Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘आमा’ मा मिथिलाले गरिन् सूर्यमालालाई रिप्लेस

फिल्मीखबर, काठमाण्डौ, 2019/07/21
असार र साउन महिनामा नेपाली फिल्मको छायांकन निकै कम हुन्छ । किनभने, मनसुनले छायांकनमा अवरोध गर्ने हुँदा फिल्म फ्लोरमा निस्कँदैनन् । तर, ‘पशुपति प्रसाद’ फेम्ड निर्देशक दीपेन्द्र के. खनालको नयाँ फिल्म ‘आमा’ को भने पानी नपर्दा छायांकन हुन सकेको छैन । अधिकांश दृश्यमा झमझम परेको पानी देखाउनु पर्ने भएकाले दैनिक क्यामेरा र आर्टिस्टसहित पानी कुरेर बसेको निर्देशक खनाल बताउँछन् । 
 
यसबीच, आमाको भूमिकामा अनुबन्ध भएकी सूर्यमाला खनालले फिल्मबाट हात झिकेकी छन् । उनको ठाउँमा अभिनेत्री मिथिला शर्माको प्रवेश भएको छ । ‘राम्ररी पानी नपरेका कारण फिल्मको छायांकन गर्न सकेका छैनन् । यही ताल हो भने फिल्मको छायांकन पूरा हुन एक/डेढ वर्ष नै लाग्नसक्छ’, निर्देशक खनाल भन्छन्, ‘उहाँ (सूर्यमाला खनाल) असोजमा जसरी पनि पारिवारिक कामले अमेरिका जानु पर्ने भएकाले फिल्म गर्न सक्नुभएन ।’
 
 
क्यारेक्टरमा सुहाउने भएकै कारण सूर्यमालाको ठाउँमा मिथिला शर्मालाई अनुबन्ध गरेको उनले बताए । निर्देशक खनाल कृत्रिम पानी झारेर फिल्मको छायांकन गर्ने पक्षमा छैनन् । उनी भन्छन्, ‘फिल्मको छायांकन त सुरु भइसकेको छ तर महत्त्वपूर्ण खिच्न पाएका छैनौं । म कम्प्रमाइज गर्दिन भनेर पानी कुरिरहेको छु । किनकि, फिल्ममा अधिकांश दृश्यमा पानी देखाउनु पर्नेछ । सिनेम्याट्रिक फिल निकाल्नका लागि म उपयुक्त समय नै पर्खिरहेको छु ।’ 
 
उनका अनुसार, फिल्ममा इन्डोरमा पनि पानी परेको देखाउनु पर्ने धेरै सिनहरु छन् । साउन दोस्रो सातामा पानीले साथ दिनेमा उनी ढुक्क छन् । ‘पशुपति प्रसाद’ पछि समीक्षात्मक र व्यावसायिक सफल फिल्म दिन नसकेका उनी ‘आमा’ ले दर्शकको अपेक्षा पूरा गर्ने बताउँछन् । यो फिल्मले आमा र छोरीको भावनात्मक सम्बन्धको कथा वाचन गर्ने बताइएको छ । छोरीको भूमिकामा अभिनेत्री सुरक्षा पन्त छिन् । 
 
काठमाण्डौ र रामेछापको लोकेशनमा खिचिने फिल्मका सह–निर्मातामा सन्तोष अधिकारी छन् । आउँदो फागुन ९ गते प्रदर्शनमा आउने तयारीमा रहेको ‘आमा’ मा देशभक्त खनाल, सरिता गिरी, आशान्त शर्मा, मनिष निरौला, पदम बुढाको पनि फिल्ममा अभिनय रहनेछ । शर्मिला पाण्डेले निर्माण गर्ने फिल्मको कथा निर्देशक खनाल स्वयंले तयार पारेका हुन् । उनी आफैंले फिल्मको छायांकन गर्नेछन् । यसअघि उनले फिल्म 'धनपति' खिचेका थिए । 
Most Visited News (monthly)