लामो समय नेपाली फिल्ममा विभिन्न विधामा रहेर काम गरेका कलाकार, छायाँकार, कोरियोग्राफर, द्वन्द्व निर्देशक तथा निर्माताले फिल्म निर्देशनमा पनि हात हालिसकेका छन् । तर, एकाध मात्र सफल ठहरिएका छन् । अधिकांशले असफलताको स्वाद चाखेका छन् । यसबीच, फिल्म निर्देशनमा ‘लुट’ जस्तो चर्चित फिल्म बनाएका निर्माता माधव वाग्लेले पनि हात हाल्ने भएका छन् ।
गत वर्ष नक्कली नोट छापेको आरोपमा करीब तीन महिना जेल जीवन समेत विताएका उनको अझै पनि जिल्ला अदालतमा मुद्धा विचारधिन छ । २ करोड ६० लाख ६३ हजार नक्कली नोटसहित उनलाई प्रहरीले पक्राउ गरेको थियो । २५ लाख धरौटी बुझाएर गएको साउनमा रिहा भएका वाग्लेले अब आफैंले फिल्म निर्देशन गर्ने बताएका छन् ।
(1)(1).jpg)
उनले अहिले फिल्मको स्क्रिप्टमा काम भइरहेको बताए । फिल्मीखबरसँग कुराकानी गर्दै उनले भने, ‘केही महिनायता फिल्मको स्क्रिप्टमा काम भइरहेको छ । चाँडै फिल्मको घोषणा गर्नेछौं ।’ एक दशकदेखि निर्माताको रुपमा बटुलेको अनुभवबाट फिल्म निर्देशन गर्न लागेको उनले बताए । राम्रो फिल्म बनाउन आफूले हदैसम्म मेहनत गर्ने उनको भनाई छ ।
करीब १० वटा फिल्मको निर्माण गरिसकेका निर्माता वाग्लेले निर्माता सधैं मुर्गा मात्र हुने तर फाइदा कलाकार र निर्देशकलाई हुने अवस्थाका कारण आफैंले फिल्मको क्याप्टेनसिप सम्हाल्न लागेको बताए । ‘मिडियाले पनि कलाकार/ निर्देशकलाई मात्र स्थान दिने गर्छ । तर, लगानी गर्ने निर्मातालाई वास्तै गर्दैन । यसकारण पनि फिल्म निर्देशन गर्ने लोभ लागेको हो’, उनले भने ।
दशैंपछि फिल्मको घोषणा गरेर फ्लोरमा निस्कने उनको तयारी छ । फिल्मको नाम चाँडै तय हुने उनले बताए । निर्माता वाग्लेका अनुसार, स्क्रिप्ट फाइनल भएपछि कलाकार छनोट प्रक्रिया सुरु हुनेछ । उनी भन्छन्, ‘म जति बोल्छ त्यो अनुसारको आउटपुट निकाल्न सक्छु कि सक्दिनँ भन्ने आफैंमाथि एक प्रकारको प्रयोग पनि हो यो ।’ उनी निर्मित पछिल्लो फिल्म ‘चंगा चेट’ हो ।

