनि जायज हो । तर, जसले आफ्नो पारिश्रमिक बाहिर ल्याउनु हुन्छ म उहाँहरुलाई मान्छु । म चाहिँ आफ्नो उमेर भन्न सक्छु तर पारिश्रमिक सार्वजनिक गर्न सक्दिनँ ।' उनले घुमाउरो शैलीमा अभिनेत्री पूजा शर्माले बुझेको २० लाख पारिश्रमिकमाथि पनि प्रहार गरिन् । उनले २० लाख लिएर ५० लाखको दर्शक तान्न पूजालाई चुनौती दिइन् ।
पूजाको नाम उच्चारण नगरेकी उनले अगाडि भनिन्, 'यदी मैले २० लाखको पारिश्रमिक लिन्छु भने ५०/६० लाखको दर्शक चाहिँ मैले तान्न सक्नु पर्छ । मैले त्यति तान्न सकेँ भने १५/२० लाख माग्नु नराम्रो होइन । तर, पारिश्रमिक चाहिँ २० लाख बुझ्ने अनि निर्माताको हातमा ५ लाख पनि परेन भने चाहिँ आफैंलाई अप्ठ्यारो हुन्छ ।' यसै वर्ष फिल्म 'बुलबुल' बाट राष्ट्रिय र अन्तर्राष्ट्रिय अवार्ड चुमेकी उनले कलाकारको पारिश्रमिकको विषयमा दिएको अभिव्यक्तिले फेरि बहसको जन्म गराएको छ ।

