नेपाली फिल्मका भर्सटायल अभिनेता हुन्, अर्पण थापा । जुनसुकै भूमिकामा आफूलाई उभ्याउन सिपालु उनले तीन दर्जन बढी फिल्ममा अभिनय गरिसकेका छन् । उनी अभिनीत पछिल्लो फिल्म 'ए मेरो हजुर ३' हो । अभिनयमा भ्याइनभ्याइ हुँदै गर्दा उनले फिल्म 'मुखौटा' बाट निर्देशनमा पनि हात हाले । फिल्म चलेन । तर, उनले हार खाएनन् । दोस्रो फिल्मको रुपमा उनले 'आधा लभ' को क्याप्टेनसिप सम्हाले ।
 (2).jpg)
दोस्रो फिल्मले पनि दर्शकलाई सन्तुष्ट बनाउन सकेन । न त व्यापार नै गतिलो गर्यो । तेस्रो फिल्म भने उनले ट्रयाक परिवर्तन गरेर हरर जनरा रोजे, फिल्म 'सुनकेसरी' । तर, तेस्रो फिल्मले पनि हलमा हावा खायो । असफल फिल्म दिने निर्देशकको रुपमा ह्याट्रिक गरेका अर्पणले फेरि हरर जनराकै फिल्म लिएर आएका छन् । उनी निर्देशित चौथो फिल्म 'घर' यही शुक्रबारबाट प्रदर्शन हुँँदैछ ।
हलिउड र बलिउडमा सफल मानिएको हरर जनरा नेपालमा असफल मानिन्छ । सम्भवतः हरर जनरामा बनेका कुनै नेपाली फिल्मले बक्सअफिसमा राम्रो व्यापार र दर्शकलाई सन्तुष्ट बनाउन सकेका छैनन् । अर्पण निर्देशित हरर फिल्म 'सुनकेसरी' यसको गतिलो उदाहरण हो । यो फिल्मबाट उनले हरर फिल्म रुचाउने दर्शक भड्काएको आरोप समेत लागेको छ । किनकि, फिल्मले दर्शक तर्साएन, हँसायो ।
फिल्म 'घर' मा अर्पण स्वयंको अभिनय छ । कथा पनि उनी आफैंले लेखेका हुन् । उनको अपोजिटमा अभिनेत्री द्वय सुरक्षा पन्त र बेनिशा हमाल छन् । नेपाली हरर फिल्मले दर्शकलाई तर्साउन नसकिरहेको अवस्थामा 'घर' माथि निकै ठूलो अपेक्षा गरिएको छ । अर्पण दर्शकको अपेक्षा निराशामा परिणत नहुने दाबी गर्छन् । फिल्म रिलिजको संघारमा अभिनेता तथा निर्देशक अर्पण थापासँग गरिएको संक्षिप्त कुराकानी यस्तो छ :-
१. नेपालमा हरर जनरा फ्लप मानिन्छ । किन फेरि दोस्रो पटक हरर जनरा नै रोज्नुभयो ?
नेपालमा हरर जनराको फिल्म हेर्ने दर्शकको संख्या ठूलो छ । हो, नेपालमा बनेका हरर फिल्मले राम्रो व्यापार गरेका छैनन् । तर, विदेशी हरर फिल्मले नेपालमा मात्र नभएर संसारभर लोभलाग्दो कमाई गरेका छन् । यसले के देखाउँछ भने नेपालमा हरर फिल्म हेर्ने दर्शक उल्लेख्य छन् । हामीले यसअघि प्रयास नगरेका पनि होइनौं । नेपाली हरर फिल्मले दर्शकको अपेक्षा पूरा नगरेको यथार्थ हो । अब 'घर' ले गर्नेछ ।

२. तपाईंमाथि 'सुनकेसरी' बाट हरर जनराका दर्शक भड्काएको आरोप छ नी ?
नेपालमा वर्षमा कतिवटा फिल्म फ्लप हुन्छ । सबै निर्देशक र सबै फिल्म कहाँ हिट छन् र ! दर्शकले 'सुनकेसरी' हार्डकोर हरर फिल्म भनेर बुझ्नुभयो, जुन चाहिँ लाइट-हाटेड हरर फिल्म थियो । जसमा यादवजी (रविन्द्र झा) जस्तो क्यारेक्टर राखिएको थियो । काटमार थिएन । ब्लड कहिँ पनि देखिएको थिएन । त्यो फिल्म हरर जनराको पनि 'सब' जनरामा पर्छ । 'घर' चाहिँ हार्डकोर हन्टेड हाउस हो ।
३. नेपाली हरर फिल्म राम्रो बन्दैनन् भन्ने मानसिकता 'घर' ले तोड्न सक्ला ?
अझै पनि नेपाली हरर फिल्ममा टेक्निकल एक्सपेक्ट पुग्दैन । तर, यसपटक फिल्म 'घर' बाट नेपाली हरर फिल्म राम्रो बन्दैनन् भन्ने मानसिकता ताड्ने सम्भावना चाहिँ प्रवल छ । जति तपाईंहरुले ट्रेलरमा देख्नुभएको छ त्योभन्दा धेरै छ फिल्ममा । भोली कमर्शियल रुपमा सफलता हात पार्न सक्छ वा सक्दैन त्यो दर्शकको हातमा छ । तर, अब कसैले हरर फिल्म बनाउँछ भने त्यसका लागि हामीले 'ट्रेन्ड मार्क सेट' चाहिँ गरेका छौं ।
४. तपाईंले निर्देशन गरेका फिल्ममा आफैं कलाकारको रुपमा पनि हुनुहुन्छ । के त्यो आवश्यक छ ?
आफूले निर्देशन गरेको फिल्ममा आफैं कलाकारको रुपमा प्रस्तुत हुनुपर्छ भन्ने अनिवार्य त होइन । तर, थोरै सिन छ र आफूले गरेर निर्माताको पैसा बचाइन्छ भने गर्छु ।
 (1).jpg)
५. अब तपाईंलाई कलाकार कम निर्देशक ज्यादा देख्न पाइने हो ?
नेपाली फिल्ममा मलाई पहिलादेखि नै निर्देशकको रुपमा काम गर्ने इच्छा हो । ९० वर्ष पुगुन्जेलसम्म बढेस्कालको रोल पाए पनि वा नपाए पनि फिल्म चाहिँ बनाउन पाउँछु भन्ने छ । अब बुढेस्कालमा पनि नेपाली फिल्मसँग जोडिएर बस्ने बहाना भएको छ ।

