Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(8 votes, avg 4.62/5.00)
Text size:-
+
-

विवादमा फस्यो ‘राष्ट्रिय चलचित्र पुरस्कार’, सरोज खनाल ट्वाइलेटको कमोडमा

फिल्मीखबर, काठमाण्डौ, 2019/07/13
नेपालमा प्रत्येक वर्ष एक दर्जनको आसपासमा फिल्म अवार्ड आयोजना हुने गर्दछन् । तर, आजसम्म कुनै अवार्ड विवादरहित हुन सकेको छैन । राम्रोलाई भन्दा हाम्रोलाई दिने प्रवृत्तिका कारण नेपालमा फिल्म अवार्ड सधैं विवादित बन्ने गरेको छ । न दिनेले यसको महत्त्व बुझाउन सकेका छन्, न लिनेले यसको महत्त्व महसुस गर्न सकेका छन् । एउटा अवार्डमा उत्कृष्ठ ठहरिएको कलाकार अर्को अवार्डको मनोनयनमा पनि पर्दैन ।  नेपाली फिल्म अवार्डमा 'पैसा र आफन्तवाद' हाबी छ ।
 
उत्कृष्ट कामको सम्मान र भविष्यका लागि प्रोत्साहनस्वरुप अवार्ड प्रदान गरिनु पर्ने हो । तर, नेपालमा कामको मुल्यांकन गरेर अपवादले मात्र अवार्ड पाउँछन् । प्रायः पैसाको बार्गेनिङमा अवार्ड बाँडिने गरिन्छ । नेपालमा अवार्ड यतिसम्म लाजमर्दो हुन थालेको छ कि, सह-अभिनेतालाई उत्कृष्ट अभिनेताको अवार्ड निर्धक्क दिइन्छ । न राम्रो व्यापार न राम्रो तारिफ पाएको फिल्म उत्कृष्ट घोषित हुन्छ । अवार्ड समारोहमा नाचेपछि कुनै न कुनै विधामा अवार्ड थमाइन्छ । 
 
 
नेपाली फिल्म अवार्ड ‘दिनेलाई भन्दा हेर्नेलाई लाज’ भनेजस्तो हुन थालेको छ । यसले फिल्म अवार्डको गरिमा त गम्दै गएको छ नै दर्शक र फिल्मकर्मीमा समेत चासो शुन्य बराबर छ । अचेल फिल्म अवार्ड समारोहमा सहभागी हुनका लागि आयोजकले फोन गरेर बोलाउँदा पनि कलाकारहरु उपस्थित हुन छाडेका छन् । पुराना कलाकारहरु फुर्सदको समय सदुपयोग गर्न धेरथोर पुग्छन् । अहिलेका चलेका कलाकारहरुको त नाक-मुख देखिन्न । पुग्नेहरु पनि अवार्ड पाउने पक्का भएपछि मात्र उपस्थित हुन्छन् । 
 
प्राइभेट कम्पनीले गर्ने अवार्ड मात्र होइन नेपालमा राष्ट्रपतिको हातबाट सूचना तथा सञ्चार मन्त्रालय र चलचित्र विकास बोर्डले प्रदान गर्ने 'राष्ट्रिय चलचित्र पुरस्कार' पनि विवादबाट टाढा हुन सकेको छैन । नेपालमा राष्ट्रिय पुरस्कारको आफ्नै गरिमा छ । तर, यो अवार्ड पनि विवादमुक्त रहन नसक्दा दर्शक र फिल्मकर्मीमा अवार्डप्रतिको सम्मान झनै गिरेको छ । हिजो (शुक्रबार) साँझ शीतल निवास (राष्ट्रपति भवन) मा तीन वर्षदेखि हुन नसकेको राष्ट्रिय अवार्ड एकसाथ बाँडियो । तर, यसपटक पनि विवादरहित हुन सकेन । 
 
अवार्ड सम्पन्न भएसँगै सामाजिक सञ्जालमा फिल्मकर्मीबाट 'राष्ट्रिय चलचित्र पुरस्कार' को आलोचना तथा विरोध हुन थालेको छ । अवार्ड पाउनेले गर्वले छाती चौडा भएको भन्दै राष्ट्रपतिको हातबाट प्राप्त गरेको अवार्डको फोटो सामाजिक सञ्जालमा हालेर लाइक्स र कमेन्ट गनेर बसेका छन् । नपाउनेले असन्तुष्टि जनाएका छन् । असन्तुष्टि जनाउने मध्येका एक हुन् फिल्म 'पञ्चायत' का निर्देशक शिवम् अधिकारी । उनले नेपालबाट अस्कारका लागि छानिएको आफ्नो फिल्मले राष्ट्रिय अवार्ड नपाएको भन्दै फेसबुकमार्फत् असन्तुष्टि व्यक्त गरे । 
 

शुक्रबार साँझ फेसबुकमा स्टाटस लेख्दै उनले ‘अवार्ड किन्न पैसा बोकेर हिँड्नु पर्ने हो’ भन्दै चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराई प्रश्न गरेका थिए । तर, उनले केही घण्टामा नै स्टाटस डिलिट गरे । निर्देशक अधिकारीले उक्त स्टाटस कसैको दबाबमा हटाए वा स्वइच्छाले ? त्यो भने उनै जान्दछन् । यद्यपि, नेपालबाट अस्कारका लागि छनोट भएको फिल्म (पञ्चायत) ले कुनै विधामा राष्ट्रिय अवार्ड प्राप्त नगर्नु आफैंमा आश्चर्यको कुरा भने हो । तर, नेपालमा पाउनु पर्ने फिल्मले अवार्डको मुख नदेख्नु अनौठो भने अवश्य होइन । 
 
वर्षौदेखि शीतल निवासको साँधुरो कोठामा हुँदै आएको राष्ट्रिय चलचित्र पुरस्कारमा थुप्रै गिनेचुनेका कलाकारले उपस्थिति नै जनाएनन् । त्यसमध्येकी एक हुन् अभिनेत्री करिश्मा मानन्धर । उनले फेसबुकमार्फत् घुमाउरो शैलीमा राष्ट्रपतिको घरमा गएर नाच्न आफूलाई स्वीकार्य नभएको बताएकी छन् । अवार्ड सम्पन्न भएपछि उनको स्टाटसको कमेन्टमा अभिनेता सरोज खनालले राष्ट्रपति निवासमा बस्ने ठाउँ नभएर ट्वाइलेटको कमोडमा आराम गर्दै गरेको तश्विर पोस्ट गरेका छन्, जसले 'राष्ट्रिय चलचित्र पुरस्कार' कै खिल्ली उडाएको छ ।
 
उनले तश्विरसँगै लेखेका छन्, 'सम्मानित हुने र सम्मान गर्ने त सोफामा विराजमान थिए तर हामी पर्फमर करीब ३५ जनालाई ८ बाइ १० को कोठामा कोचेर राखे । म चाहिँ ट्वाइलेटको कमोडमा बसेर आफ्नो पालो पर्खी बसे । के गरुँ आफ्नै क्षेत्रको दुर्दशा । पब्लिकलाई देखाएर आफ्नै बेइज्जत हुन्छ र शेयर गरिनँ । तर, मनको बह कसैलाई भन्नु भन्छन् । त्यसैले आई शेयर विथ यू ।' उनले 'राष्ट्रिय चलचित्र पुरस्कार' मा नृत्य प्रस्तुत गरेका थिए । 
 
 
अभिनेता खनाल राष्ट्रपति निवासमा बस्ने ठाउँ नभएर ट्वाइलेटको कमोडमा बसेको तश्विर यतिबेला सामाजिक सञ्जालमा निकै भाइरल भएको छ । उक्त तश्विर बाहिरिएपछि फिल्मकर्मीले राष्ट्रिय अवार्डको व्यवस्थापन गरेको चलचित्र विकास बोर्डको आलोचना गरेका छन् । अवार्डमा नृत्य गर्ने मध्येका एक अभिनेता रमेश उप्रेतीले पनि अभिनेता खनाल कमेन्टको 'स्क्रिन सट' आफ्नो फेसबुकमा साझेदार गरेका छन् । यसको अर्थ, उनी पनि 'राष्ट्रिय चलचित्र पुरस्कार' को व्यवस्थापनबाट रुष्ट छन् । 
 
राष्ट्रपति भवनमा बस्ने ठाउँ नभएर देशका गहन भनिने कलाकार ट्वाइलेटमा बस्न बाध्य हुनुले 'राष्ट्रिय चलचित्र पुरस्कार' को गरिमा कति उचो वा सम्मानित बनायो ? कलाकारको सम्मान र प्रोत्साहनमा आयोजना भएको देशको सबैभन्दा ठूलो पुरस्कारमा कलाकारले नै अपमान महसुस गर्नुले राष्ट्रिय अवार्डको औचित्यमाथि नै ठूलो प्रश्न उठेको छ । यद्यपि, चलचित्र विकास बोर्डले तीन वर्षदेखि रोकिएको अवार्ड गरेर एउटा सफलता भने हासिल गरेको छ । तर, अवार्ड गर्न सफल भएकोमा गर्व गर्ने वा कलाकारको अपमान भएकोमा माफी पनि माग्ने त्यो बोर्डमा निहित छ ।
 
पुष्पले नाचेर पाएका हुन् अवार्ड ?
 
नेपालमा फिल्म अवार्ड पाउन गाह्रो छैन । अवार्ड पाउन दुई कुरा गर्नु पर्छ । पहिलो, पैसामा बार्गेनिङ । दोस्रो, अवार्ड समारोहमा नृत्य प्रस्तुत । दुईमध्ये एक गरेको खण्डमा अवार्ड पाउने पक्का हुन्छ । प्राइभेट कम्पनीले गर्ने अवार्डमा यो कुरा सामान्य हो । तर, राष्ट्रपतिले प्रदान गर्ने 'राष्ट्रिय चलचित्र पुरस्कार' मा पनि यसको गन्ध देखिएको फिल्मकर्मीबीच चर्चा सुरु भएको छ । पहिलो पटक राष्ट्रिय अवार्डमा सांस्कृति कार्यक्रमको आयोजना गरिएको थियो, जहाँ परिचित अनुहारहरुको नृत्य गरेका थिए । 
 
 
नृत्य गर्ने ३५ जनाको टोलीमा अभिनेता पुष्प खड्का पनि थिए । उनले २०७४ को 'राष्ट्रिय चलचित्र पुरस्कार' मा फिल्म 'मंगलम' बाट उत्कृष्ट अभिनेताको अवार्ड राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्राप्त गरे । तर, अवार्ड समारोहमा नृत्य गरेका कारण उनलाई अवार्ड दिइएको चर्चा फिल्मवृतमा चलेको छ । हुनत, यसप्रकारको चर्चा हुनु स्वभाविक हो । किनकि, प्रायः अवार्ड समारोहमा नाचेपछि अवार्ड पाइन्छ । यसबाट 'राष्ट्रिय चलचित्र पुरस्कार' कसरी अछुतो रहन सक्यो होला र ?
 
यद्यपि, अभिनेता पुष्प 'राष्ट्रिय चलचित्र पुरस्कार' का हकदार चाहिँ अवश्य हुन् । उनले फिल्म 'मंगलम' मा जीवन्त अभिनय पस्किएका थिए । उनको अभिनयको सर्वत्र प्रशंसा भएको थियो । यसकारण पनि उनले गत वर्ष नेपालमा आयोजना भएका प्रायः फिल्म अवार्डमा उत्कृष्ट अभिनेता (जुरी) को अवार्ड चुमेका थिए । 'राष्ट्रिय चलचित्र पुरस्कार' मा उनले उत्कृष्ट अभिनेताको अवार्ड जित्नु विवाद गर्ने विषय नहोला । तर, अवार्ड समारोहमा नृत्य गरेपछि ‘नाचेर अवार्ड पाएको’ भन्ने चर्चा त हुने नै भयो । 
Most Visited News (monthly)