भेट्रान निर्देशक विकासराज आचार्य निर्देशित फिल्म ‘नाई नभन्नु ल’ बाट सुखद डेब्यू गरेकी अभिनेत्री ऋचा सिंह ठकुरी बैबाहिक जीवनमा बाँधिएपछि काँचको पर्दाबाट टाढा छिन् । न त अचेल उनको फिल्मवृतमा चर्चा नै हुने गरेको छ । डेब्यू फिल्मको सफलतापछि उनको डिमान्ड निकै चुलिएको थियो । तर, गुणस्तरमा नभइ संख्यात्मक अभिनयमा जोड दिँदा उनी लामो रेसको घोडा बन्न सकिनन् ।
.png)
त्यसमाथि विवाहपछि अभिनेत्रीको करिअर सकिन्छ भन्ने गरिन्छ । अपबादबाहेक प्रायः अभिनेत्री विवाहपछि हातमा फिल्म नभएर पलायन भएका छन् । विवाहपछि फिल्ममा नदेखिनुले ऋचा पनि पलायन भएको गाईंगुईं सुनिन थालेको छ । तर, दर्शकले उनको कमब्याकको प्रतिक्षा गरेर बसेका छन् । ‘नाई नभन्नु ल’ पछि उनले एक दर्जन बढी फिल्ममा काम गरेकी थिइन् । तर, ती सबै उनलाई गर्नका लागि गरे जस्तो मात्र भयो ।
बिहेपछि उनले आफ्नै लगानीमा फिल्म ‘सुपर गोर्खे’ निर्माण गरेकी थिइन् । यसमा उनको प्रमुख भूमिका छ । यो फिल्म गत वर्ष प्रदर्शनमा आउने तयारीमा पनि थियो । तर, पटक-पटक प्रदर्शन मिति सर्दा पनि हलमा लाग्न सकेन । अब भने यो फिल्म साउन १० गतेबाट देशैभर प्रदर्शनमा आउने भएको छ । फिल्मलाई राज थापा (गजेन्द्र) ले निर्देशन गरेका हुन् । उनी ऋचाका श्रीमान् समेत हुन् ।
फिल्ममा ऋचा सिंह ठकुरी, सुरज सिंह ठकुरी, निराजन लुईंटेल, भूपेन्द्र क्षेत्र, भानु विष्ट, सचिन केसी, उत्तम विष्ट, मनोज राई लगायत कलाकारको अभिनय रहेको छ । यो फिल्ममा इश्वरी सिंह ठकुरी, रामकृष्ण, सुदिपजंग थापाको लगानी रहेको छ । सौरभ लामाले छायांकन गरेको फिल्मलाई बनिष शाह र सालिक दुलालले सम्पादन गरेका हुन् । निर्मात्री ऋचाले अब साउन १० गतेबाट फिल्म नसर्ने दाबी गरेकी छन् ।

