Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 4.33/5.00)
Text size:-
+
-

कस्तो चल्यो ‘घर’ ?

फिल्मीखबर, काठमाडौं, 2019/07/21
नेपालमा ‘अनसक्सेस’ जनरा मानिन्छ, हरर । हलिउड र बलिउडका हरर फिल्मले नेपालमा राम्रो पैसा छाप्ने गरेता पनि नेपाली हरर फिल्मले भने पोस्टरको समेत पैसा उठाउन सकेका छैनन् । यद्यपि, वर्षमा एक/दुईवटा फिल्म भने बन्ने गरेका छन् । गत वर्ष हरर फिल्म ‘सुनकेसरी’ प्रदर्शन भएको थियो । यस वर्षका लागि फिल्म ‘घर’ रिलिज भएको छ । दुबै फिल्मका निर्देशक अर्पण थापा हुन् । 
 
 
‘सुनकेसरी’ मा दर्शक तर्साउनुको सट्टा पेट मिचिमिचि हँसाएका अर्पणले शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘घर’ मार्फत् भने केही हदसम्म दर्शकको मनमा डर पैदा गराउन सफल देखिएका छन् । तर, दर्शकको अपेक्षामाथि फिल्म खरो रुपमा उत्रन भने चुकेको छ । कर्कश आवाजको आँडमा दर्शक तर्साउने उद्येश्यबाट प्रेरित देखिन्छन्, अर्पण । फिल्मको प्रस्तुती र पटकथा कमजोर छ । 
 
दर्शकबाट मिश्रित प्रतिक्रिया बटुलेको फिल्मले प्रदर्शनको दुई दिन (शुक्रबार र शनिबार) देशभर राम्रो व्यापार गरेको निर्मात्री शर्मिला पाण्डेले बताएकी छन् । ६० लाखमा निर्माण भएको फिल्मले दुई दिनमा घरेलु बजारबाटै लगानी सुरक्षित गर्न सफल भएको निर्माता मध्येका एक दीपेन्द्र के. खनालले जानकारी दिए । उनका अनुसार, ३५ लाखमा फिल्म रिलिज अगावै डिटिजल राइट्स बिक्री भइसकेको छ । 
 
‘हलबाट २५ लाख उठेको खण्डमा हाम्रो लगानी सुरक्षित हुन्थ्यो । शुक्रबार र शनिबारको व्यापारबाट हामी सुरक्षित भएका छौं । अब आइतबारबाट फिल्म नाफाको बाटोमा अगाडि बढेको छ’, निर्देशक समेत रहेका दीपेन्द्रले भने । उनले फिल्मको ‘वर्ड अफ माउथ’ बलियो भएका कारण बक्सअफिसमा लामो रेसको घोडा बन्ने विश्वास व्यक्त गरे । फिल्मले देशभरका मल्टीप्लेक्समा राम्रो सोज पाएको छ ।
 
फिल्मको अन्तिममा ‘टु वि कन्टिन्यू’ भलेर लेखिएको छ । मतलब दर्शकले ‘घर’ को सिक्वेल पनि हेर्न पाउनेछन् । निर्मात्री पाण्डे दर्शकबाट सिक्वेलको डिमान्ड रहेको बताउँछिन् । ‘कथा अधुरैमा टुंग्याएका कारण दर्शकले फिल्म हेरेपछि सिक्वेलको माग गर्नुभएको छ । चाँडै निर्देशक अर्पण थापासँग सिक्वेलको विषयमा छलफल गर्नेछौं’, उनले भनिन् । उनी फिल्मको आठ वटासम्म सिक्वेल बनाउने सोचमा छिन् । 
 
 
फिल्मले शुक्रबार र शनिबार देशभर ५० लाखको व्यापार गरेको जानकारी प्राप्त छ । धेरैपछि हरर जनरामा नेपाली फिल्म निर्माण भएका कारण दर्शकको हलमा राम्रो चाप देखिएको छ । यो फिल्ममा अभिनेत्री द्वय बेनिशा हमाल र सुरक्षा पन्त प्रमुख भूमिकामा छन् । भूतको पञ्जाबाट उम्कन पात्रहरुले गर्ने संघर्षको कथामा फिल्म आधारित छ । फिल्ममा अभिनेत्री सुरक्षाले जीवन्त अभिनय पस्किएकी छन् । बेनिशाको भने ठिकठाक छ । 
Most Visited News (monthly)