हुलमुलका फिल्म गरेर ओरालो लागेको करिअरलाई जेनतेन थेगिरहेकी अभिनेत्री प्रियंका कार्कीले पुनः एकपटक कलाकारको ठूलो भीड रहने फिल्ममा काम गर्ने भएकी छन् । हाल आफ्नै निर्माण, निर्देशन र अभिनयमा एक वेब सिरिज बनाइरहेकी उनी हास्यकलाकार शिवहरी पौडेलले निर्देशन गर्न लागेको फिल्म ‘लक्का जवान’ मा भित्रिएकी हुन् ।
बुधबार फिल्मका सह-निर्माता किरण केसीको कार्यालयमा उनीसँग निर्माण टिमले कागजी सम्झौता गरेको छ । यसअघि फिल्म ‘छक्का पञ्जा’ मा प्रियंका र शिवहरीले सँगै काम गरेका थिए । ‘लक्का जवान’ मा प्रियंकाको भूमिकाको बारेमा निर्माण टिमले कुनै जानकारी दिएको छैन । तर, फिल्मकी उनी सोलो हिरोइन भने होइनन् । अझै दुई अभिनेत्रीको प्रवेश हुने स्रोत बताउँछ ।
.jpg)
यो फिल्ममा अभिनेता दीलिप रायमाझी पनि सह-निर्माताको रुपमा रहेका छन् । फिल्ममा प्रमुख भूमिकाका लागि शिवहरीले दीलिपकी छोरी दिव्यालाई अफर गरेका छन् । हाल अमेरिकामा रहेकी उनको फिल्म खेल्ने इच्छा भएता पनि ‘लक्का जवान’ गर्ने/नगर्ने निर्णय दिएकी छैनन् । यद्यपि, फिल्ममा प्रवेश अगावै उनको सुन्दरताको फिल्म क्षेत्रमा चर्चा सुरु हुन थालेको छ ।
आमा बंगालमुखी फिल्म प्रोडक्सन प्रा.लि.को ब्यानरमा निर्माण हुने ‘लक्का जवान’ मा ध्रुव पन्त र अनुसुया श्रेष्ठ पन्तको लगानी रहनेछ । टेलिभिजनको पर्दामा एक समयमा राम्रै राज गरेका शिवहरी पहिलो पटक फिचर फिल्म निर्देशन गर्न कस्सिएका हुन् । जीवन्त अभिनय गर्ने उनको निर्देशकीय यात्रा कति सफल रहने हो ? यसको भने प्रतिक्षा गर्नैपर्ने हुन्छ ।

