नेपालमा विरलै हरर जनरामा फिल्म बन्ने गर्दछन् । वर्षमा एउटा पनि मुश्किलले निर्माण हुन्छ । बलिउड र हलिउडका हरर फिल्मले नेपालमा राम्रो व्यापार गर्ने गरेता पनि नेपाली हरर फिल्मले भने अहिलेसम्म दर्शक रिझाउन सकेका छैनन् । न त व्यापार नै गतिलो गर्न सकेका छन् । वर्षौदेखि कमेडी र लभस्टोरी फिल्मकै विगविगि छ । फ्लप हुने डरले निर्माताले हरर जनरा रोज्ने गरेका छैनन् ।
अभिनेता टर्न निर्देशक अर्पण थापालाई भने हरर जनरा नै प्रिय छ । गत वर्ष उनले हरर फिल्म ‘सुनेकसरी’ को क्याप्टेनसिप सम्हालेका थिए । यो फिल्म बक्सअफिसमा असफल भए पनि उनले हार खाएनन् । दोस्रो पटक हरर फिल्म ‘घर’ लिएर आएका छन् । शुक्रबारबाट फिल्म देशभर प्रदर्शनमा आएको छ । शर्मिला पाण्डे निर्मित फिल्ममा अर्पणसँगै अभिनेत्री द्वय सुरक्षा पन्त र बेनिशा हमाल केन्द्रिय भूमिकामा छन् ।
फिल्मलाई शुक्रबारको बिहानी शोमा ४५ देखि ५० प्रतिशतको आसपासमा अकुपेन्सी मिलेको छ । ६० लाखमा हल पुगेको यो फिल्मको डिजिटल राइट्स ३५ लाखमा विक्री भइसकेको छ । अब फिल्मले हलबाट २५ लाख कमाएको खण्डमा निर्माताको लगानी सुरक्षित हुनेछ । निर्मात्री पाण्डेले फिल्मले सजिलै लगानी उठाउने र ‘घर’ को आठ वटासम्म सिक्वेल बनाउने लक्ष्य रहेको बताएकी छन् ।
.jpg)
शुक्रबार बिहान राजधानीको बिग मुभिजमा पत्रकारका लागि फिल्मको विशेष शो राखिएको थियो । फिल्म हेर्ने पत्रकारबाट पाएको सकारात्मक प्रतिक्रियाले हौसिएका निर्देशक तथा कलाकार अर्पणले शुक्रबार र शनिबारको व्यापारले ‘घर’ को सिक्वेल बन्ने वा नबन्ने निर्धारण गर्ने बताए । फिल्मको अन्तिममा ‘टु वि कन्टिन्यू’ भनेर लेखिएको छ । निर्देशक थापा फिल्मको सिक्वेल निर्माण गर्ने तयारी भने रहेको बताउँछन् ।
फिल्ममा अर्पण र सुरक्षा श्रीमान्-श्रीमतीको भूमिकामा छन् । बेनिशाले सुरक्षाको बहिनीको भूमिका निभाएकी छन् । वर्षौदेखि भाडाको कोठामा बस्दै आएका अर्पण र सुरक्षा काठमाडौंमा सस्तोमा घर भेटिएपछि किन्छन् । नयाँ घरमा सरेपछि आत्माले उनीहरुलाई कसरी दुःख दिन्छ भन्ने कथामा फिल्म आधारित छ । यो फिल्मले केही हदसम्म मनमा डर पैदा गराउन सफल छ । फिल्मलाई दर्शकले रुचाउन सक्ने देखिन्छ ।
हरर फिल्म हेर्न नसक्ने अभिनेत्री सुरक्षाले डरका कारण आफ्नै फिल्म राम्रोसँग हेर्न नसकेको बताइन् । 'मलाई थाहा थियो योपछि यो सिन आउँछ भनेर । तरपनि डरले गर्दा ६०/७० प्रतिशत सिन मात्र हेर्न सकेँ । बाँकी सिनमा त मैले आँखै छोपेको थिएँ', उनले भनिन् । फरक जनराको पखाईमा रहेका दर्शकलाई यो फिल्मले निराश बनाउने उनको विश्वास छ । निर्देशक थापा ‘सुनेकसरी’ मा भएका कमी-कमजोेरी ‘घर’ मा सुधार्ने प्रयास गरेको बताए ।

