Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

लेनदेन बिनै सुल्झियो ‘कबड्डी कबड्डी कबड्डी’ गीत विवाद

फिल्मीखबर, काठमाडौं, 2019/07/26
आउँदो भाद्र १३ गतेबाट प्रदर्शनमा आउन लागेको सुपरहिट फिल्म ‘कबड्डी’ को तेस्रो सिक्वेल ‘कबड्डी कबड्डी कबड्डी’ को आइतबार सार्वजनिक भएको पहिलो गीत ‘दुबो फूल्यो’ को उठान (संगीत) संगीतकार आलोकश्रीको ‘कहिले फोटो सिरानीमा’ गीतको संगीतसँँग मिलेपछि विवाद सतहमा आएको थियो । आलोकश्रीले सहमति नजुटे कानुनी उपचार खोज्ने भन्दै फिल्मको निर्माण टिमलाई चेतावनी समेत दिएका थिए । अन्ततः आपसी समझदारीमा गीत विवाद सुल्झिएको छ ।
 
फिल्मको ‘दुबो फूल्यो’ गीतमा एसडी योगीले संगीत र हर्क साउदले शब्द सृजेका छन् । गीतमा गायक हेमन्त राना र रितिका श्रेष्ठले आवाज भरेका छन् । अहिले नेपालको युट्युब ट्रेन्डिङको चौथो स्थानमा रहेको गीतमाथि १२ लाखभन्दा बढीको नजर परिसकेको छ । अडियो र भिडियो दुबै आकर्षक बनेको गीतलाई दर्शकले निकै रुचाएका छन् । यो गीतले फिल्मको इनिसियल व्यापारमा ठूलो फाइदा पुग्ने अनुमान गरिएको छ । 
 
 
‘गीतको संगीत मिल्नु संयोग मात्र भएको र आइन्दा गीतको विषयमा कुनै पनि विवाद नझिक्ने’ भन्दै आलोकश्री र फिल्मको निर्माण टिमबीच सहमति भएको जानकारी प्राप्त छ । गीतको संगीत मिलेपछि संगीतकार आलोकश्रीले क्षतीपूर्ती स्वरुप निर्देशक तथा निर्माता रामबाबु गुरुङसँग ५ लाख मागेको र माग गरे जति रकम नपाए कानुनी उपचार खोज्ने तयारीमा रहेको बजारमा चर्चा चलेको थियो । 
 
तर, बजारको हल्लाझैँ आफूहरुबीच कुनै पनि आर्थिक लेनदेन नभएको संगीतकार आलोकश्रीले स्पष्ट पारेका छन् । गीत विवाद सुल्झिएपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले भने, ‘हामीबीच केही क्षतीपूर्तीको कुरा नभएको होइन । तर, मैले पाँच लाख मागेको भन्ने कुरा चाहिँ विल्कुलै गलत हो ।’ संगीतकार योगीले पनि आलोकश्रीले पाँच लाख मागेको कुरा गलत रहेको बताए । 
 
लोक भाकाको गीतमा संगीतको एक/दुई अंश मिल्नु स्वभाविक रहेको बताउँदै उनले अगाडि भने, ‘आलोकश्री दाईले नयाँ भाई हो भनेर मलाई माफी दिनुभएको छ । मैले यसअघि ‘कहिले फोटो सिरानीमा’ सुनेको थिइनँ । गीतको संगीत मिल्नुु संयोग मात्र हो । चोर्ने नियत चाहिँ होइन ।’ संगीतकार आलोकश्री पनि गीतको उठान दुरुस्तै मिल्न जानु संयोग मात्र रहेको बताउँछन् ।
 
विवाद टुंगिएपछि निर्माण टिमले गीतमा आलोकश्रीको नाम 'विशेष धन्यवाद' मा राखेको छ । गीत विवाद सुल्झिएपछि ‘कबड्डी कबड्डी कबड्डी’ टिमले सन्तोषको सास फेरेको छ । अब, फिल्मको प्रचारलाई तिव्र बनाउने तयारीमा निर्माण टिम छ । फिल्ममा दयाहाङ राई, कर्मा शाक्य, उपासना सिंह ठकुरी, विल्सन विक्रम राई, रिश्मा गुरुङ, बुद्धि तामाङ, माओत्से गुरुङ, विजय बराललगायतको अभिनय छ । 
 
गीत हेर्नुहोस् :-

Most Visited News (monthly)