अभिनयमा पारंगत मानिने अभिनेता सौगात मल्ल अभिनीत पछिल्ला कुनै फिल्मले बक्सअफिसमा राम्रो व्यापार गर्न गरेका छैनन् । तर, त्यसले उनको व्यस्ततामा भने कुनै असर पुर्याएको छैन । एकपछि अर्को फिल्ममा उनलाई भ्याइनभ्याइ छ । पारिश्रमिक पनि राम्रो बुझ्छन् । पर्दामा प्रायः सबै प्रकारका भूमिका निभाइसकेका उनी केही दिनयता फिल्म ‘लप्पन छप्पन २’ को छायांकनमा व्यस्त छन् ।
.jpg)
हालसालै उनले अभिनेत्री पूजा शर्मा र आफ्नी रियल प्रेमिका सृष्टि श्रेष्ठसँग फिल्म ‘पोइ पर्यो काले’ को छायांकन पूरा गरेका थिए । ‘लप्पन छप्पन २’ पछि उनी ‘चपली हाइट ३’ मा व्यस्त हुँदैछन् । गएको दुई दिन अगाडि उनी अभिनीत नयाँ फिल्म ‘माछा माछा’ को पोस्टर रिलिज भएको थियो । फिल्म भने २९ मा रिलिज हुँदैछ । ‘पोइ पर्यो काले’ पनि कात्तिक ८ गते प्रदर्शनमा आउने निश्चित भइसकेको छ ।
बुधबार राजधानीमा खिचिएको फिल्म ‘लप्पन छप्पन २’ को एक महत्त्वपूर्ण सिनमा अभिनेता मल्ल निकै फरक गेटअपमा देखिए । उनले हाँकेको बाइकको अगाडि-पछाडि गाडी र बाइकको लस्कर, लामो खरानी रंगको कोट, कालो चश्मा र लामो विग (नक्कली कपाल) मा उनले फिल्ममा आफ्नो सिन दिए । उक्त दृश्यले फिल्ममा उनी ग्याङस्टारको भूमिकामा रहेको प्रस्ट्याउँछ । फिल्मका निर्देशक मुकुन्द भट्ट हुन् ।
यो फिल्मको पहिलो पार्टमा पनि सौगात ग्याङस्टारको भूमिकामा थिए । फिल्ममा उनले नक्कली दात्त र बंगुरको मुखौटा लगाएका थिए । ‘लप्पन छप्पन २’ मा भने उनको गेटअपमा निकै परिवर्तन गरिएको छ । उनको ग्याङस्टार लुक्सले दर्शकमा फिल्मप्रति उत्सुकता र कौतुहलता बढाएको छ । यसमा सौगातको पिताको भूमिका अभिनेता शिव श्रेष्ठले निभाउनेछन् । तर, उनको भूमिका भने सकारात्मक रहेको निर्माण टिमको भनाई छ ।
.jpg)
यस फिल्ममा दयाहाङ राई, अर्पण थापा, अनुपविक्रम शाही, नम्रता श्रेष्ठ, केरोलिन कोलिन्डा, सुरविना कार्की, सृजना सिना, देव कुमारलगायतका कलाकारहरुको पनि अभिनय रहनेछ । नेपालसहित अष्ट्रेलिया र युरोपमा खिचिने फिल्मका छायाँकार पुरुषोत्तम प्रधान हुन् । फिल्म फागुन ९ गते प्रदर्शनमा आउँदैछ । चिजकुमार श्रेष्ठ र प्रजापति सिवाकोटीले निर्माण गर्ने फिल्मको कार्यकारी निर्मातामा प्रकाश कुँवर र निर्मल कुमार मिश्र छन् ।

