केही समययता सर्वाधिक चर्चामा छ फिल्म ‘प्रेमगीत ३’ । सफल फिल्मको तेस्रो सिरिज भएका कारण दर्शकमा यो फिल्मप्रति निकै चासो छ । यो फिल्ममा प्रमुख भूमिकामा अहिलेका चल्तीका अभिनेता प्रदीप खड्का देखिँदैछन् । भने, उनीसँग फिल्ममा नव-अभिनेत्री क्रिस्टिना गुरुङले रोमान्स गर्नेछिन् । २७ सय युवतीलाई उछिन्दै उनी 'गीत' क्यारेक्टरमा अनुबन्ध भएकी थिइन् ।
यो फिल्मलाई छेतेन गुरुङ र निर्माता सन्तोष सेनले मिलेर निर्देशन गर्दैछन् । फिल्ममा सेन स्वयंको लगानी रहनेछ । आउँदो चैत २८ गतेबाट देशभर प्रदर्शनमा आउन लागेको ‘प्रेमगीत ३’ को दशैंपछि छायांकन सुरु हुँदैछ । फिल्मका लागि अहिले कलाकारहरु ट्रेनिङमा व्यस्त छन् । चाँडै वर्कशप सुरु हुने निर्माता सेनको भनाई छ । फिल्मको निर्माण लागत ३ करोड अनुमान गरिएको छ ।
२ सय वर्ष पुरानो प्रेमकथामा आधारित भएर बन्ने फिल्ममा शिव श्रेष्ठ, सुनिल थापा, अनुभव रेग्मीलगायतका कलाकारहरुको पनि अभिनय रहनेछ । यो फिल्मबाट मनिष राउतले पनि डेब्यू गर्दैछन् । केही समय अगाडि निर्माण टिमले सार्वजनिक गरेको क्यारेक्टर पोस्टरमा उनको चकलेटी लुक्सलाई दर्शकले निकै रुचाएका थिए । फिल्म रिलिज नहुँदै मनिषलाई सम्भावना बोकेको अभिनेताको रुपमा हेरिएको छ ।

निर्माण कम्पनी आसुसेन फिल्मस्ले अभिनेता मनिषलाई ‘प्रेमगीत ३’ मा गएको २ वर्ष अगाडि नै अनुबन्ध गरेको थियो । तर, यो कुरा लुकाइएको थियो । निर्माता सेनले फिल्ममा अनुबन्ध गरेर उनलाई ट्रेनिङ र ग्रुमिङ गरेको जानकारी प्राप्त छ । मनिषले पनि २ वर्ष फेसबुक, ट्विटर र इन्स्टाग्राम बन्द गरेर आफ्नो ड्रीम फिल्मको तयारीमा जुटेका थिए । उनी डेब्यू फिल्मका लागि आफूले निकै मिहिनेत गरेको बताउँछन् ।
‘प्रेमगीत ३’ मा आबद्ध भएको औपचारिक पुष्टि भएसँँगै अहिले अभिनेता मनिष राउतको चर्चा निकै चुलिएको छ । डेब्यू फिल्म प्रदर्शनमा नआउँदै उनलाई अन्य केही फिल्मबाट पनि अफर आएको जानकारी प्राप्त छ । केही दिनयता ‘प्रेमगीत ३’ का लागि घोडा सवारी सिकिरहेका उनी हालै क्लोथिङ्ग ब्राण्ड ‘डक्टर डेनिम’ को ब्राण्ड एम्बेसडरमा पनि नियुक्त भए ।
पुरुषहरुका लागि हरेक प्रकारका कपडाहरुको बिक्री गर्ने ‘डक्टर डेनिम’ को ब्राण्ड एम्बेसडरमा मनिष पाँच बर्षका लागि नियुक्त भएका हुन् । कुनै अभिनेता पहिलो फिल्म पनि रिलिज नहुँदै कुनै ब्राण्डसँग आबद्ध भएको यो पहिलो हो । उक्त ब्राण्डका सुमन गौतमले अबको पाँच बर्षमा ‘डक्टर डेनिम’ (DR.DENIM) र मनिष राउत दुबै देशका स्टार बन्ने विश्वास व्यक्त गरेका छन् ।

