हिन्दी फिल्मको पहिलो सुपरस्टार राजेश खन्नाको निधन सन् २०१२ मा मुम्बईमा भएको थियो । २९ डिसेम्बर १९४२ मा पञ्जाबको अमृतसरमा जन्मिएका उनको वास्तविक नाम जतिन खन्ना हो । बलिउडमा सबै प्रेमले उनलाई ‘काका’ नामले बोलाउने गर्दथे । उनले आफ्नो फिल्म करिअरमा थुप्रै सुपरहिट फिल्म दिएका थिए । कलाकारको रुपमा उनले आफ्नो जुन छाप छाडेका छन्, मानिसहरु उनलाई आज पनि याद गर्दछन् ।

एक समय राजेश खन्नाले एकपछि अर्को लगातार १५ वटा हिट फिल्म दिएका थिए, जसकारण उनीसँग काम गर्न निर्माता/निर्देशक मरिहत्ते गर्दथे । त्यसबेला उनीसँग काम गरेपछि करिअर पछाडि हेर्ने नपर्ने सोचाई व्याप्त थियो । राजेश खन्नाको उपस्थिति नै फिल्म हिट बनाउन काफी हुने गर्दथ्यो । उनी अभिनेतासँगै निर्देशक तथा निर्माता पनि हुन् । ७औं पुण्यतिथिको अवसरमा जान्नुहोस् उनीसँग जोडिएका १० कुरा ।
१. राजेश खन्नाले कूल १८० वटा फिल्ममा काम गरे, जसमा १६३ फिचर फिल्म थियो । उनले २२ वटा फिल्ममा दोहोरो भूमिकासँगै १७ वटा सर्ट फिल्ममा पनि काम गरे । १९६९ देखि १९७१ भित्र उनले १५ वटा सोलो हिट फिल्म दिएका थिए, जसले उनलाई बलिउडको सुपरस्टार बनाएको थियो ।
२. राजेश खन्नालाई फिल्ममा सर्वश्रेष्ठ अभिनयका लागि तीनपटक फिल्म फेयरको पुरस्कार मिलेको थियो भने १४ पटक मनोनित भएका थिए ।
३. बंगाल फिल्म जर्नलिस्ट एसोसिएशन द्वारा हिन्दी फिल्मको सर्वश्रेष्ठ अभिनेताको पुरस्कार पनि चारपटक उनकै नाममा रहेको थियो । भने, २५ पटक मनोनितमा परेका थिए ।
४. राजेश खन्ना फिल्म 'आनन्द' को सेटमा निकै ढिलो पुगेका थिए, जसकारण निर्देशक निकै रिसाएका थिए । त्यसबेला उनले निर्देशकसँग माफी समेत मागेका थिए ।
५. राजेश खन्नाले एकपटक अमिताभ बच्चनको मजाक पनि उडाएका थिए । किनकि, अमिताभ सेटमा समयमा नै पुग्ने गर्दथे । एक अन्तर्वार्तामा उनले भनेका थिए, ‘अमिताभ मान्दछन् कि क्लर्क समयको पक्का हुन्छ र त्यो कुनै क्लर्क नभएर कलाकार हो ।’
६. एक अन्तर्वार्तामा उनले भनेका थिए, ‘फिल्म 'आनन्द' बाट मिलेको सफलतापछि मलाई म भगवानको सामुन्ने छु जस्तो लागेको थियो । पहिलो पटक मैले महशुस गरेको थिए कि सफलता के हुन्छ । मलाई याद छ बेंगलुरूमा फिल्मको प्रिमियर भएको थियो । करीब दस माइलसम्म सडकमा मान्छेको टाउकोभन्दा अरु केही देखिएको थिएन ।’
७. राजेश खन्नाले स्वीकार गरेका थिए कि सलीम-जावेद र उनीबीच मतभेद थियो । उनले भनेका थिए, ‘यश ‘दीवार’ का लागि मलाई साइन गर्न चाहन्थे । उनीसँग अरु विकल्प थिएन । सायद पछि उनलाई लाग्यो कि अमिताभ बच्चन यो फिल्मका लागि बढी ठिक छन् । फिल्म हेरेपछि मैले अमिताभको तारिफ गरेको थिएँ ।’

८. राजेश खन्नाले कयौं हिन्दी फिल्ममा काम गरेपछि राजनीतिमा पनि प्रवेश गरेका थिए । उनी दिल्ली लोकसभा सिटबाट पाँच वर्षसम्म कांग्रेस पार्टीका सांसद रहेका थिए । तर, पछि उनले राजनीतिबाट सन्यास लिए ।
९. बलिउडका डान्सिङ लेजेन्ड जितेन्द्रलाई पहिलो फिल्ममा अडिसन दिनका लागि क्यामेराको अगाडि बोल्न राजेशले नै सिकाएका थिए । जितेन्द्र र उनकी श्रीमती पनि राजेश खन्नालाई ‘काका’ नामले बोलाउने गर्दथे ।
१०. १९६६ देखि १९७२ को दशकमा राजेश खन्ना र फेशन डिजाइनर तथा अभिनेत्री अञ्जू महेन्द्रूको बीच प्रेम प्रशंग चर्चामा थियो । पछि उनले अभिनेत्री डिम्पल कपाडियासँग मार्च १९७३ मा विवाह गरे । राजेश खन्ना र उनकी छोरी ट्विंकल खन्नाको बर्थडे २९ डिसेम्बरमा नै पर्दछ ।

