.jpg)
बलिउडकी फिटनेस आइकन शिल्पा शेट्टी बलिउडको हिस्सा बनेको २५ वर्ष पूरा भइसकेको छ । तर, आफ्नो समयमा एकसेएक सुपरहिट र यादगार फिल्म दिएकी उनी गएको १२ वर्षदेखि ठूलो पर्दामा देखिएकी छैनन् । केही वर्षयता उनी टेलिभिजन रियालिटी शोमा देखिँदै आएकी छन् । तर, अब उनका फ्यानका लागि खुसी खबर आएको छ ।
१२ वर्ष उनी ठूलो पर्दामा कमब्याक गर्दैछन् । वेबसाइट डीएनएको रिपोर्ट अनुसार, शिल्पाले दिलजीत दोसान्झ र यामी गौतमको नयाँ कमेडी फिल्मबाट कमब्याक गर्न लागेकी हुन् । यद्यपि, अहिलेसम्म फिल्मको नाम तय भएको छैैन । तर, स्क्रिप्ट निकै मन परेका कारण शिल्पाले फिल्ममा काम गर्ने वचन दिइसकेकी छन् । हारून ए मिर्जाले फिल्मको निर्देशन गर्नेछन् ।
फिल्ममा शिल्पाको भूमिका निकै फरक हुनेछ । उनी एक लेखकको भूमिकामा देखिनेछिन् । डीएनएले सूत्रलाई उद्धित गर्दै लेखेको छ, 'शिल्पा फिल्ममा एक लेखकको भूमिकामा हुनेछिन् । लण्डन र ग्रीसमा एक महिनाको छुट्टीपछि उनी अगस्टको पहिलो साता मुम्बई फर्किनेछिन् र फिल्मको छायांकनमा व्यस्त हुनेछिन् । शिल्पा फिल्मलाई लिएर उत्साहित छिन् ।'
शिल्पाले अब्बास-मस्तानको सुपरहिट फिल्म 'बाजीगर' बाट डेब्यू गरेकी थिइन् । १९९३ मा रिलिज भएको फिल्ममा शाहरुख खान र काजोलको पनि अभिनय थियो । तर, उनले गएको १२ वर्षदेखि कुनै फिल्म गरिनन् । उनको पछिल्लो फिल्म २००७ मा रिलिज भएको थियो । यद्यपि, उनी 'ओम शान्ति ओम' र 'दोस्ताना' फिल्ममा स्पेशल गेस्टको रुपमा देखिएकी थिइन् ।

