Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नियोजित रुपमा सरोज खनालले शौचालयमा फोटोसेसन गराएका हुन् : बोर्ड

फिल्मीखबर, काठमाडौं, 2019/07/15
शुक्रबार शीतल निवास (राष्ट्रपति भवन) को एउटा साँघुरो कोठाभित्र राष्ट्रप्रमुख विद्यादेवी भण्डारीको हातबाट 'होलसेल' मा प्रदान गरिएको वर्ष ०७३, ०७४ र ०७५ को 'राष्ट्रिय चलचित्र पुरस्कार' नतिजा र व्यवस्थापन दुबै कारणले विवादित र आलोचित बनेको छ । नीजि कम्पनीहरुले राजधानीमा गर्ने बाँडिचुँडी अवार्डभन्दा पृथक नदेखिएको देशको सर्वोच्च अवार्ड निष्पक्ष नभएको कतिपयको ठहर छ । भने, चलचित्र विकास बोर्डको कमजोर व्यवस्थापनका कारण कलाकारहरुले अपमान महसुस गरेका छन् । 
 
 
बोर्डले पहिलो पटक राष्ट्रिय अवार्ड कार्यक्रममा सांस्कृतिक कार्यक्रमको आयोजना गरेको थियो, जहाँ देशका परिचित कलाकारहरुले नृत्य प्रस्तुत गरेका थिए । कलाकारको नृत्य राष्ट्रपतिले निकै चाखपूर्वक हेरेकी थिइन् । तर, पर्दा पछाडि बसेर आफ्नो नृत्य गर्ने पालो कुरेर बसेका कलाकारहरुले भने कहिल्यै नविर्सने तीतो अनुभव संगाल्न बाध्य भए । ३५ बढी कलाकारलाई सास फेर्नै गाह्रो हुने सानो कोठामा राखिएको र बस्ने ठाउँ नभएर अभिनेता सरोज खनाल ट्वाइलेटको कमोडमा बसेको तश्विर बाहिरिएसँगै राष्ट्रिय अवार्डलाई लिएर सामाजिक सञ्जालमा विभिन्न खाले टिका-टिप्पणी भइरहेका छन् । 
 
अवार्ड सकिएलगत्तै ट्वाइलेटको कमोडमा बसेको तश्विर अभिनेता खनालले राष्ट्रिय अवार्डप्रति लक्षित गरेर अभिनेत्री करिश्मा मानन्धरले लेखेको स्टाटसको कमेन्ट बक्समा पोस्ट गरेका थिए । उनले तश्विरसँगै क्याप्सनमा लेखेका थिए, ‘सम्मानित हुने र सम्मान गर्ने सोफामा विराजमान थिए तर, हामी पर्फमर करिब ३५ जनालाई ८/१० को कोठामा कोचेर राखियो । म चाहिँ ट्वाइलेटको कमोडमा बसेर पालो पर्खी बसेँ ।’ अभिनेत्री मानन्धरले भने घुमाउरो शैलीमा राष्ट्रपतिको घरमा नाच्न आफूलाई स्वीकार्य नभएको भन्दै स्टाटस लेखेकी थिइन् । 
 
अभिनेता खनाल राष्ट्रपति भवनको ट्वाइलेटको कमोडमा बसेको तश्विर केही दिनयता सामाजिक सञ्जालमा निकै भाइरल भएको छ । यसले देशलाई नै लज्जित बनाएको भन्दै फिल्मकर्मीले टिप्पणी गरेका छन् । अभिनेता खनालले राष्ट्रपति भवनमा कलाकारको अपमान भएको भन्दै राष्ट्रिय अवार्डमा आफ्नो पहिलो र अन्तिम प्रस्तुती रहेको सञ्चारमाध्यममा अभिव्यक्ति दिँदै गर्दा यस विषयमा चलचित्र विकास बोर्डले आफ्नो धारणा व्यक्त गरेको छ । सोमबार साँझ एक विज्ञप्ती जारी गर्दै बोर्डले उक्त तश्विर नियोजित रुपमा खिचिएको दाबी गरेको छ । 
 
 
चलचित्र संग्रहालयका सूचना तथा अन्तर्राष्ट्रिय सम्बन्ध अधिकृत चिरञ्जीवी गुरागाईँद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘अभिनेता सरोज खनालले राष्ट्रपति भवनको सभा हलसँगैको शौचालयमा बसेर गरिएको फोटोसेसन कार्य कुनै असुविधाका कारण नभएर नियोजित रुपमै खिचिएको हाम्रो ठहर छ । शौचालयमै बस्नु पर्ने गरी कुनैपनि कलाकारलाई असुविधा नभएको पनि बोर्ड स्पष्ट पार्न चाहन्छ । साथै, कार्यक्रम अवधिभर कुनैपनि कलाकारले प्रतीक्षा कक्षमा बसिरहनु पर्ने बाध्यता नरहेको बोर्ड स्पष्ट पार्दछ ।’
 
'राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान' को सम्पूर्ण कार्यक्रम चलचित्र विकास बोर्डद्वारा आयोजना गरिएको र राष्ट्रपति कार्यालयले कार्यक्रम हल एवम् समय मात्र उपलब्ध गराएका कारण त्यहाँ भएका सबै कार्यको जिम्मेवारी बोर्डको रहेको जारी विज्ञप्तीमा उल्लेख छ । नृत्य सकिनासाथ सम्पूर्ण कलाकारलाई सभा हलमै बसेर कार्यक्रम हेर्ने व्यवस्था मिलाएको स्पष्ट पार्दै बोर्डले सम्पूर्ण सुविधा उपलब्ध गराउँदा गराउँदै पनि भूलवश कलाकारहरुलाई कुनै कमी-कमजोरी भए क्षमा माग्ने पनि बताएको छ । 
Most Visited News (monthly)