Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(6 votes, avg 5.00/5.00)
Text size:-
+
-

आर्यन र मिरुनाको ‘च च हुई’ रिलिज घोषणा

फिल्मीखबर, काठमाण्डौ, 2019/07/18
लभर ब्वाईको भूमिकामा सर्वाधिक रुचाइएका चकलेटी हिरो आर्यन सिग्देल र 'लालपूर्जा' बाट नेपाली फिल्ममा डेब्यू गरेकी मिरुना मगरले अनस्क्रिन रोमान्स गरेको फिल्म ‘च च हुई’ को प्रदर्शन मिति घोषणा गरिएको छ । यसअघि कात्तिक २९ मा आउने तयारी भएता पनि अभिनेता सौगात मल्लको फिल्म ‘माछा माछा’ का कारण यो फिल्म एक हप्ता पछाडि धकलिएको छ । 
 
 
बिहीबार निर्माता अमृत घोले लामा र वितरक कम्पनी एफडीबीच फिल्मलाई मंसिर ६ गते प्रदर्शन गर्ने सहमति भएको छ । अहिलेसम्म उक्त मितिमा अरु कुनै फिल्मले प्रदर्शन मिति घोषणा गरेका छैनन् । तर, ‘च च हुई’ ले सोलो रिलिज पाउने सम्भावना भने न्यून छ । फरक धारका फिल्म (त्यान्द्रो, साढे सात, लेटर, अनागत) मा रमाइरहेका साम्तेन भुटियाले यो फिल्मको निर्देशन गरेका हुन् । 
 
निर्देशक भुटियाका अनुसार, यो पूर्ण कमर्शियल फिल्म हो । उनी भन्छन्, ‘यसपटक कमर्सियल फिल्मको जमर्को गरेको छु । फिल्ममार्फत् दर्शकलाई भरपुर मनोरञ्जन दिलाउने प्रयास रहनेछ ।’ फिल्ममा आर्यन र मिरुनाका अलावा भोलाराज सापकोटा, माओत्से गुरुङ, पुस्कर गुरुङ, बबिता मल्ललगायतको पनि अभिनय छ । सुशन प्रजापतिले फिल्मको अधिकांश दृश्य खिचेका हुन् । 
 

एजीएल इन्टरटेनमेन्टको ब्यानरमा निर्मित ‘च च हुई’ को पटकथा सिजन दाहाल र सन्देश अर्यालले लेखेका हुन् । फिल्मका गीतमा राजनराज शिवाकोटी र रोशन थापाको संगीत छ । यो फिल्ममा अभिनेता आर्यन कमेडी भूमिकामा छन् । आर्यनको लुकेको कमेडी पाटो फिल्ममा देख्न पाइने निर्देशक भुटियाको भनाई छ । आर्यन पनि यो फिल्मले सफलताको स्वाद चखाउनेमा विश्वस्त छन् । 
Most Visited News (monthly)