राष्ट्रप्रमुखको हातबाट प्रदान गरिने देशको सबैभन्दा गरिमामय ‘राष्ट्रिय चलचित्र पुरस्कार’ सधैं हेलत्वमा पर्दै आएको छ । राष्ट्रले बेवास्ता गरेको यो अवार्डको सुरुवात तत्कालीन चलचित्र विकास बोर्डका अध्यक्ष शम्भुजित बाँस्कोटाले २०६२ असार २७ मा नयाँ बानेश्वरस्थित वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा तत्कालीन राष्ट्रप्रमुख ज्ञानेन्द्र शाहलाई ल्याएर भएको थियो । तर, त्यसपछि राष्ट्रिय अवार्ड निरन्तर रुपमा हुन सकेको छैन ।
(2).jpg)
साल २०६२ पछि चार वर्षको अवार्ड एकैपटक ‘होलसेल’ मा २०६५ सालमा प्रदान गरियो । त्यसपछि तत्कालीन बोर्ड अध्यक्ष धर्मेन्द्र मोरवैताले २०६७ देखि २०७० सम्म गरी चार वर्षको अवार्ड राष्ट्रपति रामवरण यादवको हातबाट प्रदान गरे । तत्कालीन बोर्ड अध्यक्ष राजकुमार राईले पनि आफ्नो कार्यकालमा २०७१ र २०७२ को राष्ट्रिय अवार्ड गर्न सफल भए । तर, त्यसपछि तीन वर्ष राष्ट्रपतिले समय नदिँदा अवार्ड नै हुन सकेन ।
निकिता पौडेलले अध्यक्षबाट राजीनामा दिएपछि बोर्ड अध्यक्षमा नियुक्त भएका केशव भट्टराईको सामुन्ने रोकेर बसेको 'राष्ट्रिय चलचित्र पुरस्कार' गर्नुपर्ने ठूलो चुनौती थियो । अन्ततः उनले तीन वर्षदेखि हुन नसकेको राष्ट्रिय अवार्ड राष्ट्रप्रमुख विद्यादेवी भण्डारीको उपस्थितिमा सम्पन्न गरेका छन्, शुक्रबार साँझ राष्ट्रपति निवासमा । यसलाई अध्यक्ष भट्टराईको ठूलो सफलता मानिएको छ । तर, दुर्भाग्य ! सदाझैँ यसपटक पनि राष्ट्रिय अवार्ड विवादमुक्त हुन सकेन ।
अवार्ड पाउनेले खुसी हुँदै राष्ट्रपतिको हातबाट प्राप्त गरेको अवार्डको तश्विरले सामाजिक सञ्जाल रंग्याएका छन् । भने, अवार्ड नपाउनेले फेसबुकमार्फत् असन्तुष्टि व्यक्त गरिरहेका छन् । प्राइभेट कम्पनीले गर्ने अवार्डभन्दा पृथक नदेखिएको राष्ट्रिय अवार्डमा अभिनेता सरोज खनाल राष्ट्रपति भवनमा बस्ने ठाउँ नभएर ट्वाइलेटको कमोडमा बसेको तश्विर सार्वजनिक भएपछि 'राष्ट्रिय चलचित्र पुरस्कार' को गरिमामा ठूलो आँच पुगेको कतिपयको ठहर छ ।
अवार्ड पाउनेले 'राष्ट्रिय चलचित्र पुरस्कार' कार्यक्रममा भएको देशलाई नै लज्जित गराउने घटनाको विषयमा मुख खोलेका छैनन् । सबै अवार्ड कार्यक्रममा खिचेका फोटो फेसबुकमा पोस्ट्याएर बधाई खानै व्यस्त छन् । अवार्डमा उपस्थिति जनाउने र अवार्डको हकदार भएर पनि ‘ठिकै छ’ भनेर चित्त बुझाउन बाध्य कलाकार, निर्देशक तथा निर्माताले भने राष्ट्रपति भवनमा कलाकारको भएको अपमान र बाँडिचुँडि रुपमा बाँडिएको अवार्डको खुलेरै विरोध गरेका छन् ।
अभिनेत्री करिश्मा मानन्धरले राष्ट्रपतिको घरमा नाच्न आफूलाई स्वीकार्य नभएको भन्दै राष्ट्रिय अवार्ड बहिस्कार नै गरिन् । अभिनेता सरोज खनाल राष्ट्रपति निवासमा ट्वाइलेटको कमोडमा बसेको तश्विर साझेदार गरेर अभिनेता रमेश उप्रेतीले पनि 'राष्ट्रिय चलचित्र पुरस्कार' मा भएको कलाकारको अपमान सैह्य नभएको आशय व्यक्त गरेका छन् । चलचित्र विकास बोर्डको निकै फितलो व्यवस्थापनले राष्ट्रिय अवार्ड सम्मानित बन्न नसकेको कतिपयको गुनासो छ ।
'राष्ट्रिय चलचित्र पुरस्कार' कार्यक्रममा विभिन्न विधामा बाँडिएको अवार्डलाई लिएर पनि असन्तुष्टिका स्वर चर्को सुनिएको छ । अभिनेता पुष्प खड्काले अवार्ड समारोहमा नाचेर अवार्ड पाएको गसिपले फिल्मवृत गर्मारहेको अवस्थामा गत वर्ष प्रदर्शनमा आएको समीक्षात्मक रुपमा सफल फिल्म ‘हरी’ ले कुनै विधा अवार्ड नपाउँदा केही फिल्मकर्मीले असन्तुष्टि व्यक्त गरेका छन् । यो फिल्मले अवार्ड नपाउनुको कारण जुरीले फिल्म नै नबुझेको कतिपयको टिप्पणी छ ।
'जात्रा', 'शत्रु गते' र 'जात्रै जात्रा' का निर्देशक प्रदीप भट्टराईले ‘हरी’ ले अवार्ड नपाउनुको कारण जुरी कमजोर हुनुलाई मानेका छन् । जुरीप्रति लक्षित गर्दै उनले फेसबुकमा स्टाटस लेखेका छन्, 'तपाईंको रिजल्ट राम्रो । तपाईंले लेखेको कारणले मात्र हैन । कहिले काहीँ तपाईंको कपि जाच्ने मान्छे तपाईं भन्दा कमजोर पर्यो भने पनि रिजल्ट बिग्रने सम्भावना हुनसक्छ (जय हरी) ।' उनको स्टाटसमा अभिनेता आसिफ शाहले 'हरी' को हरिविजोग भयो नी हनुमानजी' भनेर कमेन्ट गरेका छन् ।
'जात्रा' र 'जात्रै जात्रा' का निर्माता तथा कलाकार रविन्द्र सिंह बानियाँले पनि खोपीको नाच र खल्तीको गानले 'राष्ट्रिय चलचित्र पुरस्कार' भएको भन्दै टिप्पणी गरेका छन् । उनले दोस्रो स्टाटस अझ तगडा छ । उनले फिल्मलाई खेलकुद मन्त्रालयमा राख्न आग्रह गर्दै लेखेका छन्, 'चल-चित्र अवार्ड हुनुपर्ने, चल-खेल अवार्ड पो भएछ ! चलचित्रलाई खेलकुद मन्त्रालय अन्तर्गत राखियोस् ।' अवार्डमा नृत्य गरेकी अभिनेत्री नीता ढुंगाना पनि राष्ट्रिय अवार्डप्रति सन्तुष्ट छैनन् ।
अवार्ड पाउन राम्रो फिल्म बनाउनु नपर्ने तर्क उनको छ । राष्ट्रिय अवार्डप्रति लक्षित गर्दै उनले स्टाटस लेखेकी छन्, 'राम्रो फिल्म बनाउनु पर्दैन । मात्र...सँग...मिलाउनुस् सबै कुरा हासिल गर्न सकिन्छ रे नी त २०७४ ।' उनको यो स्टाटस आफूले राष्ट्रिय अवार्ड नपाएकोप्रति रहेको बुझ्न गाह्रो पर्दैन । किनकि, अस्कारमा नेपालका लागि छनोट भएको फिल्म 'पञ्चायत' बाट उनी उत्कृष्ट अभिनेत्रीको राष्ट्रिय अवार्ड पाउनेमा विश्वस्त थिइन् । तर, अवार्ड अभिनेत्री बेनिशा हमालले चुमिन् ।
आफूले अवार्ड नपाएका कारण राष्ट्रिय अवार्डको आलोचना र विरोध गर्नु सामान्य कुरा हो । तर, केही विधामा बाँडिएको राष्ट्रिय अवार्डप्रति अधिकांश फिल्मकर्मीहरु रुष्ट छन् । कोही फिल्म क्षेत्रकै बदमान हुने डरले चुप बसिरहेका छन् भने कोही बोल्दै नबोले भोलीका दिनमा अझ भद्रगोल हुने भन्दै सामाजिक सञ्जालमार्फत् 'राष्ट्रिय चलचित्र पुरस्कार' को गरिमा उचो र सम्मानित बनाउन सम्बन्धित निकायलाई झकझकाइरहेका छन् । यसतर्फ बोर्डको ध्यान पो गयो/गएन कुन्नी ?

