केही वर्षयता अभिनेत्री साम्राज्ञी आरएल शाहको नेपाली फिल्ममा निकै लोभलाग्दो डिमान्ड छ । उनले आफ्नो काँधमा बोकेर फिल्म सफल बनाउन सक्ने विश्वास फिल्ममेकरमा छ । त्यसैले उनीमाथि करोडौं लगानी भइरहेको छ । उनको पारिश्रमिक नै चलेका हिरोको भन्दा कम छैन । एक फिल्मबाट १५ लाखभन्दा बढी बुझ्न थालेकी छन् । तर, डिमान्ड र पारिश्रमिक चर्को भए पनि उनले अभिनयमा विविधता पस्कन सकेकी छैनन् ।
डेब्यू फिल्म 'ड्रिम्स' मा उनको अभिनयको सर्वत्र प्रशंसा भएको थियो । यसपछि उनले करिअर पछाडि फर्किएर हेर्नु परेको छैन । तर, अहिलेसम्म उनले कुनै फिल्ममा फरक भूमिका निभाएकी छैनन् । सधैं एकै प्रकारको । न त अभिनयमा नै नयाँपन भेटिएको छ । यो एउटा कलाकारको करिअरका लागि सुखद कुरा होइन । उनी आफैं पनि एकैखाले भूमिका गरेर आजित भइसकेकी छन् । उनी आफ्नो अभिनयमा पनि विविधता पस्कन चाहन्छिन् ।
.jpg)
डेब्यू फिल्मदेखि पछिल्लो रिलिज फिल्म 'इन्टु मिन्टु लण्डनमा' सम्म उनले शहरिया युवतीको भूमिका निभाएकी थिइन् । अन्य भूमिकामा काम गर्ने अवसर पाएकी छैनन् । यस वर्ष प्रदर्शनमा आउने दुई फिल्म ‘मारुनी’ र ‘रातो टिका निधारमा’ भने उनलाई पहिलो पटक बिल्कुलै फरक भूमिकामा देख्न पाइनेछ । ‘रातो टिका निधारमा’ मा उनी एकल महिलाको भूमिकामा रहेको चर्चा छ । पहिलो पटक उनले फिल्ममा कुर्था-सुरुवाल लगाएकी छन् ।
नवल नेपाल निर्देशित फिल्म ‘मारुनी’ मा भने उनी विवाहित महिलाको भूमिका छिन् । आइतबार निर्माण टिमले सार्वजनिक गरेको एक पोस्टरमा उनको आधा अनुहार देखाइएको छ भने सिउँदोमा सिन्दर र निधारमा गोलो आकारको ठूलो रातो टिका देख्न सकिन्छ । यो पोस्टरले दर्शकमा फिल्मप्रति निकै कौतुहलता बढाएको छ । यद्यपि, निर्माण टिमले उनको भूमिकाको विषयमा अहिलेसम्म कुनै जानकारी दिएको छैन । यो फिल्मलाई लिएर साम्राज्ञी निकै उत्साहित छिन् ।
‘मारुनी’ मा उनको अपोजिटमा अभिनेता पुष्प खड्का छन् । यस फिल्मको ‘जाम्न माया जाम्न’ गीत अहिले चर्चामा छ । पुनम गौतम निर्मित उक्त फिल्म तिजको छेको अर्थात् भदौ १३ मा रिलिज हुँदैछ । यसमा अभिनेत्री रेविका गुरुङको पनि प्रमुख भूमिका छ । गोविन्द फुँँयाल र निर्देशक नेपालले फिल्मको कथा लेखेका हुन् । यसअघि निर्देशक नेपालको एक्सन कटमा साम्राज्ञी र पुष्पले फिल्म मंगलममा काम गरेका थिए ।

