Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

दीपक-दीपादेखि नम्रतासम्मले गरे ‘सानो मन’ को प्रशंसा

फिल्मीखबर, काठमाण्डौ, 2019/07/19
अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री शिल्पा मास्केको प्रेमकथा वाचन गरेको फिल्म ‘सानो मन’ ले शुक्रबारबाट दोस्रो हप्तामा प्रदर्शन थालनी गरेको छ । प्रदर्शनको पहिलो हप्ता बक्सअफिसमा अपेक्षाकृत व्यापार गर्न नसके पनि फिल्मलाई दर्शकबाट निकै राम्रो प्रतिक्रिया मिलेको छ । निर्माण टिम पनि दर्शक प्रतिक्रियाबाट दंग छ । निर्देशक, छायाँकार र कलाकारको कामको दर्शक र फिल्मकर्मी सबैले मुक्तकण्ठले प्रशंसा गरेका छन् । 
 
 
बिहीबार साँझ राजधानीको क्यूज सिनेमा हलमा नेपाली फिल्मका परिचित अनुहारले ‘सानो मन’ हेरेपछि निकै लोभलाग्दो प्रतिक्रिया दिए । फिल्म हेर्न दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे, नम्रता श्रेष्ठ, केकी अधिकारी, रिमा विश्वकर्मा, विशाल भण्डारी, अर्जुन घिमिरे 'पाँडे', कुमार कट्टेल 'जिग्री' लगायत पुगेका थिए । फिल्म हेरेपछि अभिनेत्री नम्रताले आयुष्मान र शिल्पाको अभिनयको खुलेरै प्रशंसा गरिन् । उनले फिल्म उत्कृष्ट बनेको बताउँदै दर्शकलाई नछुटाउन आग्रह गरेकी छन् । 
 
‘मलाई फिल्म साह्रै राम्रो लाग्यो । कलाकारको काम उत्कृष्ट छ’, उनले अगाडि भनिन्, ‘शिल्पाको यसअघि मैले ‘द ब्रेकअप’ हेरेको थिएँ । त्यसमा पनि उनको काम एकदमै राम्रो थियो । उनको अभिनय नेचुरल लाग्छ । ‘सानो मन’ मा पनि उनले राम्रो काम गरेकी छन् । आयुष्मानको काम पनि गजब छ ।’ उनले आफू फिल्म हेरिरहँदा धेरै ठाउँमा इमोसनल भएको पनि बताइन् । उनको कुरा सुनेर छेवैमा रहेकी अभिनेत्री शिल्पा निकै खुसी देखिएकी थिइन् । 
 
 
अभिनेत्री केकी अधिकारीले पनि फिल्म हेर्दा आफू इमोसनल भएको बताइन् । ‘सानो मन’ को तारिफ गर्दै उनी भन्छिन्, ‘फिल्ममा कलाकारले जुन प्रकारको अभिनय गर्नुभएको छ, म सरप्राइज नै भएँ । आयुष्मान र शिल्पाबाट मैले त्यो अपेक्षा नै राखेको थिइनँ । नेपाली फिल्म यस्तो भइदियोस् भन्ने दर्शकहरुले जुन अपेक्षा राख्नुभएको छ त्यो यो फिल्मले पूरा गर्छ ।’ अभिनेत्री रीमा र निर्देशक विशालले पनि फिल्म राम्रो बनेको प्रतिक्रिया दिए । 
 
 
तीनवटा ब्लकबस्टर फिल्म दिएकी निर्देशक दीपाश्रीले ‘सानो मन’ अपेक्षाभन्दा माथिको फिल्म बताइन् । आयुष्मान र शिल्पाको अभिनय देखेर आफूलाई लोभ लागेको उनको भनाई छ । हास्यकलाकार केदार घिमिरे (माग्ने बुढा) ले फरक कथामा कलाकारको सुन्दर अभिनय रहेको बताए । उनी आफू फिल्मको अन्तिममा भावुक भएको पनि बताउँछन् । कलाकार दीपकराज गिरीले फिल्ममा आफूलाई कलाकारको अभिनय र छायांकन पक्ष निकै मन परेको बताए । 
 
‘पहिलोभन्दा दोस्रो हाफ बलियो छ । स्क्रिप्टमा केही कमजोरी भएता पनि निर्देशकले निकै मेहनत गरेर फिल्म बनाएका छन् । पछिल्लो समय बनिरहेका 'लाउड' लभस्टोरी यसमा छैन । एकदम 'सफ्ट' छ । लभस्टोरी फिल्म मनपर्ने दर्शकलाई ‘सानो मन’ ले निराश बनाउँदैन’, दीपकराजले भने । फिल्मकर्मीको प्रतिक्रियापछि शिल्पा, आयुष्मान, विशाल पहारी र सक्षम सुवेदीले दर्शकलाई फिल्म नछुटाउन आग्रह गरे । आलोक शुक्लाले खिचेको यो फिल्मका निर्देशक सुयोग गुरुङ हुन् । 
 
 
फिल्मलाई सुयोग गुरुङ र मिलन श्रेष्ठले सम्पादन गरेका छन् । समिर सुनुवार र निर्देशक गुरुङको संयुक्त लेखन रहेको छ । ओ.पि.जी फिल्मस्, ए प्लस इन्टरटेन्मेन्ट र हाई टेक इन्टरटेन्मेन्टले संयुक्त लगानी गरेको यो फिल्मका निर्माताहरू योगेश गुरुङ, राजीव श्रेष्ठ, रमेश के. मित्तल र राजेन्द्र मानन्धर हुन् । रित बोहरा मुख्य सहायक निर्देशक हुन् भने प्रोडक्सन म्याजेनर यम प्रसाद ओली हुन् ।
Most Visited News (monthly)