कुनै पनि भिडियो सामाग्रीको सफलता र असफलता मापन गर्ने तराजुको रुपमा लिने गरिएको छ, युट्युब ट्रेन्डिङ । फिल्म, गीतसंगीत वा अन्य विषयमा बनेका भिडियो ट्रेन्डिङमा परे सफलता मानिन्छ । नभए, असफलको ट्याग झुण्डिन्छ । त्यसैले जो कोही आफ्नो भिडियो सामाग्रीलाई युट्युब ट्रेन्डिङमा ल्याउन अनेकन उपायहरु अपनाउँछन् । प्रायः डलर तिरेर 'बुस्ट' गर्छन् । तर, कतिपय यसलाई अस्वस्थ प्रतिस्पर्धा मान्दछन् ।

सफलताको मानक बनेको युट्युब ट्रेन्डिङको शिर्ष तीन स्थान केही दिनदेखि दुई नेपाली र एक साउथ इन्डियन फिल्मले कब्जा गरेको छ । दुई दिनअघि युट्युब रिलिज भएको निकेश खड्का निर्देशित फिल्म ‘फाटेको जुत्ता’ नेपाल युट्युब ट्रेन्डिङको पहिलो नम्बरमा छ । फिल्मलाई अहिलेसम्म २२ लाख बढीले हेरिसकेका छन् । २८ हजार लाइक्स मिलेको फिल्मलाई पब्लिक कमेन्टमा मिश्रित प्रतिक्रिया प्राप्त छ । यो फिल्मले हलमा राम्रो व्यापार गरेको थियो ।
सौगात मल्ल, कामेश्वर चौरासिया, प्रियंका कार्की, रविन्द्र झालगायतका कलाकारहरुको प्रमुख भूमिका रहेको ‘फाटेको जुत्ता’ मा अभिनेता दयाहाङ राईको अथिती भूमिका छ । अर्जुन कुमारले फिल्मको निर्माण गरेका हुन् । उनी चाँडै अभिनेता सौगातलाई लिएर ‘चपली हाइट ३’ बनाउँदैछन्, निर्देशन निकेशले नै गर्नेछन् । निर्माता अर्जुन ‘फाटेको जुत्ता’ लाई युट्युबमा मिलेको प्रतिक्रियाले उत्साहित बनाएको बताएका छन् ।
युट्युब ट्रेन्डिङको दोस्रो नम्बर भने साउथ सुपरस्टार नागार्जुनका छोरा नागा चैतन्य स्टारर फिल्म ‘तड्का २’ ले कब्जा गरेको छ । जसका कारण ‘फाटेको जुत्ता’ भन्दा बढी भ्यूज पाएर पनि सुदर्शन थापा निर्देशित फिल्म ‘रामकहानी’ तेस्रो नम्बरमा खुम्चिनु परेको छ । युट्युब रिलिजको २ दिनमा अभिनेत्री पूजा शर्मा र अभिनेता आकाश श्रेष्ठ स्टारर यो फिल्मलाई २५ लाखभन्दा बढीले हेरिसकेका छन् । फिल्मलाई निकै राम्रो प्रतिक्रिया मिलेको छ ।
युट्युब ट्रेन्डिङमा साउथ फिल्म ‘तड्का २’ र नेपाली फिल्म ‘फाटेको जुत्ता’ को चेपुवामा परेको ‘रामकहानी’ मा केदार घिमिरे, जितु नेपाल, विल्सन विक्रम राई, रविन्द्र झा, राजाराम पौडेलेलगायतका कलाकारहरुको प्रमुख भूमिका रहेको छ । फिल्मलाई सुदर्शन र पूजाले मिलेर निर्माण गरेका हुन् । हलमा प्रदीप खड्काको फिल्म 'रोज' सँग भिडन्त गरेको यो फिल्मले लगानी उठाउन सफल भएको थियो ।
‘फाटेको जुत्ता’ हेर्नुहोस् :-
‘रामकहानी’ हेर्नुहोस् :-

