विदेशी फिल्मको कथा र प्लट टिपन-टापन गरेर थुप्रै नेपाली फिल्म बनेका छन् । तर, कुनै कपी राइट्स लिएर बनेका होइनन् । तात्तातो उदाहरण अभिनेता प्रदीप खड्का स्टारर फिल्म ‘लभ स्टेशन’ हो । यो फिल्म एक टर्किस फिल्मको हुबहु फोटोकपी हो । तर, यसका निर्माताले उक्त फिल्मको टिमबाट कपी राइट्स लिएको थिएनन् । चोरेर बनाइएको थियो । कुनै पनि फिल्मको कथामा फिल्म बनाउँदा रिमेक अधिकार खरिद गर्नुपर्छ ।
सुपरहिट विदेशी फिल्मको रिमेकका लागि कपी राइट्स लिन निकै महँगो रकम बुझाउनु पर्ने हुन्छ । यसकारण पनि नेपाली निर्माताले आँट जुटाउँदैनन् । बलिउडमा भने केही वर्षयता सुपरहिट तेलुगू फिल्मको रिमेक धमाधम बनिरहेका छन् र बक्सअफिसमा राम्रो पैसा पनि छापेका छन् । गएको तीन हप्तादेखि बक्सअफिसमा धूम मच्चाएको अभिनेता शाहिद कपूर स्टारर फिल्म ‘कबीर सिंह’ पनि तेलुगू फिल्म 'अर्जुन रेड्डी' को हिन्दी रिमेक हो ।

'अर्जुन रेड्डी' मा विजय देवराकोन्डाको अभिनय थियो । यो फिल्मले उनलाई रातारात 'स्टार' बनाएको थियो । यसको हिन्दी रिमेकले अभिनेता शाहिदलाई सफलताको उत्कर्षमा पर्याएको छ । यो फिल्म मलायम भाषामा पनि बन्दैछ । यसबीच, नेपाली भाषामा पनि 'अर्जुन रेड्डी' को रिमेक बन्ने भएको छ । फिल्ममा गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘शुभ लभ’ बाट डेब्यू गरेका ‘ज्योतिष हिरो’ हरिहर अधिकारी प्रमुख भूमिकामा हुने चर्चा छ ।
यद्यपि, यसबारेमा अहिलेसम्म कुनै आधिकारिक जानकारी प्राप्त भएको छैन । अबको केही दिनमा 'अर्जुन रेड्डी' को नेपाली रिमेकको आधिकारिक रुपमा घोषणा गर्ने तयारी भइरहेको जानकारी प्राप्त छ । यस फिल्मका लागि हरिहर केही दिनयता जिममा पसिना बगाइरहेका छन् भने कपाल र दाह्री पनि बढाइरहेका छन् । १० लाख भारुमा उक्त फिल्मको रिमेक अधिकार एक नेपाली कम्पनीले लिएको जानकारी प्राप्त छ ।
ज्योतिष क्षेत्रमा सानै उमेर लोभलाग्दो सफलता हात पारे पनि डेब्यू फिल्मबाट असफलता भोगेका हरिहर 'अर्जुन रेड्डी' को नेपाली रिमेकले आफ्नो फिल्मी करिअरलाई उचाईमा पर्याउनेमा विश्वस्त छन् । त्यसैले उनले दिलोज्यान दिएर मेहनत गरिरहेका छन् । यद्यपि, उनी फिल्मको विषयमा भने मौन छन् । यसअघि 'नोभेम्बर रेन', 'कृ' फिल्म बनाएको सुवास इन्टरटेन्मेन्ट पनि 'अर्जुन रेड्डी' को नेपाली रिमेक बनाउन कसिएको थियो ।

