गएको असार १३ गतेबाट प्रदर्शनमा आएको अभिनेता दयाहाङ राई स्टारर फिल्म ‘आप्पा’ ले नेपालमा अपेक्षाकृत व्यापार गर्न चुकेको छ । ‘वर्ड अफ माउथ’ खासै राम्रो नहुँदा फिल्मले नेपालबाट लगानी सुरक्षित गर्न असम्भव देखिन्छ । शुक्रबारबाट तेस्रो हप्तामा प्रदर्शन आरम्भ गरेको फिल्मले प्रदर्शनको दुई हप्तामा घरेलु बजारबाट १ करोड ३० लाखको व्यापार गरेको निर्देशक अनमोल गुरुङले जानकारी दिएका छन् ।
(1).jpg)
तेस्रो साताबाट यो फिल्म प्रायः सिंगल थिएटरबाट उत्रिएको छ । राजधानीका केही मल्टीप्लेक्समा भने एक/दुई शो पाइरहेको छ । तर, फिल्मलाई दर्शकको चर्को खडेरी छ । त्यसमाथि केही दिनयता निरन्तर रुपमा परेको पानीले फिल्मको व्यापारमा ठूलो असर पुगेको छ । नेपालमा राम्रो व्यापार गर्न नसके पनि ‘आप्पा’ ले भारतबाट लगानी उठाउने देखिएको छ । फिल्मलाई भारतमा बस्ने नेपालीले निकै रुचाएका छन् ।
भारतको २५ शहरमा चलेको यो फिल्मले प्रदर्शनको एक हप्तामा १ करोड ८८ लाख भारु अर्थात् नेपाली ३ करोड ८० हजारको व्यापार गरेको निर्देशक गुरुङको भनाई छ । पहिलो साताझैं दोस्रो साता पनि भारतको हलमा दर्शकको साथ राम्रो पाउनेमा निर्माण टिम विश्वस्त छ । केही दिन अगाडि अभिनेता दयाहाङले भारतको केही हल पगेर दर्शकसँग साक्षात्कार गरेका थिए । त्यहाँ उनको जबरजस्त क्रेज देखिएको थियो ।
बुबा र छोराको भावनात्मक सम्बन्धको कथा वाचन गरेको फिल्म ‘आप्पा’ मा रुदेन सादा लेप्चाको लगानी रहेको छ । फिल्ममा दयाहाङका अलावा सिद्धान्त राज तामाङ, अल्लोना काबो लेप्चा, तुलसी घिमिरे, अरुणा कार्कीलगायतका कलाकारको अभिनय छ । अ माउन्टेन स्टोरीज प्रोडक्सन र सिनेमा आर्टको संयुक्त ब्यानरमा निर्माण भएको फिल्ममा शैलेन्द्र डि. कार्कीको छायांकन र निमेष श्रेष्ठको सम्पादन रहेको छ ।

