अन्ततः प्रतिक्षाको घडी सकिएको छ । शुक्रबारबाट देशभरका मल्टीप्लेक्स र सिंगल थिएटर सबैतिर फिल्म ‘सानो मन’ प्रदर्शनमा आएको छ । रिलिजपूर्व राम्रो हाइप बनाएको फिल्मले बक्सअफिसमा राम्रो व्यापार गर्ने अनुमान गरिएको छ । म्यूजिकल लभस्टोरी कथामा बनेको फिल्ममा अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री शिल्पा मास्के केन्द्रिय भूमिकामा छन् । फिल्मको मूल कथा नै दुईको वरिपरि घुमेको छ ।
.jpg)

बिहीबार साँझ राजधानीको कुमारी हलमा फिल्मको भव्य प्रिमियरको आयोजना गरिएको थियो । मुसलधारे पानीका बावजुद पनि प्रिमियरमा फिल्मकर्मीहरुको बाक्लो उपस्थिति रहेको थियो । अभिनेत्री प्रियंका कार्की, निर्देशक दीपेन्द्र लामा, कलाकार निर्मल शर्मा, निर्माता माधव वाग्ले, निर्देशक साम्तेन भुटिया, निर्माता रोहित अधिकारीलगायत फिल्म हेर्न पुगेका थिए । करीब साढे २ घण्टा लामो लेन्थको फिल्मलाई सबैले राम्रो भनेका छन् ।
यो फिल्मबाट सुयोग गुरुङ्गले निर्देशनमा राम्रो सम्भावना देखाएका छन् । फिल्ममा उनले कुशलतापूर्वक आफ्नो निर्देशकीय क्षमता प्रस्तुत गरेका छन् । उनीबाट भोलीका दिनमा अझ राम्रो फिल्मको अपेक्षा राख्न सकिन्छ । ‘सानो मन’ का मेरुदण्ड अभिनेता आयुष्मान हुन् । फिल्ममा उनको भूमिका बलशाली छ र अभिनय पनि उम्दा गरेका छन् । प्रिमियरमा उपस्थित सबैले उनको अभिनय अहिलेसम्मकै उत्कृष्ट रहेको प्रतिक्रिया दिएका थिए ।

.jpg)
अभिनेत्री शिल्पाले पनि आफ्नो भूमिकालाई न्याय गर्ने कोशिश गरेकी छन् । सक्षम सुवेदी, गौरी मल्ल, विशाल पहारी, शिशिर वाङदेल, रश्मी भट्टलगायतका कलाकारले पनि राम्रो अभिनय पस्किएका छन् । फिल्मको सबैभन्दा सबल पक्ष भनेको छायांकन हो । छायाँकार अलोक शुक्लाको काम प्रशंसनिय छ । प्रिमियर पश्चात् फिल्मकर्मीबाट प्राप्त प्रतिक्रियाले खुसी देखिएका निर्देशक गुरुङ्गले आफूहरुको मेहनत सफल भएको बताए ।
सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले भने, 'फिल्म हेरेपछि पाएको प्रतिक्रियाले मलाई नर्भस बनाएको छ । मेहनतको कदर हुँदा एकदमै खुसी महशुस भएको छ । मैले मेरो क्षमताको साठी प्रतिशत मात्र काम गरेको छु जस्तो लागेको थियो तर मैले सय प्रतिशत नै काम गरेको रहेछु भन्ने लागेको छ ।' अभिनेत्री शिल्पाले नयाँ निर्देशकबाट यति धेरै अपेक्षा नगरेको भएता पनि प्रमाणित गरेको बताइन् । अभिनेता आयुष्मानले फिल्मलाई मिलेको प्रतिक्रियाले हौसिएको बताए ।

.jpg)
ओ.पि.जी फिल्मस्, ए प्लस इन्टरटेन्मेन्ट र हाई टेक इन्टरटेन्मेन्टको संयुक्त ब्यानरमा यो फिल्म निर्माण भएको हो । सुयोग गुरुङ र मिलन श्रेष्ठले मिलेर फिल्मको सम्पादन गरेका छन् । फिल्मका निर्माताहरू योगेश गुरुङ, राजीव श्रेष्ठ, रमेश के. मित्तल र राजेन्द्र मानन्धर हुन् । रित बोहरा मुख्य सहायक निर्देशक हुन् भने प्रोडक्सन म्याजेनर यम प्रसाद ओली हुन् । फिल्ममा युवाहरुको मनोविज्ञानलाई यथार्थपरक शैलीमा प्रस्तुत गरिएको छ ।

