
रातारात कुनै स्टारले आफ्नो फिल्म सुपरहिट भएपछि पारिश्रमिक निकै बढाउने गर्दछन् । यो फिल्म इन्डस्ट्रीमा सामान्य कुरा हो । केही दिन अगाडि फिल्म ‘कबीर सिंह’ को सफलतापछि अभिनेता शाहिद कपूरले पनि आफ्नो पारिश्रमिक ४० करोड पुर्याएका छन् । यो फिल्मपछि उनलाई फिल्मको अफर बाक्लै आइरहेको छ । र, पारिश्रमिक पनि चर्को माग गरिरहेका छन् ।
ब्लकबस्टर फिल्म ‘कबीर सिंह’ को सक्सेसपछि शाहिदको पारिश्रमिक बढाउने मुद्धा तिव्र गतिमा बाहिर आइरहेको छ । एक फिल्मबापत १२ करोडको आसपासमा पारिश्रमिक बुझ्दै आएका उनले यो फिल्मको सफलतापछि आफ्नो पारिश्रमिक दोब्बर बढाएर २२ करोड पुर्याएका थिए । हालै उनले तेलुगु सुपरहिट फिल्म 'जर्सी' को हिन्दी भर्जनका लागि ४० करोड मागेको चर्चा छ ।
आफ्नो पारिश्रमिक तेब्बर बढाइसकेका अभिनेता शाहिद कपूरले हालै एक अन्तर्वार्तामा भने, 'म पैसा तब उठाउने छु जब कुनै फिल्म साइन गर्नेछु । ‘कबीर सिंह’ बाट भूषण कुमार र मुराद खेतानीले कमाईरहेका छन् । मैले होइन । मेरो बैंक ब्यालेन्स अहिले पनि पहिलाको जति नै छ । मलाई पैसा कमाउनका लागि नयाँ फिल्म साइन गर्नुपर्छ । अहिलेसम्म कुनै साइन गरेको छैन ।'
२१ जूनमा रिलिज भएको फिल्म ‘कबीर सिंह’ यस वर्षको सबैभन्दा धेरै कमाउने फिल्म बनेको छ । फिल्मले अहिलेसम्म घरेलु बक्सअफिसमा २ सय ७० करोडको व्यापार गरिसकेको छ । फिल्म ३ सय करोडको बाटोमा छ । यो शाहिदको करिअरको सबैभन्दा ठूलो हिट फिल्म होे । फिल्ममा शाहिदको अपोजिटमा कियारा आडवाणी छिन् । शाहिद फिल्मको सफलताबाट दंग छन् ।

