शुक्रबारबाट प्रदर्शनमा आएको अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री शिल्पा मास्के स्टारर फिल्म ‘सानो मन’ ले दर्शकबाट राम्रो प्रतिक्रिया पाएको छ । प्रदर्शनको अघिल्लो दिन (बिहीबार) राजधानीमा भएको प्रिमियरमा तारिफ बटुलेको यो फिल्मलाई दर्शकले उत्कृष्ट बताएको निर्देशक सुयोग गुरुङ्गको भनाई छ । फिल्मको प्रस्तुती र कलाकारको अभिनयलाई दर्शकले राम्रो भनेका छन् ।
.jpg)
.jpg)
केही दिनयता निरन्तर रुपमा परेको पानीका कारण शुक्रबार फिल्मको व्यापारमा ठूलो असर पुगेको थियो । दर्शकको खासै राम्रो साथ पाउन सकेको थिएन । शनिबार भने मौसमले साथ दिँदा फिल्म बिहानैदेखि देशभर हाउसफुल रहेको निर्देशक गुरुङ्ग बताउँछन् । उनका अनुसार, शुक्रबारको अनुपातमा शनिबार दर्शकको संख्या ह्वात्तै वृद्धि भएको थियो । आइतबारबाट ‘वर्ड अफ माउथ’ ले दर्शक अझै बढ्नेमा निर्माण टिम विश्वस्त छ ।
यो फिल्मबाट सुयोग गुरुङ्गले निर्देशनमा राम्रो सम्भावना देखाएका छन् । फिल्ममा उनले कुशलतापूर्वक आफ्नो निर्देशकीय क्षमता प्रस्तुत गरेका छन् । ‘सानो मन’ का मेरुदण्ड अभिनेता आयुष्मान हुन् । फिल्ममा उनको भूमिका बलशाली छ र अभिनय पनि उम्दा गरेका छन् । उनको अभिनय अहिलेसम्मकै उत्कृष्ट रहेको प्रतिक्रिया रहेको दर्शक प्रतिक्रिया छ । अभिनेत्री शिल्पाले पनि राम्रो अभिनय पस्किएकी छन् ।
सक्षम सुवेदी, गौरी मल्ल, विशाल पहारी, शिशिर वाङदेल, रश्मी भट्टलगायतका कलाकारहरुको अभिनय रहेको फिल्ममा युवाहरुको मनोविज्ञानलाई यथार्थपरक शैलीमा प्रस्तुत गरिएको छ । आयुष्मान र शिल्पाको प्रेममा दर्शकलाई अपनत्व महसुस गराउन फिल्म सफल छ । फिल्मका केही संवादहरु निकै मर्मस्पर्शी र झट्टै जिब्रोमा झुण्डिने खालका छन् । यद्यपि, पटकथा केही फितलो छ । तर, प्रस्तुती राम्रो छ । फिल्मको छायांकन पक्ष प्रशंसनिय छ ।
(1).jpg)
.jpg)
यसै फिल्मबाट निर्देशक गुरुङ्ग निर्देशनमा आएका हुन् । आलोक शुक्लाको डि.ओ.पि. रहेको फिल्मलाई सुयोग गुरुङ र मिलन श्रेष्ठले सम्पादन गरेका छन् । समिर सुनुवार र निर्देशक गुरुङको संयुक्त लेखन रहेको छ । ओ.पि.जी फिल्मस्, ए प्लस इन्टरटेन्मेन्ट र हाई टेक इन्टरटेन्मेन्टले संयुक्त लगानी गरेको यो फिल्मका निर्माताहरू योगेश गुरुङ, राजीव श्रेष्ठ, रमेश के. मित्तल र राजेन्द्र मानन्धर हुन् ।

